६ कार्तिक,नेपालगञ्ज/ पहिलो चरणमा मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा प्रत्यक्षतर्फको निर्वाचनका लागि आइतबार ३२ जिल्लामा उम्मेदवारी दर्ता भएको छ ।
बिहान १० देखि ५ बजेसम्म उम्मेदवारी मनोनयनको समय तोकिए पनि दर्ताका लागि पुगेकाहरूको दर्ता प्रक्रिया रातभरी जारी रहेको आयोग प्रवक्ता नवराज ढकालले जानकारी दिनुभएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभाको ३७ सदस्यका लागि ३२० र प्रदेशसभाको ७४ सदस्यका लागि ४८२ जनाको उम्मेदवारी परेको छ ।
मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभाको ३७ सदस्य र प्रदेशसभाको ७४ सदस्यका लागि उम्मेदवारी परेको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले उम्मेदवारी मनोनयन दर्ता शान्तिपूर्ण भएको र राजनीतिक दलहरूको सहभागिता उत्साहजनक रहेको बताउनु भएको छ ।
मनोनयन दर्तासँगै उम्मेदवारका लागि निर्वाचन आचारसंहिता लागू भएको छ ।
आयोगले उच्च हिमाली तथा पहाडी जिल्लाको निर्वाचन पहिलो चरणमा मंसिर १० गते र बाँकी ४५ जिल्लामा दोस्रो चरणमा मंसिर २१ गते तोकेको छ । दोस्रो चरणमा निर्वाचन हुने स्थानमा उम्मेदवारी दर्ता कात्तिक १६ गते हुनेछ ।
पहिलो चरणमा निर्वाचन हुने जिल्लाहरू
प्रदेश १ का
सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुंगा, ताप्लेजुङ, पाँचथर र खोटाङ,
प्रदेश ३ का
नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् ।
प्रदेश ४ को
मुस्ताङ, म्याग्दी, बागलुङ, मनाङ, लमजुङ र गोरखा,
प्रदेश ५ को
रुकुम (पूर्वी भाग) र रोल्पा छन् ।
प्रदेश ६ का
रुकुम (पश्चिम भाग), जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पा
प्रदेश ७ का
दार्चुला, बझाङ, बाजुरा र बैतडीमा पनि १० गते पहिलो चरणमा निर्वाचन हुने हो ।
पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लामा प्रतिनिधिसभाका लागि ३७ निर्वाचन क्षेत्र छन् । नुवाकोट, धादिङ, सिन्धुपाल्चोक, बागलुङ र गोरखामा प्रतिनिधिसभाका लागि २/२ वटा निर्वाचन क्षेत्र छन् । अन्य जिल्लामा १/१ वटा मात्र निर्वाचन क्षेत्र छन् ।
पहिलो चरणको निर्वाचनमा ३२ लाख २८ हजार ८ सय ७९ जना मतदाता छन् ।
प्रत्येक जिल्ला सदरमुकाममा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी मनोनयन दर्ता गरिएको आयोगका प्रवक्ताजानकारी दिनु भएको छ ।
एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय मात्रै खोलिएको छ । दुई निर्वाचन क्षेत्र रहेका जिल्लामा मुख्य निर्वाचन अधिकृत र थप एउटा निर्वाचन अधिकृतको कार्यालय खोलिएको छ ।
प्रदेशसभातर्फको उम्मेदवारी मनोनयन पनि सँगै भएको छ । प्रदेशसभाका लागि छुट्टै निर्वाचन अधिकृतको कार्यालय खोलिएको छैन । प्रतिनिधिसभातर्फका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरूले नै प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभित्र परेका प्रदेशसभा क्षेत्रको उम्मेदवारी मनोनयनदेखि निर्वाचन सम्पन्न गराउनेसम्मको जिम्मेवारी पाएका छन् ।
पहिलो चरणमा निर्वाचन हुने जिल्लामा प्रदेशसभातर्फ ७४ वटा निर्वाचन क्षेत्र छन् । प्रत्येक प्रतिनिधिसभाको निर्वाचन क्षेत्रभित्र प्रदेशसभाका दुईवटा क्षेत्र निर्धारण गरिएका छन् । प्रदेशसभा सदस्यको उम्मेदवारका लागि सोही प्रदेशभित्रको मतदाता हुनुपर्ने प्रावधान छ । विगतको निर्वाचनमा जस्तो एउटै व्यक्तिले एकभन्दा बढी निर्वाचन क्षेत्रबाट उम्मेदवार हुन पाउने छैन । संविधानले नै एकभन्दा बढी स्थानमा उम्मेदवार हुन नपाउने व्यवस्था गरेको हो । उम्मेदवारीउपर छानबिन र फिर्ताको समय सकिएपछि कात्तिक ८ गते निर्वाचन चिह्न प्रदान गरिने छ ।
टोपी, टि–सर्ट प्रयोगमा रोक
आयोगले आगामी निर्वाचनमा निर्वाचन चिह्न अंकित पहिरन टोपी, स्टिकर, टि–सर्ट, झोला, ट्याटु र गम्छा जस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई सख्त निषेध गरेको जनाएको छ । निर्वाचन खर्चलाई मितव्ययी बनाई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले प्रचारका ती सामग्रीमा रोक लगाइएको हो ।
आयोगले आइतबार ७७ वटै जिल्लाका मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृत र प्रमुख जिल्ला अधिकारीलाई पत्र पठाएर त्यस्ता सामग्रीको उत्पादन तथा प्रयोगमा रोक लगाउन र नियन्त्रणमा लिन निर्देशन दिएको छ । आदेशविपरीत त्यस्ता सामग्री चुनाव प्रचारमा प्रयोग गर्ने दल र उम्मेदवारलाई कारबाही गरिने आयोगले चेतावनी दिएको छ ।
वामपन्थी एकता
प्रतिनिधिसभा :– एमाले २१, माओवादी केन्द्र १६
प्रदेशसभा :– एमाले ४१, माओवादी केन्द्र ३३
वाम गठबन्धनका दलहरूले पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि छिटपुट असन्तुष्टि सहित उम्मेदवारी दर्ता गराएका छन् । प्रतिनिधिसभाका लागि पहिलो चरणका कुल ३७ सिटमा तालमेलअनुसार एमालेले २१ र माओवादी केन्द्रले १६ क्षेत्रमा उम्मेदवारी दिएका छन् ।
प्रतिनिधिसभामा एक सिट मात्र भएका भोजपुर, सोलुखुम्बुसहित ११ जिल्लामा एमालेले माओवादी उम्मेदवारलाई सघाउने भएको छ । गोरखाका दुवै क्षेत्रमा माओवादी उम्मेदवारलाई अघि सारिएको छ ।
माओवादी केन्द्रले ताप्लेजुङ, पाँचथर, संखुवासभा, रसुवा, दोलखा, दार्चुला, बाजुरा, डोल्पासहित जिल्लाका २१ क्षेत्रमा एमालेका प्रतिनिधिसभा उम्मेदवारलाई सहयोग गर्नेछन् । प्रतिनिधिसभामा धादिङका दुवै क्षेत्र माओवादी केन्द्रले एमालेलाई छाडेको छ ।
३२ जिल्लाका प्रदेशसभाका ७४ सिटमध्ये माओवादी केन्द्रले ३३ र एमालेले ४१ सिटमा तालमेल गरेका छन् । वाम तालमेलमा पछिल्लो समय राष्ट्रिय जनमोर्चा पनि सामेल छ । पहिलो चरणमा हुने निर्वाचनमा उक्त पार्टीका उम्मेदवारलाई बागलुङका दुवै प्रदेशमा अन्य वामले सघाउने भएका छन् ।
लोकतान्त्रिक गठबन्धन
प्रतिनिधिसभा– कांग्रेस ३५, राप्रपा १, नयाँशक्ति १
प्रदेशसभा– कांग्रेस ६९, गठबन्धनका अरू दललाई ५
कांग्रेसले पहिलो चरणअन्तर्गतका ३२ जिल्लामा लोकतान्त्रिक गठबन्धनमा आबद्ध मध्येका राप्रपा, राप्रपा (प्रजातान्त्रिक), नयाँ शक्ति र संघीय समाजवादी फोरमसँगको तालमेलमा उम्मेदवारी दर्ता गरेको छ । पहिलो चरणमा चुनाव हुने प्रतिनिधिसभाका ३७ मध्ये ३५ क्षेत्रमा र प्रदेशसभाका ७४ मध्ये ६९ सिटमा कांग्रेसले उम्मेदवारी दिएको छ ।
कांग्रेसले नयाँ शक्तिलाई संघमा एक र प्रदेशसभामा दुई क्षेत्र छाडेको छ । राप्रपा (प्रजातान्त्रिक) लाई संघमा एक, राप्रपालाई प्रदेशसभामा २ र संघीय समाजवादी फोरमलाई प्रदेशसभाको एक क्षेत्र छाडेको छ । अन्य सबै निर्वाचन क्षेत्रमा कांग्रेसले उम्मेदवारी दर्ता गराएको छ ।
कांग्रेसले संघमा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई गोरखा निर्वाचन क्षेत्र नं. २ र राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणालाई सिन्धुपाल्चोकको निर्वाचन क्षेत्र नं. २ छाडेको हो । प्रदेशसभाअन्तर्गत नयाँ शक्तिले गोरखाकै निर्वाचन क्षेत्र २ को ‘ख’ र एक मात्रै निर्वाचन क्षेत्र रहेको रसुवाको ‘ख’ पाएको छ । बैतडीको प्रदेश ‘ख’ मा राप्रपालाई कांग्रेसले छाडेको छ । धादिङको निर्वाचन क्षेत्र २ अन्तर्गतको प्रदेशसभा ‘ख’ मा पनि राप्रपाका लागि कांग्रेसले छाडेको छ ।
संघीय समाजवादी फोरमसँग भोजपुरमा तालमेल भएको छ । भोजपुरको प्रदेश ‘ख’ मा संघीय समाजवादी फोरमका उम्मेदवारलाई कांग्रेसले सघाउने भएको छ । तालमेलमा सामेल दलहरू आ–आफ्नै चुनाव चिह्नबाट प्रतिस्पर्धा गर्ने भएका छन् । कांग्रेसले ३२ जिल्लामा तीन महिलालाई मात्रै उम्मेदवार बनाएको छ ।
संघमा दुई र प्रदेशमा २ जना महिलामात्रै प्रत्यक्षतर्फ उम्मेदवार भएका छन् । बागलुङको निर्वाचन क्षेत्र नं. १ मा चम्पा खड्का र खोटाङमा सरस्वती बजिमय प्रतिनिधिसभामा उम्मेदवार भएका छन् । प्रदेशसभातर्फ ताप्लेजुङको ‘क’ क्षेत्रमा लीला बोखिम तथा बझाङको प्रदेशसभा ‘क’ मा चन्द्रादेवी जोशी उम्मेदवार भएकी छन् । बजिमय र जोशी यसअघि समानुपातिकबाट सांसद थिए । खडका निर्वाचित सांसद थिइन् ।
नुवाकोटमा कांग्रेस नेता अर्जुननरसिंह केसी र उनका भाइ जगदीशनरसिंह केसी दुवै उम्मेदवार भएका छन् । दाइ नुवाकोटको क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि र भाइ सोही निर्वाचन क्षेत्रको प्रदेशसभा ‘क’ बाट उम्मेदवार छन् ।
कांग्रेसले रामेछापबाट पूर्णबहादुर तामाङ (कान्छाराम तामाङ) लाई प्रतिनिधिसभाका लागि उम्मेदवार बनाएको छ । पहिलो चरणको उम्मेदवारमा महिला प्रतिनिधित्व न्यून छ भने दलित उम्मेदवार परेका छैनन् ।
हाम्रो संरचना । ६ कार्तिक २०७४, सोमबार ०८:२९