हाम्रो संरचना बिहिबार, अशोज ७, २०७८ 747 Views

४ कात्तिक, नेपालगञ्ज/ हिन्दु नेपालीहरुको दोस्रो महान चाड तिहारको अन्तिम दिन आज भाइटीका, दाजुभाइ तथा दिदीबहिनीहरुले एकअर्कालाई टीका लगाइदिएर मनाउँदैछन् । भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ ।

समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले भने, ‘उत्तम साइत खोज्नेहरुका लागि ११ः५१ मा उत्तम साइत छ । भाइटीकालगायत महत्वपूर्ण साइत अभिजित मुहूर्तमा दिइने भएकाले मध्याहृनको समय निकालिएको हो, तर पनि दिनभर टीका लगाउन सकिन्छ ।’  

भाइटीका शनिबार परेकाले बिहान ८ बजेसम्म भने टीका लगाउन नहुने गौतमले बताए । उनका अनुसार शनिबार बिहान काल बेला पर्ने भएकाले ८ बजेपछि भने दिनभर टीका लगाउन बाधा हुनेछैन । टीका लगाइदिएपछि दाजुभाइ दिदीबहिनीहरुले एकअर्कालाई आशिर्वादसहित उपहार दिने प्रचलन छ ।

टीका लगाउँदा कता फर्किने ? लगाउनु अघि के गर्ने ?

भाइटीकाको समय दाजुभाइ पश्चिम फर्केर बस्न र दिदीबहिनीले पूर्व फर्केर टीका लगाइदिन राम्रो हुन्छ । आज पश्चिममा चन्द्रमा भएकाले लगाइमाग्ने दाजुभाइ पश्चिम फर्कंदा सम्मुख हुन्छ । टीका लगाइदिने भन्दा लगाइमाग्नेका लागि महत्वपूर्ण हुने भएकाले यसो गर्न अनुरोध गरिएको प्रा.डा. गौतमले बताए ।

शास्त्रीय मान्यताअनुसार भाइटीका लगाउनु अघि केही विधि पनि पूरा गर्नुपर्ने हुन्छ । लक्ष्मीपूजाका दिन स्थापित दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा अष्टदल लेखी त्यसमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्टचिरञ्जीवी स्थापना गरिन्छ ।

थालीमै चित्रगुप्त, यमराज, यमुना, धर्मराज र गणपत्यादि वनस्पत्यन्त देवताको समेत पूजाआजा गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर सप्तरंगी टीका, मखमली, सयपत्री र गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ । टीका लगाइदिइसकेपछि घरको मूल ढोकामा ओखर फोड्ने चलन छ । यसो गर्दा सबै बाधा अड्चन हट्ने धार्मिक विश्वास छ ।

प्रचलित पात्रोमा कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्मको अवधिलाई यमपञ्चक उल्लेख गरिएको पाइन्छ। यसैले तिहार पनि कागतिहारमा शुरु भएर भाइटीकाका दिन सकिने बताइन्छ।  कृषि पशुपालन र व्यापारसँग सम्बन्धित रहेर कृष्ण चतुर्दशीदेखि शुक्ल प्रतिपदा तीन दिनसम्म उत्सव मनाउने परम्परा हो।

भाइटीकाको विधि

सबेरै उठी स्नान गरी दिदीबहिनीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै पूजा गर्ने पर्व, भाइटीका। स्कन्दपुराणमा दिदीबहिनी र दाजुभाइले यस दिन गर्नुपर्ने विधानबारे उल्लेख पाइन्छ। यस दिनका लागि दिदीबहिनीले दाजुभाइलाई निम्तो गर्ने वा नगरे पनि दाजुभाइ दिदीबहिनीको घर जाने उनीहरूले बनाएको भोजन गर्ने विधान छ।

यस्तै दाजुभाइलाई श्रृंगार गरी टीका माला लगाइदिने पानमसला, आफ्नो हातबाट बनेका मिष्ठान्न, ऋतुअनुसारका फलफूल दिने गर्छन्। यस्तै दाजुभाइले गच्छेअनुसार दक्षिणा वा उपहार दिने चलन छ। यसो गर्दा दुवैलाई दीर्घायु सुख समृद्धि प्राप्त हुने उल्लेख छ।

चलन आ–आफ्नै दिदीबहिनीले दाजुभाइको दीर्घायुको कामना गर्न अपनाउने प्रक्रिया स्थान विशेषअनुसार फरक–फरक पाइन्छन्। पहाडी भेगमा दिदीबहिनीले दाजुभाइको निधारमा सप्तरंगी वा पञ्चरंगी टीका लगाउने, गलामा मखमली वा दुवोको माला लगाउने, तेलको धाराले दाजुभाइले घेर्ने, टीका लगाउँदा ओखरको पूजा गरी फोर्ने आदि।

यस्तै तराईमा दिदीबहिनीले रेङ्गनीको काँडाले आफ्नो जिब्रोमा घोचेर दाजुभाइलाई श्राप दिने, पुनः श्रापबाट मुक्त गरी उनीहरूको दीर्घायुको कामना गर्ने परम्परा रहेको धनुषाका पत्रकार तथा मैथिल संस्कृतिका जानकार ईश्वरचन्द्र झा बताउँछन्। सनातन समाजमा बिहान टीका लगाउने परम्परा भए पनि नेवारी समाजमा भने यो विधि बेलुकी गर्ने चलन छ।

भावनात्मक पक्ष पुराणमा यस प्रकारको विधान नभए पनि दाजुभाइको सुख समृद्धि र दीर्घायुको कामना गर्ने विधानअनुसार भावनात्मक रूपमा यी चलन चल्दै गए। जस्तै मखमली फूल माला संधै उस्तै देखिन्छ कहिल्यै ओइलाउँदैन। दुवो कहिल्यै सुक्दैन। अलिकति चिसो भेट्नेबित्तिकै हरियो हुन्छ। तेल माटोमा पर्दा सुक्न धेरै समय लाग्छ। त्यसैले पनि दाजुभाइको दीर्घायुको कामना गर्दा यस्ता प्रसंग जोडिए होलान्, ‘तेलको धारा नसुकेसम्म, मखमलीको माला नओइलाएसम्म र दुबो नसुकेसम्म यमदूतले मेरा दाजुभाइलाई लैजान नसकून्।’

खराब तत्त्वमाथि प्रहार ओखर फोर्दा यमदूतको टाउकोमा बजारेको कामना गरिन्छ, पहाडी भेगतिर। दिदीबहिनीले शुरुमा ओखर पूजा गरी भाइहरूको पूजा अन्त्य भएपछि मात्र ओखर फोर्ने विधि चलेको पाइन्छ छ। त्यसो त पूजाआजा र श्राद्धमा पनि खराब तत्त्वलाई पन्छाउन सस्र्युं वा तिलको प्रयोग गरिएको पाइन्छ। जुनसुकै कार्यमा पनि दृश्य–अदृश्य खराब तत्त्वको उपस्थिति हुन्छ।

सप्तरंगी टीका  विशेषगरी पूजाआजामा सेतो र रातो चन्दनको प्रयोग हुन्छ। रातो रंग खुशी वा वीरताको, सेतो शान्ति र सद्भावको, हरियो प्रकृतिको इत्यादि।  ‘पिठोबाट सेतो, दुवोबाट हरियो, रक्तचन्दनबाट रातो र हलेदोबाट पहेँलो रंग आदि बनाइन्थ्यो ।

मौसमी फूलको माला हिन्दू देवकार्य र पितृकार्यमा फूलको ठूलो महत्त्व छ। भगवान्लाई मात्र नभई मान्यजनको सत्कार गर्दा वा कसैको शुभ कामना गर्न पनि फूल दिने चलन छ। सम्मान गर्दा मालाले गरिन्छ। आयुर्वेदमा स्वास्थ्योपचारमा समेत फूलको प्रयोग हुन्छ। मूल्यको हिसाबले सस्तो र गरिमाका हिसाबले उच्च महत्त्व बोकेको छ, मालाले।

त्यसैले पनि यो बेला उपलब्ध हुने गोदावरी–सयपत्री र मखमलीका माला आफ्नै हातले उनेर दाजुभाइका गलामा लगाइदिन्छन्, दिदीबहिनीले। मसला–फलफूल–परिकार  पूर्वीय परम्परामा कसैलाई सत्कार गर्दा पान–मसला दिने गरिन्छ। कृषिमा आधारित जनजीवन भएकाले फलफूलमा केरा वा दही पनि सगुनका वस्तु मानिन्छन्। तर तिहारमा मसला वा फलफूलभन्दा दिदीबहिनीले बनाएका परिकारका चर्चा हुने गर्दछ। बढी चर्चा हुने परिकार हो, सेल। ‘दिदीबहिनीले आफ्ना दाजुभाइका लागि कस्ता सेल बनाए’ यो अरुको पनि चासोको विषय हुन्छ।

अनरसा र अन्य मिठाइ तयार पार्नुको उद्देश्य पनि दाजुभाइ खुशी होउन् भन्ने नै हो। दिदीबहिनीको पक्षमा  दिदीबहिनीले दाजुभाइको सुस्वास्थ्य र दीर्घायुको कामना गर्ने दाजुभाइले चाहिँ गर्नुनपर्ने ? यो प्रश्न पनि उठ्न सक्छ। सन्दर्भ यमुनाले आफ्ना दाजु यमलाई घरमा बोलाएर पूजा गरेको भए पनि दाजुभाइले समेत यसै बेला दिदीबहिनीको ‘शुभ’ कामना गर्ने वा उनीहरूलाई शुभ आशीर्वाद दिने विधान छ।

वाराणसीबाट प्रकाशित बाबू माधवप्रसाद शर्माबाट संकलित ‘वार्षिक रत्नावली पुस्तक’ मा यमद्वितीयाको पूजाविधिमा भाइ वा दाजुले दिदीबहिनीलाई टीका लगाउँदा उच्चारण गरिने मन्त्रको भाव यस्तो छ, ‘तिमीलाई लक्ष्मी–सरस्वती आदि देवीका गुण प्राप्त होस्, आयु–श्री–यशले भरिपूर्ण होस्। तिमी पति–पुत्रको ऐश्वर्यबाट जन्मजन्म सुशोभित भइरहू।’ दिदीबहिनी नहुनेहरू सहोदर दिदीबहिनी नहुने दाजुभाइले काका, मामा वा फुपूका छोरीको हातबाट टीका लगाउने लौकिक चलन छ। यस्तै कतिले फुपूकै हातबाट टीका लगाउँछन्। दिदीबहिनीकी छोरी अर्थात् भाञ्जीबाट पनि टीका लगाउन हुन्छ भन्ने मान्यता कतैकतै चलेको पाइन्छ। कोही नभए तुलसीको डाँठले आफैंले टीका लगाउने पनि भेटिन्छन्।

काठमाडौंमा भने दिदीबहिनी नहुनेहरू रानीपोखरीस्थित यमलेश्वरको दर्शन गर्छन्। मन्दिर परिसरमा भेटिने दिदीबहिनीको हातबाट निधार सप्तरंगी बनाउने पनि धेरै हुन्छन्। भाइटीकाको सन्देश भाइटीकाकै बारेमा ठाउँ नै पिच्छे भिन्नाभिन्नै किंवदन्ती चलेका भए पनि तिनको सार के हो भने रक्तसम्बन्ध सबैभन्दा ठूलो सम्बन्ध हो।

त्यसको एउटा पाटो दिदीभाइ वा दाजुबहिनीको नाताको महत्त्व बुझ्न र त्यसको गरिमा राख्न सक्नुपर्छ। यो पर्वको सन्देश  के हो भने रक्तसम्बन्ध वा पारिवारिक मूल्य मान्यताको ठूलो महत्त्व हुन्छ।  सबैका दिदीबहिनी जन्मघरमा बसिरहँदैनन्, एक न एक दिन पराइ घर जाने नै गर्छन्। पराइ घर गएको भन्दैमा रक्तसम्बन्ध टुट्दैन। दिदीबहिनीप्रति दाजुभाइले गर्नुपर्ने कर्तव्य प्रशस्त हुन्छन्। ‘रक्तसम्बन्धभन्दा भावनात्मक नाता ठूलो हुन्छ’ भन्दै दुई–चार वर्ष टीका लगाउने र विभिन्न पक्षमा चित्त नबुझेर नाता तोड्नेजस्ता हल्काफुल्का कार्यलाई निरुत्साहित गर्न पनि यो दिनको महत्त्व छ।