दाङमा जिल्लामा ४३ मतदान केन्द्र थपेर ३ सय ९४ मतदान केन्द्र कायम

१३ कात्तिक, दांग/ आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि दाङमा ४३ वटा मतदान केन्द्र थप गरिएका छन । यससँगै जिल्लामा मतदान केन्द्रको संख्या ३९४ पुगेको छ ।  

यसअघि ३५१ वटा मतदान केन्द्र रहेका थिए । सबैभन्दा धेरै घोराही उपमहानगरपालिकामा १२ वटा मतदान केन्द्र थप गरिएको छ ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार तुलसीपुर उपमहानगरपालिकामा १० तथा लमही नगरपालिकामा र राप्ती गाउँपालिकामा छ—छ वटा मतदान केन्द्र थपिएका छन ।

गढवा र दंगीशरण गाउँपालिकामा तीन— तीन तथा बबई, राजपुर र शान्तिनगरमा एक— एक वटा मतदान केन्द्र थपिएका छन ।

जिल्लामा मतदानस्थलको संख्या १५१ वटा कायम गरिएको छ । यसअघि स्थानीय तह निर्वाचनका लागि १५१ वटा मतदानस्थल र ३५१ मतदान केन्द्र निर्धारण गरिएको थियो ।

स्थानीय तह निर्वाचनका लागि दुई लाख ९१ हजार १७२ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएका थिए । अहिले ४७ हजार ७८१ मतदाता थपिएसँगै ४३ वटा मतदान केन्द्र थप गरिएको सूचना अधिकारी कुँवरले जानकारी दिए ।

जिल्लामा ३ लाख ३८ हजार ९५३ मतदाता रहेका छन । एक लाख ७२ हजार ८३३ महिला र एक लाख ६६ हजार ११८ पुरुष मतदाता रहेका छन । घोराही उपमहानगरपालिकामा १५ हजार ८सय १० मतदाता, तुलसीपुर उपमहानगरमा १० हजार २सय ९, लमही नगरपालिकामा पाँच हजार १ सय ५५, गढवा गाउँपालिकामा तीन हजार ३सय ८२, दंगिशरण गाउँपालिकामा एक हजार ६सय ३० तथा बंगलाचुली गाउँपालिकामा एक हजार ४सय ७ मतदाता थपिएका छन् ।