म्याग्दीको धौलागिरि केन्द्रविन्दु बनाएर सोमबार बिहान भूकम्प गयो

३०असोज, पर्वत/  पश्चिम म्याग्दीको धौलागिरि गाउँपालिका वडा नं. ३ मुनालाई केन्द्रविन्दु बनाएर सोमबार बिहान भूकम्प गएको छ। बिहान करिब ५ बजे मुना आसपासको क्षेत्र केन्द्रविन्दु रहेको ४.२ रेक्टर स्केलको भूकम्प मापन गरिएको भूकम्प मापन केन्द्रले जनाएको छ। 

बिहानै गएको भूकम्पको धक्का लुलाङ, ताकम, मुदीका साथै म्याग्दी सदरमुकाम बेनीबजारसम्म महसुस भएको थियो। सुतिरहेकाहरु घर बाहिर निस्किएका थिए। पश्चिम म्याग्दीको देवीस्थान, ताकम, मुना, मुदी धौलागिरि अञ्चलमा भूकम्पको जोखिम क्षेत्रमा रुपमा चिनिन्छन्।

केहीवर्ष अगाडि समेत देवीस्थानलाई केन्द्रविन्दु बनाएर ४.३ रेक्टरको भूकम्प गएको थियो। भुकम्पविद्का अनुसार भूकम्पको फ्रन्टलाइनमा धौलागिरिसमेत पर्ने देखिएको छ। तिब्बत क्षेत्रबाट धौलागिरि हिमालको फेद हुँदै एउटा फ्रन्टलाइन रहेको बताइन्छ। जसका कारण पश्चिम म्याग्दी र छिमेकी जिल्ला बागलुङमा दुई दशकयता ४ देखि ५ रेक्टर स्केलका भूकम्पको २० धक्का महसुस गरिएको तथ्याङ्क छ।

मुस्ताङ र पर्वतको तुलनामा म्याग्दी र बागलुङमा धेरै केन्द्रविन्दु रहेका छन्। दुई दशकयता धौलागिरि अञ्चलमा गएको सबैभन्दा ठूलो भूकम्प बाग्लुङको बोवाङलाई केन्द्रविन्दु बनाएर ४.९ रेक्टर स्केलको थियो। त्यसले भौतिक क्षतिसमेत पुर्‍याएको थियो।