पहिलो चरणको निर्वाचन: प्रदेशमा ४ सय २१ र प्रतिनिधिसभामा २ सय ८१ उम्मेदवार चुनाबी प्रतिस्पर्धामा

९ कात्तिक,नेपालगञ्ज/ आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि जम्मा ७ सय २ जना उम्मेदवारलाई निर्वाचन आयोगले बुधबार निर्वाचन चिह्न प्रदान गरेको छ ।
बुधबार उम्मेदवारी फिर्ता लिने अन्तिम दिन १ सय जनाको उम्मेदवारी फिर्ता भएको छ भने एक जनाको उम्मेदवारी रद्द भएको निर्वाचन आयोगले जनाएको छ ।
कात्तिक ५ गते ३२ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ ३७ र प्रदेशसभा सदस्यतर्फ ७४ पदका लागि जम्मा ८ सय ३ जना उम्मेदवारहरुको उम्मेदवारी मनोनयन दर्ता कायम भएको थियो।   
बुधबार जिल्लाका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिएको छ।
निर्वाचन आयोगको सूचना प्रविधि महाशाखाबाट प्राप्त जानकारी अनुसार, प्रदेशसभातर्फ ४८१ र प्रतिनिधिसभा तर्फ ३२२ उम्मेदवारहरु मध्ये प्रदेशसभाका ६० र प्रतिनिधिसभाका ४० जनाको उम्मेदवारी फिर्ता भएको छ भने प्रदेशसभातर्फ एकजनाको उम्मेदवारी रद्द भएको छ।
दोलखा जिल्लाका प्रदेशसभातर्फका जन समाजवादी पार्टीका उम्मेदवार लक्ष्मण विश्वकर्माको उम्मेदवारी रद्द भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभएको छ ।