रुपन्देहीको रोहिणी गाउँपालिकाबाट लागु औषध सहित चारजना पक्राउ

२४ असोज,बुटवल/  रुपन्देहीको रोहिणी गाउँपालिका–३ मा मंगलबार बिहान लागु औषध सहित चारजना पक्राउ परेका छन् । पक्राउ परेकाहरुबाट भण्डार गरि राखिएको ठूलो परिमाणको लागु औषध बरामद भएको प्रहरीले बताएको छ । 

पक्राउ पर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका–६ का गुलाब चन्द सहनी, रोहीणी–७ का राधेश्याम यादब, पोखराका अन्तिम गुरुङ र तनहुँकी अन्जु गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । 

रोहिणी गाउँपालिका–३ बाट पक्राउ परेका उनीहरुको साथबाट डाइजेपाम, फेनारगन र नुफिम २ हजार १०० सिसी बरामद भएको प्रहरीले बताएको छ । यादबले भारतबाट लागु औषध खरीद गरी बिक्री गर्ने गरेको, सहनी ओसार-पसारमा संलग्न रहेको र गुरुङद्वय खरिद गर्न आएको प्रहरीले बताएको छ । प्रहरीले उनीहरुको साथबाट १ लाख ५८ हजार रुपैयाँ नगद पनि बरामद गरिएको बताएको छ ।