प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि वामपन्थी र प्रजातान्त्रिक शक्तिले अलगअलग गठबन्धन बनाउने कोसिस गरिरहेका छन् । गठबन्धन बनेमा प्रजातान्त्रिकभन्दा वामपन्थी गठबन्धन अगाडि देखिन्छ ।
स्थानीय तह निर्वाचनको आधारमा एमाले र माओवादी गठबन्धनले ५१ प्रतिशत पपुलर मत ल्याउने देखिन्छ । त्यस्तै, राप्रपादेखि मधेसी सबै दललाई जुटाउन सकेमा कांग्रेसले ४४ प्रतिशत मत जम्मा गर्न सक्ने देखिन्छ ।
एमाले र माओवादीले गठबन्धन बनाउने सैद्धान्तिक सहमति गरे पनि सिट बाँडफाँडको टुंगो लगाउन सकेका छैनन् । कांग्रेस नेतृत्व गठबन्धनको त न्यूनतम सहमति पनि हुन सकेको छैन ।
वाम गठबन्धनका सम्भावित दलहरू एमाले, माओवादी केन्द्र, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा, नेकपा संयुक्त र परिवार दलको मतलाई एकमुष्ट मत जोड्दा ४७ लाख ९५ हजार पुग्छ ।
कांग्रेसको नेतृत्वमा बन्ने लोकतान्त्रिक मोर्चामा रहने भनिएका संघीय समाजवादी फोरम, राजपा, राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र फोरम लोकतान्त्रिकको एकमुष्ट मत ४० लाख ४१ हजार हुन पुगेको हो ।
वाम गठबन्धन बनेको र लोकतान्त्रिक गठबन्धन नबनेको अवस्थामा कांग्रेस १६ लाख मतले पछाडि हुने देखिन्छ । तर, हरेक निर्वाचनमा मतदाताले फरक परिणाम दिने गरेकाले अघिल्लो निर्वाचनको आधारमा विश्लेषण गर्न गाह्रो छ ।
स्थानीय तहमा प्राप्त मतका आधारमा विश्लेषण गर्दा २ लाख मत कटाउनेमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम, राजपा गरी ६ दल मात्रै देखिएका छन् । पहिलो चरणको स्थानीय निर्वाचनमा दुई लाख मत नकटाएका फोरम, राजपाले तेस्रो चरणको स्थानीय निर्वाचनमा मत बढाई २ लाख कटाएका हुन् । यही मत कायम राखेको अवस्थामा राष्ट्रिय दल बन्ने सम्भावना देखिएको हो । त्यसैगरी, फोरम लोकतान्त्रिकले १ लाख २४ हजार र स्वतन्त्रतर्फका उम्मेदवारहरूले १ लाख १९ हजार मत कटाएका छन् ।
मन्त्रीको पार्टीलाई ४०५ मत
महिला, बालबालिका तथा समाजकल्यणमन्त्री भएका कुमार खड्काको पार्टीले स्थानीय निर्वाचनमा ४०५ मत ल्याएको छ । ०७० को संविधानसभा निर्वाचनमा समानुपातिकबाट १ सिट जितेर सांसद भएका खड्का पहिलो चरणको निर्वाचन हुँदा महिला तथा बालबालिका तथा समाजकल्याणमन्त्री भएका थिए । त्यसैगरी, पूर्वमन्त्रीसमेत रहेका एकनाथ ढकालको परिवार दलले १ हजार २२० मत ल्याएको छ । अहिले वाम गठबन्धनमा मिसिएका ढकालले गठबन्धनबाट एउटा सिट दाबी गरिरहेका छन् ।
स्थानीय तहको मत औसतमा
सबै स्थानीय तहमा एमालेका सातै उम्मेदवारको मत जोड्दा दुई करोड १४ लाख ५१ हजार हुन्छ । तर, ती सातजना उम्मेदवारलाई दिने एकजना मतदाताको हिसाब गर्दा औसतमा एमालेको मत ३० लाख ६४ हजार ५३९ हुन्छ ।
यो कुल खसेको मतको ३४ प्रतिशत हो । त्यस्तै कांग्रेसले २९ लाख ८२ हजार २४० अर्थात् ३३ प्रतिशत र माओवादीले १६ लाख दुई हजार ४५० अर्थात् १७ प्रतिशत मत प्राप्त गरेका छन् । गठबन्धन भएका स्थानमा पनि केही पदमा अर्को दललाई मत दिएका दलले केही पदमा अर्को दलबाट मत पाएका छन् । त्यसैले उनीहरूको मत पनि औसतमै हिसाब हुन्छ ।
अब राष्ट्रिय दल कति ?
– स्थानीय तहमा प्राप्त मतको आधारमा विश्लेषण गर्दा प्रतिनिधिसभाको निर्वाचनपछि ६ देखि ७ दल मात्रै राष्ट्रिय दल बन्ने देखिएको छ । राजनीतिक दलसम्बन्धी ऐनमा गरिएको व्यवस्थाअनुसार ३ प्रतिशत मत ल्याउने दल मात्र राष्ट्रिय दल बन्छ र त्यस्तो दलले मात्र समानुपातिकमा सिट पाउँछ । यही अनुपातमा मत खसेमा बढीमा ७ दल मात्रै राष्ट्रिय दल बन्न सक्ने पूर्वआयुक्त दोलखबहादुर गुरुङको विश्लेषण छ ।
– एमाले, कांग्रेस, माओवादी केन्द्र, राप्रपा, संघीय समाजवादी फोरम नेपाल, राजपा र बढीमा फोरम लोकतान्त्रिकले समानुपातिकमा ३ प्रतिशत कटाउन सक्छन् । त्यसो हुँदा यी दल राष्ट्रिय दल बन्न सक्नेछन् । तर, प्रत्यक्षमा एक–दुई सिट जित्न सक्ने नेमकिपाजस्ता दलले समानुपातिकमा ३ प्रतिशत ल्याउन नसक्ने हुँदा राष्ट्रिय दल बन्न गाह्रो छ ।
२ लाख ७० हजार मत ल्याए मात्र समानुपातिकमा सिट
प्रतिनिधिसभामा समानुपातिकतर्फ सिट ल्याउन कम्तीमा तीन प्रतिशत अर्थात् २ लाख ७३ हजार मत कटाउनुपर्छ । त्योभन्दा कम मत ल्याउने दल समानुपातिकको वितरण प्रणालीबाट बाहिर हुनेछन् । स्थानीय तह निर्वाचनमा १ करोड ४१ लाख मतदातामध्ये ९१ लाख २६ हजार मत खसेका थियो । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनका लागि १ करोड ५४ लाख मतदाता रहेकाले मत पनि बढी खस्नेछ । यस्तो अवस्थामा दलले समानुपातिकमा सिट दाबी गर्न पनि अझ बढी मत ल्याउनुपर्ने हुन्छ ।
हाम्रो संरचना । २६ आश्विन २०७४, बिहीबार १०:३२