तेस्रो दुर्घटना: उदयपुरको कटारीबाट ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप दुर्घटनामा ७ जनाको मृत्यु UPdate….

१३ कार्तिक,कटारी/  सिद्धिचरण राजमार्गमा भएको जिप दुर्घटनामा १ जना महिला र ६ पुरुष सहित ७ जनाको मृत्यु भएको छ । उदयपुरको कटारीबाट १० जना यात्रु बोकेर ओखलढुंगा गइरहेको ना १ ज ३४०४ नम्बर टाटा सुमो जिप कटारी ११ मा पर्ने सिद्धिचरण राजमार्गको ठाँटी भन्ज्याङ खण्डमा दुर्घटना भएको हो । 

दुर्घटनामा मृत्यु भएकाको सनाखत हुन सकेको छैन । उदयपुरका प्रहरी उपरीक्षक नवराज भट्टका अनुसार घटनास्थलतर्फ प्रहरी टोली पठाइएको छ ।  स्थानीय बासिन्दाले जिप सडकबाट करिब चार सय मिटर तल खसेको अनुमान गरेका छन् ।

कटारीबाट १० जना यात्रु बोकेर हिँडेको बताइए पनि बीचमा यात्रु थपिएको वा नथपिएको जानकारी नभएकाले कति यात्रु थिए भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।

उद्दारकार्यमा खटिएको कटारी नपा-११ का वडाध्यक्ष दीपक बुढाक्षत्रीका अनुसार एकजना बालकलाई सकुशल गाडीबाट निकालिएको छ । मृत्यु हुनेमा १ जना महिलासहित ६ पुरुष रहेका छन् ।  ४ जना घाइतेको कटारी अस्पतालमा उपचारको लागि पठाइएको छ ।