सुवास भट्ट :-
१३ कात्तिक, काठमाडौं / सुनचाँदी कारोबार व्यवस्थित बनाउन सरकारी समिति गठन भएको साढे चार वर्ष बितिसकेको छ । तर, अझै पनि यससम्बन्धी निर्देशिका जारी हुन सकेको छैन । आफूलाई बाहिर राखिएको बताउँदै व्यवसायीले सरकारी समितिकै विरोध गर्दै आएका छन् । निर्देशिका आउन नसक्दा कारोबार पुरानै अवस्थामा छ । अर्थात्, उपभोक्ता ठगिएका ठगियै छन् ।
व्यापक ठगी भएको गुनासोपछि सरकारी अनुगमन वाणिज्य विभागले वैशाख ०७० मा सुनचाँदीको बजार अनुगमन गरेको थियो । स्पष्ट कानूनी व्यवस्था बिना अनुगमन गरिएको बताउँदै व्यवसायी पसल नै बन्द गरेर आन्दोलित भएका थिए । त्यसपछि सरकारले ७ असार ०७० मा सुनचाँदीको बिक्री-वितरण, मापदण्ड र गुणस्तर सम्बन्धि निर्देशिका १५ दिनभित्र बनाउन नौ सदस्यीय समिति गठन गरेको थियो । वाणिज्य विभागले सुनचाँदीमा उपभोक्ता ठगेको अभियोगमा उपत्यकाका आठ ठूला व्यवसायीविरुद्ध मुद्दा पनि चलाएको थियो ।
नियमन शून्य
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मुलुकभर दैनिक औसत ३० किलो सुनको कारोबार हुन्छ । चाँदीको कारोबार दैनिक औसत चार सय किलो छ ।
सुन मात्र वर्षमा करिब ३५ अर्ब रुपैयाँ बराबरको खरिद-बिक्री हुन्छ । चाँदीको कारोबार नौ अर्ब रुपैयाँ हाराहारीमा हुन्छ । सुनलाई मुद्राकै एक स्वरुपका रुपमा लिइन्छ । यस्तो महत्वपूर्ण धातुको कारोबार नेपालमा भने स्पष्ट ऐन र कानुनबिनै चल्दै आएको छ । दैनिक करोडौं मूल्यको खरिद-बिक्री भइरहे पनि नियमन र अनुगमन शून्यजस्तै छ । न गुणस्तरको भरपर्दो मापक, न त कारोबारमै स्वच्छता ।
माग उच्च, आयात कम, पूर्ति हुन्छ तस्करीबाट
नेपालमा सुन खानीहरु चलनमा छैनन् । तेस्रो मुलुकबाट आयात गर्नुको विकल्प छैन । व्यवसायी स्वयंले सुन आयात गर्न पाउँदैनन् । चाँदी भने व्यवसायीले प्रतीतपत्र (एलसी) खोलेर आयात गर्न पाउँछन् ।
‘क’ वर्गका अर्थात् वाणिज्य बैंकहरुले मात्र सुन आयात गर्न पाउँछन् । २८ वटा वाणिज्य बैंकले नेपाल राष्ट्र बैंकसँग स्वीकृति लिएर सुन आयात गर्न पाउँछन् । ती बैंकले सिजनमा २० र अफ-सिजनमा २५ किलोसम्म सुन आयात गर्न पाउँछन् । बैंकले आयात गरेको सुन व्यवसायीले खरिद गरेर कारोबार गर्छन् ।
यस्तै, बैंक बाहेक ५० ग्रामसम्मको टुक्रा सुन ल्याउन पाउने व्यवस्था पनि छ । विदेश जाने नेपालीले घरायसी प्रयोजनका लागि स्रोत खुलाएर प्रतिव्यक्ति ५० ग्रामसम्मको सुन नेपाल ल्याउन पाउँछन् ।
सानो परिमाणमा आयात गर्न पाउने भए पनि यो त्यति चलन चल्तीमा नभएको व्यवसायी बताउँछन् । सुन आयात गर्ने औपचारिक माध्यम वाणिज्य बैंक नै हुन् । हाल सरकारले उपलब्ध गराउँदै आएको परिमाणबाट माग धान्न नसकिने व्यवसायीहरु बताउँछन् । महासंघका अध्यक्ष मोहनकुमार सुनार भन्छन्, ‘हामीले दैनिक ३५ किलोसम्म सुन पाउनुपर्ने माग राष्ट्र बैंकसँग गरिसकेका छौं ।’
त्यसो भए अहिले कसरी धानिएको छ त माग ? स्पष्ट छ, त्यसैका लागि हुने गरेको छ, तस्करी । सरकारले मागबमोजिम उपलब्ध नगराइदिने र कारोबारमा पनि स्पष्ट कानूनी व्यवस्था अभावमा तस्करीले प्रश्रय पाउँदै आएको छ ।
निर्देशिकामा लफडा
अहिले मुलुकभर २५ हजारभन्दा बढी सुनचाँदी व्यवसायी छन् । तर, तिनलाई नियमन गर्ने कानूनी व्यवस्था अभावमा मनमौजी ढंगले चलिरहेको छ, कारोबार । अनुगमन पनि चार वर्षयता शून्य छ ।
‘सुनचाँदी निर्देशिका नहुँदा त्यसले सरकार र उपभोक्तालाई भन्दा धेरै असर परिरहेको छ । सरकारी अनुगमन नदेखिँदा व्यवसायीमाथि प्रतिस्पर्धात्मक बजार मान्यता विपरित कार्टेलिङ गरेर बढी मूल्य लिएको, गुणस्तरमा ध्यान नदिएको जस्ता आरोप लाग्दै आएका छन् । बैक मार्फत सुन खरि गर्दा सुन खरिद कर्ताले बिक्रिको बृस्तीत विवरण बैकलाई बुझाउनु पर्दछ ।
मारमा उपभोक्ता
तत्कालीन वाणिज्य विभागले निर्देशिकासम्बन्धमा केही प्रयास थाले पनि त्यसपछिको प्रगतिबारे जानकारी नभएको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक लक्ष्मण श्रेष्ठ बताउँछन् । भन्छन्, ‘आपूर्ति मन्त्रालयले यसको तयारी गरेको हो । हामीले प्राप्त अधिकारका आधारमा अनुगमन गर्दै आएका छौं ।’
गुणस्तर र नापतौलका आधारमा सुनचाँदीको अनुगमन भइरहेको उनको भनाइ छ ।
गुणस्तर तथा नापतौल विभागका महानिर्देशक विश्वबाबु पुडासैनी पछिल्लो समय निर्देशिका ल्याउने सम्बन्धमा कुनै प्रयास नभएको बताउँछन् । ‘आपूर्ति मन्त्रालयले गत वर्ष निर्देशिका ल्याउने प्रयास गरेको थियो तर जर्ति र ज्यालाका कारण जारी हुन सकेन, त्यसयता कुनै प्रगति भएको जानकारी मलाई छैन,’ उनी भन्छन् ।
सरकारी उदासिनता र व्यवसायीको गैरजिम्मेवारीपनका कारण निर्देशिका आउन नसकेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् । ‘सरकारले निर्देशिका ल्याउन र त्यसको परिपालनाका लागि व्यवसायीलाई जिम्मेवार बनाउनै सकेन । व्यवसायीले पनि अनेक बहानामा सरकारी अधिकारीहरुलाई प्रलोभनमा पारिरहेका छन्,’ उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सिना भन्छन् ।
उनको भनाइमा अहिले उपभोक्ताले खरिद गर्दा बढी मूल्य र आफूसँग भएको गहना बिक्री गर्नुपरे सस्तोमा जिम्मा लगाउनुपर्ने अवस्था छ ।
ज्याला, जर्ति, मिसावट आदिका नाममा सुनचाँदीमा उपभोक्ता ठगिनुपरेको उपभोक्ता अधिकारकर्मीहरु बताउँछन् ।
निर्देशिकामा सुनचाँदीका गरगहनाको गुणस्तर तोकिएकै हुनुपर्ने, जर्ति (गहना बनाउँदा टुक्रिएर खेर जाने सुन) र ज्याला घटाउनुपर्ने सरकारी अडान छ । व्यवसायी भने अहिलेकै व्यवस्थालाई कानूनी मान्यता दिनुपर्ने पक्षमा छन् । दुई पक्षको आ-आफ्नो अडानका कारण निर्देशिका अन्योलमा पर्दै आएको छ । अनलार्इनखबरमा प्रकाशित सुवास भट्टको रिपोटबाट लिइएको ।
हाम्रो संरचना । १३ कार्तिक २०७४, सोमबार ०९:१५