२९ असोज, कपिलवस्तु/ कपिलवस्तु नगरपालिका– ६, रामनगरको क्यापिटल फुड प्रालिमा मेसिनमा बेरिएर एक मजदुरको मृत्यु भएको छ। चाउचाउमा प्रयोग हुने मसला बनाउने मेसिनको भित्री भागमा बेरिएर आइतबार साँझ स्थानीय थुमुवा गाउका १७ वर्षका सुरेश भुजको मृत्यु भएको हो।
लाइन गएको बेला मेसिनको सरसफाइ गरिरहेका बेला एक्कासी मेसिन चलेपछि भुज मेसिनमा बेरिएको फ्याक्ट्रीमा उनीसंगै काम गरिरहेका मजदुर वीरेन्द्र यादवले बताए। घटनामा अपरेटरको लापरवाही देखिएको मजदुरहरुले बताएका छन्। केही महिनाअघि मात्र सञ्चालनमा आएको चाउचाउ उद्योगमा करिब १ सय २० जना कामदारले काम गर्दै आएका छन्।
घटनापछि सो उद्योगका म्यानेजर कृष्ण बुढाथोकी, सुरक्षा गार्डसहित सबै कर्मचारीहरु फरार भएका छन्। मृतकका बुवा रामेश्वर भुजले उद्योगको लापरबाहीले गर्दा छोराको मृत्यु भएकोले दोषीलाई तत्कालै कडा कारबाही हुनुपर्ने माग गरेका छन्।
घटनाको विरोधमा स्थानीयबासीले उद्योगमा प्रदर्शन गरी बाटो समेत अवरुद्ध पारेका छन्। तौलिहवा– जितपुर सडक खण्ड अन्तर्गत उद्योगको अगाडि सडक अवरुद्ध गरिएको छ। घटना लगत्तै उद्योगमा नेपाल र सशस्त्र प्रहरी परिचालन गरिएको छ। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक भोजजंग शाहले बताए।
हाम्रो संरचना । ३० आश्विन २०७४, सोमबार ०९:००