ठुला दलका गठबन्धनमा दाउपेच शुरु : बिगतका मत जोडेर जित्ने लोभ र आ–आफनै अडानले क्षेत्र गुम्ने डर

 

अमर सुनार –

१० कात्तिक, दैलेख/  दैलेखमा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रेसबिच मात्र देखिए पनि राजनीतिक दलहरुको केन्द्रमा भएको समीकरण, चुनावी तालमेल र गठवन्धनको हिस्सेदारीका लागि दाउपेच शुरु भएको छ ।  

बाम गठवन्धनमा माओवादीले पनि दैलेखमा आफ्नो उपस्थिति खोजेको छ ।  कांग्रेस र राप्रपाको लोकतान्त्रिक गठवन्धनमा राप्रपाले दैलेख क्षेत्र नं. १ मा प्रतिनिधिसभा सदस्य पदका लागि आफूले पाउनु पर्ने जोडदार दावी गरेको छ।

२०४८ को प्रतिनिधिसभा चुनाव र २०५१ को मध्यावधि चुनावमा नेपाली कांग्रेस र नेमकिपा बिच कडा प्रतिस्पर्धा हुने गरेकोमा २०५२ मा नेमकिपाको जिल्ला कार्यसमिति नै नेकपा एमालेमा समाहित भएपछि कांग्रेस एमालेबिच मुख्य प्रतिस्पर्धा हुँदै आएको हो ।

२०६४ को पहिलो संविधानसभा चुनावमा मध्यपश्चिञ्चलका ३४ निर्वाचन क्षेत्र मध्ये माओवादीले एउटै निर्वाचन क्षेत्र पनि नजितेको दैलेख मात्र हो । त्यतिबेला सुर्खेतका ३ निर्वाचन क्षेत्र मध्ये १ मा माओवादी बाँकी २ वटा एमालेले जितेको थियो ।

दैलेखमा  क्षेत्र नं. १ मा कांग्रेसका गणेशबहादुर खड्का र क्षेत्र नं. २ मा एमालेका राजबहादुर बुढाले जित्नुभएको थियो । अरु बाँकी सबै माओवादीले एकलौटी जितेको थियो ।

गएको वैशाख ३१ गते पहिलो चरणमा भएको स्थानीय तहको चुनावमा दैलेखका ११ मध्ये ७ वटा तह एमालेले जितेको छ भने बाँकी ४ वटा नेपाली कांग्रेसले जितेको छ । स्थानीय तहको चुनावमा नेकपा माओवादी केन्द्रले एउटा वडाध्यक्ष पनि जितेन । कुल ९० वडाका ३ सय ६० वडा सदस्य मध्ये नौमूले गाउँपालिका वडा नं. ४ कालिकामा १ जना मात्र खुला तर्फ वडा सदस्य जितेर माओवादीले खाता खोलेको थियो ।

माओवादीले स्थानीय तहको चुनावमा खुला तर्फका एउटा वडा सदस्य भन्दा बढी जिताउन नसके पनि प्राप्त मतका आधारमा माओवादीले ९ हजार ७ सय २७ मत पाएर तेश्रो ठूलो दल बनेको छ । खसेको सदर मतको अनुपातमा यो झण्डै १० प्रतिशत हो । एमालेले ३७ हजार ६ सय मत पाएको छ भने कांग्रेस ३६ हजार ८ सय ८१ मत ल्याएका जिल्ला निर्वाचन कार्यालय दैलेखको अभिलेखले जनाएको छ ।

अहिलेको सहरी विकास राज्यमन्त्रीसमेत ३ पटक राज्यमन्त्री बनिसक्नुभएकी राप्रपाका सह-महामन्त्री कुन्ती कुमारी शाही यसअघि २ पटक समानुपातिक सांसद भइसकेका कारण प्रत्यक्ष जितेर जाने इच्छा भएकै बेला पछिल्लो राजनीतिक गठजोडको फाइदा लिन जोडतोडका साथ लाग्नुभएको छ ।

पार्टीको सह-महामन्त्रीको हैसियतले केन्द्रमा कांग्रेससँग वार्ता गर्दा मकवानपुरमा कमल थापाको लागि माग्नु भन्दा बढी जोड दैलेखमा कांग्रेसको सहयोगमा आफू प्रतिनिधिसभा उम्मेदवार बन्ने बल गरेको अस्वभाविक भनिएको छ ।

स्थानीय चुनावमा जेनतेन गरी २ हजार मत पाएको राप्रपाले झण्डै ३७ हजार मत ल्याएको कांगे्सको मत खपाएर जित्ने रहर बोकेको भन्दै स्थानीय कांग्रेसको मनोवल नगिराउन कांग्रेस जिल्ला सभापतिले केन्द्रलाई खुला पत्र नै लेख्नुभएको छ ।

उता केन्द्रमा एमाले माओवादीको पार्टी एकता समेतको सहमतीमा चुनावी तालमेल भएकोमा माओवादीले दैलेखमा ४ प्रदेश मध्ये कम्तीमा १ मागेकोले कहाँ दिने भनेर निर्णय भएको छैन । केन्द्रले निर्णय गर्ने भएकोले प्रदेशसभाका उम्मेदवार बनेका एमाले नेताहरु आफ्नो भाग नखोसिओस् भनेर सुरक्षित राख्न काठमाडौंमा नेताहरुसँग अनुनय गरिरहेका छन् ।

पार्टी एकता हुने भएकोले संघमा प्रतिनिधिसभा वा प्रदेश मध्ये जहाँ मागे पनि दिनुपर्ने नेकपा एमालेका जिल्ला अध्यक्ष रविन्द्रराज शर्माको भनाई छ । निर्वाचन क्षेत्र नं. १ मा प्रमुख दावेदार रहनुभएका जिल्ला अध्यक्ष शर्माले पार्टी अह्राए आफैले पनि त्याग गर्न तयार भएको बताउनुभयो ।

नेकपा माओवादी केन्द्रका जिल्ला इञ्चार्ज प्रेमबहादुर कटुवालले दैलेखमा आफूहरुले उपस्थिति खोजेको तै पनि माओवादी केन्द्रले अरु जिल्लामा लिनुपर्ने भएकोले दैलेखमा संघ र प्रदेश समेत ६ सीट एमालेलाई छोड्नुपर्ने जानकारी आएकाले आफूहरुले पाउँदा वा नपाउँदा दुबै अवस्थामा बाम गठवन्धनलाई जिताउन पार्टी पंक्ति परिचालन गरिने जानकारी दिनुभयो ।

दोश्रो चरणमा चुनाव हुने दैलेखबाट २ जना प्रतिनिधिसभा र ४ जना प्रदेशसभाका सांसद चुन्न जिल्लाका ४ नगरपालिका र ७ गाउँपालिकाका १ लाख ३९ हजार ९ सय ४४ मतदाता छन् ।

पछिल्लो विवरण अनुसार निर्वाचन क्षेत्र नंं. १ मा ७० हजार १ सय ९० र क्षेत्र नं. २ मा ६९ हजार ७ सय ५४ जना मतदाता छन् । निर्वाचन क्षेत्र नं. १ को प्रदेश ‘क’ मा गुँरास गाउँपालिका, डुंगेश्वर गाउँपालिका र भगवतीमाई गाउँपालिकामा ३१ हजार ८ सय ३५ जना साथै प्रदेश ‘ख’ मा नारायण नगरपालिका, महाबु गाउँपालिका र नौमूले गाउँपालिकामा ३८ हजार ३ सय ५५ मतदाता छन् ।

त्यसैगरी प्रतिनिधिसभा निर्वाचन क्षेत्र २ को प्रदेश ‘क’ मा समेटिएको दुल्लू नगरपालिका र भैरवी गाउँपालिकामा ३३ हजार ६ सय ३ जना र प्रदेश ‘ख’ मा पर्ने आठबीस नगरपालिका, चामुण्डा नगरपालिका र ठाँटीकाँध गाउँपालिकामा जम्मा ३६ हजार १ सय ५१ मतदाता छन् ।

प्रदेश नं. ६ का १० जिल्लामा संघीय प्रतिनिधिसभा २ वटा निर्वाचन क्षेत्र हुने सुर्खेतपछि अर्को जिल्ला दैलेख मात्र हो । सल्यान, जाजरकोट, रुकुम, कर्णालीका पाँच जिल्ला कालिकोट, मुगु, जुम्ला, हुम्ला र डोल्पा गरी यी ८ जिल्लामा एक–एक वटा मात्र प्रतिनिधिसभा सांसदहरु पठाउनेछन् ।