विद्युत प्राधिकरणले नेपालगञ्ज लगायत ६ वटा ठुला शहरमा विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने

 ७ कात्तिक,नेपालगञ्ज/ विद्युतीय सवारी साधन   विद्युतीय सवारी साधनलाई प्रवद्र्धन र उत्साहित गर्ने उद्देश्यसहित नेपाल विद्युत प्राधिकरणले नेपालमा नै पहिलो पटक विद्युतीय सवारी साधन चार्ज गर्न मिल्ने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको छ। 

नेपाल विद्युत् प्राधिकरण, आयोजना व्यवस्थापन निर्देशनालयका प्रमुख मनोज सिलवालले विश्वभरि लोकप्रिय बन्दै गएको विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्दै पेट्रोलियम पदार्थको निर्भरतालाई कम गर्न प्राधिकरणले ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माण गर्ने नीति ल्याएको बताए।

राज्य र जनस्तरबाट समेत पेट्रोलियम पदार्थको भरपर्दो विकल्पको रूपमा विद्युतीय सवारी साधनको खरिद तथा प्रयोगका लागि सशक्त रूपमा पहल हुनुपर्ने भन्दै सिलवालले यो योजनालाई राज्यले नीतिगत रूपमा नै अगाडि बढाउनुपर्ने आवश्यकतामाथि जोड दिए। उनका अनुसार पेट्रोल पम्पजस्तै विभिन्न ठाउँमा सहज रूपमा निर्माण गर्न सकिने ‘हाई भोल्टेज चार्जर स्टेसन’ निर्माणका लागि गृहकार्य र प्रक्रिया अगाडि बढाइएको छ।

सुरुमा काठमाडौँका विभिन्न स्थानमा यो चार्जर सेन्टर स्थापना गर्ने प्राधिकरणको सोच छ। पहिलो चार्जर स्टेसन काठमाडौँको रत्नपार्कस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा निर्माण हुनेछ।

काठमाडौँपछि विराटनगर, वीरगन्ज, भरतपुर, पोखरा, नेपालगञ्जमा यो स्टेसन निर्माण गरिनेछ। साधारण चार्जर प्रविधिले एउटा कार चार्ज गर्न पाँचदेखि सात घण्टासम्म लाग्नेछ।  प्रस्तावित ‘हाई भोल्टेज चार्जर स्टेसन’ बाट एउटा विद्युतीय कार चार्ज गर्न बढीमा आधा घण्टा लाग्नेछ।  प्रस्तावित चार्जर स्टेसनबाट सुरुमा केही समयका लागि निःशुल्क सेवा प्रदान गरिनेछ।  माथिल्लो तामाकोसी जलविद्युत् आयोजना यसै वर्ष निर्माण सम्पन्न भएसँगै अबको डेढ वर्षपछि रातिको समयमा र वर्षायाममा दिनमा समेत बिजुली बढी हुने भएको भन्दै सिलवालले विद्युत् उत्पादनको उपयोग र पेट्रोलिय पदार्थमा हुने अर्बौं रुपियाँको वार्षिक आयातलाई कम गर्न प्राधिकरणले यो नीति ल्याएको उहाँले बताउनुभयो।