सनातन संस्कृतिमा काग, कुकुर, गाई, गोरु, दाजुभाइ र आफू स्वयंको पूजा गरी सबै प्राणीलाई सम्मान गर्न सिकाउने पर्व तिहार प्रत्येक वर्षको कार्तिक महिनामा पर्ने यमपञ्चकमा मनाउने चलन छ ।
यो पर्व अँध्यारोबाट उज्यालोतिर लिएर जाने प्रकाशको उत्सव हो । जडतारूपी औँसीको रातलाई चेतनारूपी बत्ती बालेर चुनौती दिने हुनाले यस चाडलाई दीपावली, दीपमाला, दीपमालिका, ज्योतिपर्व, प्रकाशपर्व आदि नामबाटसमेत सम्बोधन गर्ने गरिन्छ । प्रकाशको यो पर्व तिहार पनि अन्य चाडपर्वजस्तै ऋतुपरिवर्तनको खुसियालीमा मनाइने चाड हो ।
समय, काल र परिवेशअनुरूप भिन्न–भिन्न समुदायका व्यक्तिहरूले यस पर्वलाई आफ्नो मौलिक रङमा घोलेर मनाउने गर्दछन् । त्यसैले आधार र सारतत्व एउटै भए पनि यस पर्वलाई फरक–फरक ढंगले मनाउन थालिएको हो । विधिविधान र प्रचलनमा विविधता देखिए पनि यस पर्वको सार उज्यालो, सुखसमृद्धि, आरोग्यता, सुख र विलासितापूर्ण आनन्दी जीवन आदिसँग जोडिएको पाइन्छ ।
तिहारको यो पर्व कार्तिक कृष्णपक्षको त्रयोदशी तिथिबाट प्रारम्भ हुन्छ । हिन्दूसंस्कृतिमा यस दिन यमपञ्चक प्रारम्भ भएको दिन मानिन्छ । प्रत्येक प्राणीलाई कर्मअनुसारको फल भोगाउने काममा खटिएका यमराज यमपञ्चकको यस अवधिमा आफ्नो कामबाट पाँच दिनका लागि छुट्टी लिई चित्रगुप्तलाई आफ्नो सारा काम जिम्मा लगाएर आफ्नी बहिनी यमुनाकहाँ जान्छन् भन्ने शास्त्रीय कथा छ ।
त्यसैले यसलाई यमपञ्चक भनिएको हो र यसै दिनबाट पाँच दिनसम्म तिहारका विविध कृत्यहरू सम्पादन हुन्छन् । तिहारको प्रारम्भकै दिन अर्थात् कार्तिक कृष्ण त्रयोदशीका दिन खासगरी भारत र नेपालको सहरी परिवेशमा किनमेल गर्ने दिनका रूपमा धनतेरस पर्व मनाउने गरिन्छ ।
सायंकालमा किनमेल गर्न फुर्सदिलो समय हुने धारणाअनुरूप तिथिको घटबढका कारण कुनै वर्ष यो पर्व यमपञ्चक प्रारम्भ हुनु एक दिन अघि अर्थात् द्वादशीकै दिन पनि पर्ने गर्दछ । पारिवारिक सुखका लागि भाँडाकुँडा र गरगहनाको अपरिहार्यता भएकाले हरेक गृहस्थीले धनकी अधिष्ठात्री लक्ष्मीको जन्मोत्सव मनाउने पूर्वसन्ध्यामा पर्ने धनतेरसका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा छ । विशेषगरी, सहरी क्षेत्रमा बसोवास गर्ने सबै तह र तप्काका मानिसले यस परम्पराको अनुसरण गर्दै आ–आफ्नो गच्छेअनुसार घरायसी आवश्यकताका सरसामग्रीको किनमेल गर्छन् । भाँडाकुँडा र गरगहनाका अतिरिक्त विलासिताका निमित्त प्रयोग हुने मोटरवाहन र इलेक्ट्रोनिक सरसामग्री खरिदका निमित्तसमेत धनतेरस दिनको उपयोग गर्ने गरिन्छ ।
कसरी सुरु भयो धनतेरस ?
यस पर्वमा यसरी नै किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्ने विषयमा कुनै निश्चित प्रमाण त छैन । धनतेरसको सम्बन्ध धनका देवता कुबेर र आयुर्वेदका प्रवर्तक धन्वन्तरिसित रहेको पाइन्छ । धर्मशास्त्रमा उल्लेख भएबमोजिम यस दिन यी दुवैको जन्मदिन हो । धन्वन्तरी आरोग्यका देवता तथा कुबेर धनधान्य र समृद्धिका देवता भएकाले यो दिन सम्पत्ति अभिवृद्धिका निमित्त उपयुक्त ठह¥याइएको हुनुपर्छ । मूलतः धन्वन्तरीलाई आयुर्वेदका जन्मदाता मानिन्छ । उनले संसारभरिका वनस्पतिको अध्ययन र अनुसन्धान गरी राम्रो र नराम्रो प्रभाव र गुणको पहिचान गरेका थिए । उनको जन्म प्रसंगका सम्बन्धमा पुराणहरूमा मतमतान्तर पाइन्छ ।
एउटा मतमा उनी काशीका राजा धन्वका छोरा थिए, काशीका अर्का प्रतिष्ठित राजा दिवोदास यिनका नाति थिए भन्ने भनाइ छ । तर, अर्को प्रसंगअनुसार उनी समुद्र मन्थनका क्रममा भगवान् विष्णुका अंशावतारका रूपमा उत्पन्न भएका थिए । हातमा अमृतले भरिएको स्वर्णकलश लिएको स्वरूपमा उनको उत्पत्ति भएको थियो । समुद्र मन्थनकै क्रममा उनीभन्दा पहिले माता लक्ष्मी आविर्भाव भएकी हुँदा उनी लक्ष्मीका सहोदर भाइ मानिन्छन् । कतिपय प्रसंगमा यिनलाई आयुको छोराका रूपमा समेत चिनाइएको देखिन्छ । उनले धन्वन्तरी संहिता नामक आयुर्वेद सम्बद्ध ग्रन्थको रचना गरेका थिए, अनि उनकै शिष्य परम्परामा सुश्रुत, चरक आदि आयुर्वेदका विद्वानहरू रहेका देखिन्छन् ।
यिनको जीवनको सबैभन्दा ठूलो उपलब्धि भनेको जरा (बुढ्याइँ) र मृत्युको निवारण गर्ने अमृतको वैज्ञानिक प्रयोग हो । त्यसैले, धन्वन्तरीको सम्बन्ध स्वस्थ र सम्पन्न जीवनसँग जोडिएको हो । अमृतले भरिएको कलश हातमा लिई धन्वन्तरीको प्रादुर्भाव भएकाले हुन सक्छ, यस दिनलाई भाँडाकुँडा किनमेलका लागि शुभ मान्न थालिएको हो ।
परम्पराअनुसार धनतेरसका दिन यमपञ्चक पनि प्रारम्भ हुन्छ, त्यसैले यस दिन साँझको समयमा यमराजको स्वागतार्थ एउटा दियो बाली घरको मूल दैलोबाहिर बाटोमा राख्ने चलन छ । यस दिन बहिनी यमुनाको निम्तो मान्न यमलोक (नरक)का सबै काम बन्द गरी यमराज पृथ्वीतलमा ओर्लन्छन् । बहिनीका घरतर्फ हिँडेका कालका देवता यमराज झुक्किएर आफ्ना घरमा नपसून् अर्थात् परिवारका कुनै सदस्यलाई शारीरिक रोगव्याधी र दुःखकष्ट नहोस् भनेर उनको प्रसन्नताका लागि त्यसरी घरबाहिर बत्ती बालिएको हो ।
धनतेरस र यमपञ्चक पर्वसँग सम्बन्धित विभिन्न लोकआह्वान र शास्त्रीय कथा प्रचलनमा रहेका पाइन्छन् । एउटा कथामा हिमालयपर्वतका पुत्रको मृत्यु र बुहारीको प्रयास र साधनापछि पुनर्जीवन पाएको प्रसंग प्राप्त हुन्छ । कथानकअनुसार हिमालयले छोरो जन्मनासाथ ज्योतिषीको मुखबाट विवाहोपरान्त उसको मृत्यु हुने कुरा चाल पाएका थिए । पुत्रशोक व्यहोर्नु नपरोस् भनेर उनी छोराको विवाह गराउन चाहँदैनथे । तर, एउटी यक्षकन्याका साथमा उनले प्रेमविवाह गरे ।
हिमालयकी नवविवाहिता बुहारीले विवाहोपरान्त चौथो दिन सर्पको डसाइबाट पतिको मृत्यु हुने भविष्यवाणी गरिएको भन्ने चाल पाइन् । त्यसपछि उनले जसरी भए पनि आफ्ना पतिलाई जीवित राख्ने प्रण गरिन् । विवाहको ठीक चार दिनका दिन उनले आफ्ना पतिको कोठाबाहिर घरका सबै गहनागुरियाको थुप्रो बनाएर पहाडझैँ अग्लो चुली बनाइन् र आफू स्वयं सँगै बसेर पतिलाई निद्रा नलागोस् भनेर अनेकानेक गीत, भजन र कथा सुनाउँदै भुलाउन थालिन् ।
रात्रिकालमा यमराज हिमालयका छोरालाई डस्ने विचारले सर्पको रूप धारण गरी त्यही ठाउँमा आइपुगे, तर गहनागुरियाको पहाडलाई तिनले नाघ्न सकेनन्, तसोतसो गरी सर्पका रूपमा यमराज त्यस थुप्रोको टुप्पामा त पुगे, तर त्यहाँ पुग्दा निक्कै थकाइ लागेकाले बिसाउनुप¥यो । बिसाउने क्रममा उनी गीतसंगीतको धुनमा मन्त्रमुग्ध हुनपुगे, समय गएको पत्तो पाएनन् र उज्यालो भयो । यसरी, जुन काम राति नै सिध्याउने भनेर यमराज आएका थिए, त्यो पूरा हुन सकेन । परिणामस्वरूप राजकुमारको आयु लम्बिन पुग्यो । यसरी राजकुमारीले आफ्ना पतिको जीवनरक्षा गरिन् ।
आफ्नो घरपरिवारमा परम्परादेखि प्रचलनमा रहेको पूजाविधि नै धनतेरसका दिन पनि प्रयोगमा ल्याइन्छ । यद्यपि, धनतेरसका दिन प्रातःकालमा स्नान, पूजा आदि नित्यकर्मबाट निवृत्त भई एउटा काठको पिर्कामा पहेंलो चामलको पिठोमा चन्दन वा केशरी मिसाई स्वस्तिक चिह्न बनाउनुपर्दछ । उक्त स्वस्तिक चिह्नको मध्य भागमा एउटा माटाको दियो स्थापना गर्नुपर्दछ । दियोको चारैतिर गंगाजल छर्केर यसको बर्तनमा बेसार राखी बातीमा चिनी राख्नुपर्छ । दियोलाई सामान्य पूजासामग्री चन्दन, अक्षता, फूलले पूजा गरिसकेपछि बलिरहेको बत्तीमा धातुको सिक्का राख्नुका साथै फूल चढाएर नमस्कार गर्नुपर्छ ।
त्यसपछि घरका सबै सदस्यलाई टीकाटालो लगाइदिएर दियोलाई दिनभरि पूजाकोठामा ननिभ्ने गरी राखेपछि सायंकालमा घरको मूल दैलोको सामुमा पर्ने गरी घरबाहिर लगेर राखिदिनुपर्छ । त्यसरी, दियो राख्दा यसको ज्योति दक्षिण दिशामा फर्केको हुनुपर्छ । यसरी घरबाहिर दियो राखेपछि घरभित्र किनेका नयाँ भाँडाकुँडा वा गहनागुरिया राखी माता लक्ष्मी र गणेशजीको पूजा गर्नुपर्छ । धनतेरसका दिन किनिएका सरसामग्रीको लक्ष्मीपूजाका दिन पुनः पूजा गर्नुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।
धनतेरस पर्वमा सम्पादन गरिने धार्मिक र सांस्कृतिक पक्षको प्रतीकात्मक अर्थ हो– पारिवारिक सुखसमृद्धि र सुस्वास्थ्य । हाम्रो आर्य संस्कृतिमा स्वास्थ्यलाई धनसम्पत्तिभन्दा महत्वपूर्ण वस्तुका रूपमा लिइन्छ, त्यसैले धनधान्य र स मृद्धिकी देवी लक्ष्मीको उपासनासँग सम्बद्ध यस पर्वमा सबैभन्दा पहिले यमराजको उपासना गर्ने गरिन्छ ।
धनतेरस भनिने यमपञ्चकको पहिलो दिन नै घरायसी आवश्यकता र समृद्धि झल्काउने चिजवीज सुनचाँदीका भाँडाकुँडा, सिक्काहरू, गहनागुरिया आदि किन्ने परम्परा छ । वर्तमान परिवेशमा भौतिक सुखसुविधा र भोगविलाससँग सम्बद्ध मोटरवाहन, मोबाइल, कम्प्युटरजस्ता विलासिताका वस्तुहरू खरिद गर्न पनि यसै दिनलाई पर्खने चलन चलेको पनि देखिन्छ । रीतिरिवाज र परम्परासँग जोडिन पुगेको यो ‘धनतेरस’ पर्वले आर्थिक हैसियत र लगानीको सुरक्षणसँग पनि व्यक्तिलाई गाँसेको देखिन्छ । यसले आर्थिक हैसियत र क्षमतालाई पनि प्रदर्शन गर्दछ, एकातिर उच्च र मध्यमवर्गका व्यक्तिहरू धनतेरसका दिन विलासिताका वस्तुहरू किनेर आनन्द र विलासिता बढाउने प्रयास गर्दछन् भने अर्कातिर विपन्न र निम्नवर्गका मानिसहरू आफ्नो आवश्यकता र खाँचोका वस्तुहरू खरिद गरी यस पर्वलाई मनाउने गर्दछन् ।
सारांशमा आ–आफ्ना सामथ्यअनुसार समग्र भारत र नेपालको तराई क्षेत्रमा यस पर्वलाई मनाउने चलन छ । पारिवारिक खुसियाली र सुखसमृद्धि हरेक व्यक्तिको चाहना हुने गर्दछ । त्यसैले, धनतेरसमा प्रचलित धार्मिक मान्यताले आमगृहस्थीको पारिवारिक सुखसमृद्धि, भोगविलास, सुस्वास्थ्य, दीर्घायु र सुविधायुक्त जीवनयापनको इच्छा र आकांक्षा जोडिनु स्वाभाविक हुन आउँछ ।
हाम्रो संरचना । ३१ आश्विन २०७४, मंगलवार १०:३२