११ कात्तिक, नेपालगञ्ज/ तीनवटा निर्वाचन क्षेत्र रहेको बाँकेमा प्रतिनिधि सभाका लागि ३ र प्रदेश सभाका लागि ६ जना प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनेछन्। दुई कम्युनिष्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रबीचको तालमेलले बाँकेमा बाम गठबन्धन बलियो देखिएको छ, तर कांग्रेसले अन्य दलसँग तालमेल गरेमा बाम गठबन्धनलाई सजिलै जित्न मुश्किल छ। बाम गठबन्धनले राष्ट्रिय रुपमा नै तालमेल गरेर चुनावमा सहभागी भइसकेका छन्।
नेपाली कांग्रेसले भने यसरी गठबन्धन नबनाइसकेकाले नतिजा उसको पक्षमा आउने वा नआउने कुरा गठबन्धनमा भर पर्ने देखिएको छ। स्थानीय निर्वाचनमा प्राप्त मत अनुसार बाँकेको सबै निर्वाचन क्षेत्रमा बाम गठबन्धनको पकड बलियो देखिन्छ।
गएको स्थानीय तह निर्वाचनमा बाँकेका ८१ वडा वडाका अध्यक्षले प्राप्त मतलाई आधार मान्दा एमाले र माओवादीको गठबन्धन धेरै अगाडि देखिन्छ। तर, निर्वाचनका बेला केही मत तल माथि पर्न सक्ने अनुमान राजनीतिक दल र विश्लेषकहरुको छ।
क्षेत्र नं. १ मा बाम गठबन्धन झिनो मतले अगाडि
नरैनापुर, राप्ती–सोनारी गाउंपालीका र कोहलपुर नगरपालिका निर्वाचन क्षेत्र नं. १ मा पर्दछन्। स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले २० हजार ६ सय ५९ मत पाउँदा एमालेले १८ हजार ५ सय ८९ र माओवादी केन्द्रले ११ हजार ८ सय ७२ मत प्राप्त गरेको थियो।
राप्रपाका वडा अध्यक्षले ४ हजार, संघीय समाजवादी फोरमका वडा अध्यक्षले ३ हजार ३ सय ६० र फोरम लोकतान्त्रिकले १ हजार ६ सय ८८ मत पाएका थिए। बाम गठबन्धनका एमाले र माओवादी केन्द्रको मत करिव ३० हजार हुन जान्छ भने कांग्रेस, २० हजार ६ सय ५९ मत छ ।
प्रदेश सभा क्षेत्र नं. १ (क) मा बाम गठबन्धन बलियो
प्रदेश सभा निर्वाचन अन्तर्गत क्षेत्र नं. १ (क) मा नरैनापुर गाउँपालिका र राप्ती–सोनारी गाउँपालिकाको ८ र ९ वडा बाहेकको क्षेत्र पर्दछ। कुल १३ वटा वडा रहेको यस प्रदेश निर्वाचन क्षेत्रमा कांग्रेसका वडा अध्यक्षले ९ हजार ७ सय, एमालेकाले ७ हजार ६ सय, माओवादी केन्द्रकाले ६ हजार ८ सय, संघीय समाजबादी फोरमले ३ हजार ३ सय र राप्रपाले १ हजार ५ सय मत प्राप्त गरेका थिए। यस क्षेत्रमा स्थानीय निर्वाचनमा कांग्रेस र राप्रपाको मत जोड्दा ११ हजार २ सय मत हुन्छ। बाम गठबन्धनको १४ हजार ४ सय मत छ।
प्रदेश सभा क्षेत्र नं. १ (ख) मा बाम गठबन्धन अगाढी
प्रदेश सभा १ (ख) मा बाम गठबन्धन ५ हजार मतले अगाडि स्थानीय निर्वाचनमा प्राप्त राजनीतिक दलको मत परिणामलाई हेर्दा क्षेत्र नं. १ (ख) मा पनि बाम गठबन्धन र कांग्रेसहितका अन्य दलले तालमेल गरेमा उनीहरुबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। यस प्रदेश निर्वाचन क्षेत्रमा कोहलपुर नगरपालिका र राप्ती–सोनारी गाउँपालिकाको वडा नं. ८ र ९ पर्दछन्।
यो क्षेत्रमा १७ वडाका अध्यक्षले प्राप्त गरेको मत परिणाम हेर्दा एमाले र कांग्रेसबीचको मतभिन्नता एकदमै कम अर्थात २० मतको मात्र अन्तर देखिन्छ। प्रदेश सभा १ (ख) मा माओवादी केन्द्रको ५ हजार र राप्रपा तथा संघीय समाजवादी फोरमको मत ३ हजार ७ सय रहेको क्षेत्रीय निर्वाचन कार्यालयको तथ्यांकले देखाउँछ। यस क्षेत्रमा एमाले र माओवादी गठबन्धन करिव ५ हजार मतले अगाडि देखिएको छ।
प्रतिनिधि सभा क्षेत्र नं. २
प्रतिनिधि सभा क्षेत्र नं. २ मा बाम गठबन्धन बाहेका दल बलियो नेपालगन्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मिलाएर बनाइएको प्रतिनिधि सभा क्षेत्र नं. २ मा २७ वटा वडा रहेका छन्। यस क्षेत्रबाट नेपालगन्ज उप-महानगरपालिकाको १६ र १७ नम्बर वडा झिकिएको छ।
स्थानीय तहमा राजनीतिक दलहरुले प्राप्त गरेको आधारमा क्षेत्र नं. २ मा नेपाली कांग्रेसले सबैभन्दा धेरै मत प्राप्त गरेको छ। यस क्षेत्रमा एमाले, माओवादी केन्द्र, राप्रपा र संघीय समाजबादी फोरमले प्राप्त गरेको मत संख्या लगभग बराबर नै छ।
स्थानीय तह निर्वाचनमा कांग्रेसले १२ हजार ७ सय मत प्राप्त गर्दा राप्रपाले ८ हजार ५ सय, फोरम लोकतान्त्रिकले १ हजार, संघीय समाजवादी फोरमको ८ हजार १ सय र एमालेको मत ९ हजार ४ सय, माओवादी केन्द्रको ७ हजार १ सय मत रहेको छ।
डुडुवा गाउँपालिकामा संघीय फोरमले राम्रो मत प्राप्त गरेको थियो। यस निर्वाचन क्षेत्रमा एमाले र माओवादी केन्द्र बाम गठबन्धनको १६ हजार ५ सय हुन आउँछ। कांग्रेस र राप्रपाको २१ हजार २ सय छ । स्थानिय निर्वाचन पछी बांकेमा फोरम का नेताहरु माओबादी र एमालेमा प्रबेश गरेको अवस्था रहेको छ ।
प्रदेश सभा क्षेत्र नं. २ (क) मा बाम गठबन्धन कमजोर
क्षेत्र नं. २ प्रदेश सभा (क) मा डुडुवा गाउँपालिका र नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १३ र १८ देखि २३ नं. वडा रहेका छन्। यस वडामा कुल १२ वडा रहेका छन्।
स्थानीय तह निर्वाचनमा प्राप्त मत परिणाम हेर्दा यस क्षेत्रमा बाम गठबन्धनको तुलनामा कांग्रेस सहितका अन्य दलको मत बढी देखिएको छ। यस प्रदेश क्षेत्र नं. २ (क) मा कांग्रेसको ७ हजार ५ सय,एमालेको ४ हजार ७ सय, राप्रपाको ३ हजार ५ सय,संघीय समाजवादी फोरमको ५ हजार ९ सय,र माओवादी केन्द्रका २ हजार ७ सय र फोरम लोकतान्त्रिकको झण्डै ७ सय मत रहेको छ। कांग्रेस र राप्रपाको ११ हजार, बाम गठबन्धनको करीब ८ हजार छ ।
प्रदेश सभा क्षेत्र नं. २ (ख) कडा प्रतिस्पर्धा
प्रदेश क्षेत्र नं. २ (ख) मा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १३ र १८ देखि २३ वडा बाहेक कुल १४ वटा वडा रहेका छन्। स्थानीय तह निर्वाचनमा प्राप्त मतलाई हेर्ने हो भने यस प्रदेश क्षेत्रमा सवैभन्दा धेरै मत राप्रपाले पाएको देखिन्छ। राप्रपाले ५ हजार २ सय मत पाउँदा कांग्रेसले ५ हजार एक सय र एमालेको ४ हजार ७ सय र माओवादी केन्द्रको ४ हजार ४ सय रहेको छ।
यस प्रदेश सभा क्षेत्र २ (ख) मा फोरम लोकतान्त्रिकको ४ सय र संघीय समाजवादी फोरमको २ हजार ३ सय रहेको छ। यस क्षेत्रमा बाम गठबन्धनको ९ हजार ५ सय, कांग्रेस र राप्रपाको १० हजार ३ सय मत देखिन्छ।
प्रतिनिधि सभा क्षेत्र नं. ३
बाँके क्षेत्र नं. ३ मा बाम गठबन्धन ११ हजारले अगाडि
प्रतिनिधि सभा क्षेत्र नं. ३ मा नेपालगन्जको वडा नं. १६ र १७ तथा जानकी, खजुरा र बैजनाथ गाउँपालिका रहेका छन्। कुल २४ वटा वडा रहेको उक्त क्षेत्रमा एमालेका वडा अध्यक्षले २१ हजार २ सय, माओवादी केन्द्रले १४ हजार ४ सय मत प्राप्त गरेको थियो।
यस क्षेत्रमा कांग्रेसले १६ हजार ९ सय, राप्रपाले ३ हजार ४ सय र फोरम लोकतान्त्रिकले १ हजार ६ सय मत प्राप्त गरेको निर्वाचन कार्यालयले जनाएको छ। यहाँ संघीय समाजवादी फोरमको २ हजार ५ सय मत रहेको छ।
स्थानीय तह निर्वाचनको मत परिणामलाई हेर्दा एमाले–माओवादी गठबन्धनको ३५ हजार ६ सय र कांग्रेस सहितका दलले २४ हजार ४ सय मत पाएको तथ्यांकले देखाउँछ। यस क्षेत्रमा बाम गठबन्धनको मत कांग्रेस गठबन्धनको भन्दा ११ हजार २ सय बढी देखिन्छ।
क्षेत्र नं. ३ (क) मा बाम गठबन्धनको ८ हजार मत बढी
बैजनाथ गाउँपालिका र खजुरा गाउँपालिकाको वडा नं. ५, ६, ७ र ८ समेत मिलाएर बनाइएको प्रदेश क्षेत्र नं. ३ (क) मा एमाले अग्र स्थानमा छ। उसले १२ हजार मत पाउँदा माओवादी केन्द्रले करिव ७ हजार र काँग्रेसले १० हजार ८ सय मत प्राप्त गरेको देखिन्छ। यस क्षेत्रमा फोरम लोकतान्त्रिकले ८ सय मत मात्र पाएको स्थानीय तह निर्वाचनको मत परिणामले देखाउँछ।
यस प्रदेश सभा क्षेत्र नं. ३ (क) मा बाम गठबन्धनको १९ हजार ७ सय मत हुन्छ भने कांग्रेस सहित अन्य दल जोडदा पनि मत ११ हजार ६ सयमात्र देखिन्छ।
क्षेत्र नं. ३ (ख) मा पनि बाम गठबन्धनको ५ हजार ४ सय मत बढी
क्षेत्र नं. ३ (ख) मा बाम गठबन्धन ५ हजार मतले अगाडि नेपालगन्ज उपमहानगरपालिकाको वडा नं. १६, १७ र जानकी गाउँपालिकाको वडा नं. १ देखि ४ लाई समेटेर बनेको प्रदेश क्षेत्र नं. ३ (ख) मा पनि एमालेले सवैभन्दा बढि मत प्राप्त गरेको देखिन्छ।
यहाँ एमालेले ९ हजार २ सय मत ल्याउँदा माओवादी केन्द्रले ७ हजार ५ सय, कांग्रेसको ६ हजार राप्रपाको १ हजार ८ सय र फोरम लोकतान्त्रिकको प्राप्त मत १ हजार रहेको छ। यसैगरी संघीय समाजवादी फोरमले झण्डै २ हजार ५ सय मत प्राप्त गरेको छ।
यस प्रदेश सभा क्षेत्र नं. ३ (ख) मा बाम गठबन्धनले प्राप्त गरेको मत १६ हजार ७ सय हुन आउँदा कांग्रेस सहित अन्य दलको जोडदा पनि ११ हजार ३ सय हुन आउँछ। स्थानीय तहको मत परिणामलाई हेर्दा बाम गठबन्धनको मत ५ हजार ४ सय बढि देखिन्छ।
हाम्रो संरचना । ११ कार्तिक २०७४, शनिबार ०७:३६