१० कात्तिक,काठमाडौं/ वैदेशिक रोजगार विभागले प्रहरीलाई ६४ जना दलालको सूचि बुझाएको छ । वैदेशिक रोजगारीका नाममा ठग्ने, ओसारपसार गर्ने तथा बेचविखनमा संलग्न दलालको सूचि प्रहरी अपराध महाशाखामा पुगेको हो ।
पक्राउ गरि विभागमा बुझाउन पत्राचार गर्दै विभागले महाशाखामा सूचि पठाएको हो । विभागले पत्राचार गर्दा अट्टेर गरेका तथा व्यक्तिगत ठगी गरेका दलाललाई पक्रिन प्रहरीको सहयोग लिइएको विभागका निर्देशक मोहन अधिकारीले बताउनुभयो ।
विभागले साउनदेखि यता मात्रै ६४ जनाको सूचि प्रहरीमा पठाएको हो । प्रहरी अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले विभागबाट सहयोगका लागि सूचि सहितको पत्र आएको बताउँदै दलालको खोजी भैरहेको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, ‘पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेका छन्, उजुरी विभागले हेर्ने भएकाले पक्राउ गरेर विभागमा पुर्याउनु हाम्रो कर्तव्य हो ।’ प्रहरीले दिनहुँ जसो वैदेशिक रोजगारीका नाममा ठग्ने व्यक्तिलाई पक्रिरहेको पनि एसपी उप्रेतीले बताउनुभयो ।
हाम्रो संरचना । १० कार्तिक २०७४, शुक्रबार २०:१८