त्रिशुलीमा बस खस्दा एकै परिवारको ८ जना सहित३१ जनाको शव निकालियो, अर्को बसबाट थपिएको थियो यात्रु ( अपडेट )

११ कार्तिक,धादिंग/ शनिबार बिहान गजुरी–५ बांगेमोडमा यात्रुबाहक बस त्रिशुलीमा खस्दा कम्तिमा ३१ जनाको मृत्यु भएको छ । मृतकको संख्या अझै बढ्न सक्ने प्रहरीको भनाइ छ । सनाखत भएकामध्ये भारतीय नागरिक २९ वर्षीया ममतादेवी ठाकुर र घाइते भएका निजका छोरा १२  वर्षीय मनिष ठाकुरबाहेक अधिकांश सप्तरी जिल्लाका छन् । 

छठलगत्तै शुक्रबार साँझ पार्टी कामको सिलसिलामा रात्री बस चढेर काठमाडौं हिंडेका नेपाली कांग्रेसका महाधिवशेन प्रतिनिधि राजकपुर यादवको मृत्यु भएपछि अहिले सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वाका गाउँलेहरु स्तब्ध बनेका छन्। ‘

अलग धारको पार्टीका नेता भए पनि कसैको आँखामा नबिझाउने व्यक्ति थिए’ वडाध्यक्ष राजदेव यादवले भने ‘बस दुर्घटनामा मारिएको खबर पाए पनि विश्वास गर्न सकिरहेका छैनौं।’ दुई छोरा र श्रीमतीसहित चोहर्वामा बस्दै आएका यादवको शुक्रबार साँझ छिमेकी नरहा गाउँपालिका १ देवीपुरका उदय मण्डलसँगै ना ६ ख १४६७ नम्बरको बस त्रिशुलीमा खसेपछि मृत्यु भएको थियो।

उनको शव आफन्तहरुले सनाखत गरी घरतिर ल्याउँदै गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख राजेन्द्रकुमार उपाध्यायले जानकारी दिए। उनीसँगै बसमा रहेका मण्डलको अवस्था भने खुलेको छैन। छठ मनाएर छोराछोरीलाई काठमाडौंमा पढ्नका लागि पुर्‍याउन हिंडेकी सिरहाको लहान १ सिङराहिकी प्रभा चौधरीको अवस्था पत्ता लाग्न सकेको छैन।

आमासँगै दुर्घटनामा परेकी उनकी छोरी निविदिता चौधरी र छोरा सुगम चौधरीको भने उपचार भइरहेको प्रहरीले जनाएको छ। शनिबार साँझ ६ बजेसम्म दुर्घटनास्थल धादिङको गजुरी गाउँपालिका ५ बाङ्गेमोड आसपासको क्षेत्रबाट ३१ जनाको शव निकालिएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ।

प्रहरीका अनुसार भेटिएका शवमध्ये १० जना सप्तरी, दुई जना सिरहा र एक भारतीय रहेका छन्। सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका १ का सञ्जितकुमार झा, उनकी पत्नी सिमीकुमारी झा, उनका भाई मञ्जितकुमार झाको मृत्यु भएको छ। सञ्जित तिहार र छठ मनाएर भाइ र आफ्नो परिवारसहित काठमाडौं फर्किंदै थिए। दुर्घटनामा उनका छोराहरु अभिनव र प्रतीक, भाइ अञ्जित, साली पूजा र सालो बिटु पनि परेका छन्।

त्यस्तै, बोदेबर्साइन नगरपालिका ७ मानराजा निवासी चतुरनारायण प्रमाणीका चार छोरीहरुको पनि उक्त दुर्घटनामा मृत्यु भएको छ। छठ मनाएर काठमाडौं फर्किंदै गरेका प्रणामीकी छोरीहरु चित्ररेखा, चन्द्ररेखा, चित्रलेखा र चन्द्रलेखा दुर्घटनामा मारिएपछि मानराजा गाउँ शोकमा डुबेको छ।

काठमाडौंमा पढिरहेका छोरीहरुलाई बसमा पठाएर शनिबार बिहान मोटरसाइकलमा काठमाडौं फर्किने योजनामा रहेका प्रणामीले छोरीहरु कहिल्यै नभेट्ने गरी छोडेर गएका छन्। उक्त दुर्घटनामा बोदे बर्साइन नगरपालिका २ का ६ वर्षीय आदित्य यादव, राजविराज १५ का १८ वर्षीय नरेश मुखिया, राजविराज १६ की ७४ वर्षीया चन्द्रावती झा, नेंगडाकी २५ वर्षीया पार्वती चौधरी, ३ वर्षीय सुशान्त चौधरी, नर्घोका २४ वर्षीय रमानन्द यादवको पनि मृत्यु भएको छ।

त्यस्तै, सिरहाको गोलबजार ८ का ५० वर्षीय राजकपुर यादव र भारतको बिहार मधुबनी राजनगर बराहरा ४ की २९ वर्षीया ममतादेवी ठाकुरको शव सनाखत भएको प्रहरीले जनाएको छ।

एकै परिवारको ८ जनाको मृत्यु, पूरै वोरियाका बासिन्दा दुःखमा

राजविराज, कात्तिक ११ – कसको मन थामिएला र ? दुर्घटनामा परिवारका ८ जनाको एकैपल्ट निधन भएपछि । अहिले राजविराज नगरपालिका वडा नम्बर १६ स्थित बोरिया गाउँका बासिन्दा र मदन झाको घरमा यस्तै मार्मिक अवस्था देखिएको छ । 

झा परिवारका साथै पूरै गाउँ शोकमा डुबेको छ । सप्तरी सदरमुकाम राजविराजबाट शुक्रबार बेलुका साढे ६ बजे छुटेको गाडी शनिबार बिहान धादिङको त्रिशूली नदीमा खसेको समाचार सुन्दा जिल्लामा दुःख छायो । बिहानैदेखि स्थानीय बासिन्दा आफन्तको खबर बुझ्न दिवा तथा रात्री बस बुकिङ ब्यवस्था समितिको कार्यालय र प्रहरीमा दौडधुप थालेका थिए । केहीबेरमै त्रिशूली नदीबाट शव निकाल्ने काम भइरहेको र १९ जनाको शव निकालि सकिएको र त्यसमध्ये सप्तरीका १५ जना परेको खबर आएपछि सिंगो सप्तरी नै शोकमा डुब्यो ।

दुर्घटनामा राजविराज–१६ बोरियाका मदन झाको परिवारकै ८ जनाको ज्यान गएको छ । शनिबार बोरियामा टोलभरी चुलो बलेनन् । घटनाको खबर सुन्ने वित्तिकै झाको घरमा आफन्त र शुभचिन्तकको भीड लागेको छ । दुर्घटनामा परि मदन झाकी भाउजु ७० वर्षकी चन्द्रावती झा, २२ वर्षका छोरा आदित्य झा, २० वर्षकी छोरी पूजा, २८ वर्षकी छोरी सिम्मी, ३० वर्षका ज्वाई संजीत झा, ज्वाईका २६ वर्षका भाइ अंजित झा, ५ वर्षका नाति अभिनव र ३ वर्षका नाति प्रतिक गरी ८ जनाको ज्यान गएको छ ।

काठमाडौंको चावहिल स्थित नेपाल बैंक लिमिटेड शाखामा ऋण शाखाका प्रमुखको पदमा कार्यरत ज्वाँइ संजितले छठ पूजा सकेपछि सबैलाई काठमाडौं घुमाउन लैजाने जिद्दि गरेपछि आफैले शनिबार बसको टिकट काटेर गाडीमा चढाई बिदाई गरेको भक्कानिँदै मदन झाले सुनाउनुभयो । ‘शुक्रबार बेलुकासम्म सँगै हाँसे खेलेकाहरुको एक्कासी विभत्स मृत्युको खबरले संसारै हराएको जस्तो लागेको छ’ उहाँले रुँदै भन्नुभयो ।

 हेटौडा आएपछि अर्को बसबाट थपिएको थियो यात्रु

सप्तरी राजविराजबाट छुटेको बसमा हेटौडा आएपछि अर्को बसको यात्रु पनि थपिएको थियो । ५५ जना यात्रु बोकेर हेटौडाबाट काठमाडौं गुडेको भनिएको बसको गति अत्याधिक भएको र सिटमा अडेर बस्न समेत समस्या हुनेगरि गाडी हाकेर ल्याइएको दुर्घटनामा घाइते भएका भारत मधुबनीका मनोजकुमार ठाकुरले बताउनुभयो ।

दुर्घटनापछि गाडी नदीमा हराएकोले गोताखरको रुपमा रहेका सशस्त्र प्रहरी बल विपद व्यवस्थापन तालिमकेन्द्र कुरिनटारका वरिष्ट हवलदार विरेन्द्र कार्की, हवलदार नरेन्द्र सिंह र प्रहरी जवान दिल्ली भट्टराईले पानी भित्र भएको गाडीबाट लास निकालेका थिए । २१ लास निकालेपछि गोताखोरकै टोलीले बसलाई बाँधेर टुचिन लगाइएपछि निकालिएको थियो । शनिबार बेलुकासम्म गाडीलाई टुचिनको सहायताले आधामात्र पानीबाट निकालिएको छ ।

शनिबार शुरक्षा निकायका जनपथ प्रहरी, सशस्त्र प्रहरी नेपाली सेना, राजमार्ग उद्धारकर्ता र रेडक्रस परिचालन गरेर गोताखोरको सहयोगमा उद्धार कार्य जारी रहेको छ । यसकिसिमका दुर्घटना कमी गराउन छिट्टै पहल गरिने प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले घटनास्थलबाट बताउनुभयो ।  

दुर्घटनामा ज्यान जानेमा सप्तरी

तिलाठी कोइलाडी गाउँपालिका वडा नम्बर ६ की ३५ वर्षकी सिसिपी कुमारी झा,

तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर ३ का  ३८ वर्षका रञ्जितकुमार झा,

तिलाठीकोइलाडी गाउँपालिका वडा नम्बर १ का ३३ वर्षका अञ्जितकुमार झा,

बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ का ६ वर्षका आदित्य यादव,

बोदेबर्साइन गाउँपालिका वडा नम्बर ३ की चन्द्ररेखा प्रणामी,

सप्तरी नेरेया निवासी २४ वर्षका रामान्द यादव,

२५ वर्षकी पार्वती र ३ वर्षका सुशन चौधरी,

गाडी सहचालक सप्तरी जिल्ला देउरीमरुवा निवासी नरेश मुखिया

, राजविराज नगरपालिका १६ का ७४ वर्षकी चन्द्रावती झा,

सिरहा गोलबजार ८ का ५० वर्षका राजकुमार यादव,

भारत मधुवनीका ममतादेवी ठाकुरको सनाखत भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो ।

यसैगरी सप्तरी जिल्ला कृष्णसबरन गाउँपालिका वडा नम्बर ४ का २८ वर्षका सुधिरा यादव,

कृष्णसबरन गाउँपालिकाका ५ वर्षकी सदिक्षा यादव,

सप्तरी बसेज निवासी ३० वर्षका सुरेन्द्र चौधरी,

बोदेबर्साइन गाउँपालिका वडा नम्बर २ की अस्की कुमारी यादव,

राजविराज नपा वडा नम्बर १३ का ऋषि आनन्ददेव,

सिरहा नगरपालिकाका ३० वर्षका उदय मंडल,

सप्तरी महादेवा गाउँपालिका वडा नम्बर ९ का प्रमोद इसार,

राजविराज नगरपालिका वडा नम्बर १४ का २० वर्षका आदित्य झाको सनाखत भएको छ ।

दुर्घटनापछि शनिबार बेलुकासम्म उद्दारको काम भइरहेको छ । दुर्घटनाका मृतकहरुको संख्या ३१ पुगेको छ । १० जनाको अझै सनाखत भएको छैन ।

सप्तरीको राजविराजबाट काठमाडौंका लागि छुटेको ना ६ ख १४६७ नम्बरको यात्रु बस नदीमा खसेर हराएको थियो । घाइते मध्ये सप्तरीको राजविराज-६ का दुर्गानन्द चौधरी र अभिषेक चौधरीको काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ भने अरुको गजुरी अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।