१३ कात्तिक, मुगु / धर्तीको स्वर्ग भनेर चिनिने रारा ताल बिस्तारै पर्यटकीय गन्तब्यको रुपमा बिकसित हुँदैछ । भौगोलिक बिकटतालाई चिर्दै मुगुमा मोटरबाटो पुगेपछि राराले पनि आफ्नो पहुँच बिस्तारै बढाउँदै लगेको छ ।
राराको सौन्दर्य पारखीहरुका लागि असोजदेखि मंसिर महिनासम्मको मौसम उत्तम हो ।
रारा पुग्ने आन्तरिक तथा बाहृय पर्यटकको संख्यामा वर्षैपिच्छे बढ्दो क्रममा छ । रारामा पुग्ने आन्तरिक पर्यटकलाई हेर्दा लाग्छ भ्रमण चेतनामा नेपालीहरु माथि पुगिसकेछन् ।गाडी, मोटसईकल र प्लेन चार्टर गरेर अहिले पर्यटकहरु रारा पुग्ने गरेका छन्
हिमाली राष्ट्रिय निकुञ्जमा आन्तरिक पर्यटकहरुलाई प्रबेश निशुल्क गरिएका कारण कति जना रारा घुम्न आए भन्ने एकिन डाटा नभएपनि होटेलबाट लिएको जानकारीको आधारका दैनिक करिब २ सयको हाराहारीमा स्वदेशी पर्यटकहरु रारा घुम्न आउने गरेको रारा राष्ट्रिय निकुञ्जका वार्डेन चन्द्र शेखर चौधरीले बताए ।
राराताल नजिकै रहेको डाँफे गेष्ट हाउस र भिलेज हेरिटेज एण्ड रिसोर्ट यतिबेला आन्तरिक र विदेशी पर्यटकले भरिभराउ छन् । होटलमा भएको कोठा अपुग भएपछि होटेलले बाहिर टेण्टको व्यवस्था गरेको छ ।
भिलेज हेरिटेज एण्ड रिसोर्टका म्यानेजर दीपक रावतले यहाँ घुम्न आउने स्वदेशी तथा विदेशी पर्यटकहरुलाई व्यवस्थापन गर्न हम्मेहम्मे परेको बताए ।
उनले विदेशी पर्यटकहरु पहिला नै होटेल बुकिङ गरेर आउने गरेका कारण समस्या नभएपनि आन्तरिक पर्यटकहरु यहाँ आएपछि मात्रै होटल खोज्ने गरेका कारण उनिहरुलाई व्यवस्थान गर्न समस्या हुने गरेको बताए ।
रारा राष्ट्रिय निकुञ्जका रेञ्जर यज्ञराज रोकायाले अघिल्ला वर्षहरुमा आन्तरिक र विदेशी पर्यटक बाषिर्क दुईसय जनासम्म आउने गरेकोमा यो वर्ष दशै सकिएलगत्तै दैनिक एकसयदेखि दुईसयसम्म आन्तरिक र विदेशी पर्यटक आउने गरेको बताए ।
उनले अघिल्लो वर्ष विदेशी १ सय २४, सार्क मुलुकबाट ३ जना र करिब सय जना आन्तरिक पर्यटकहरु रारा घुम्न आएको बताए ।
साथीहरुले फेेसबुकमा राराको तस्विर राखेर प्रचारप्रसार गरेका कारण यहाँ घुम्न आएको चितवनबाट गाडीमा आएका रामहरि खनालले बताए । उनले रारा पुग्ने बाटो अप्ठ्यारो भएपनि यहाँपुगेपछि भने स्वर्गको आनन्द महशुस भएको बताए ।
त्यस्तै साथीभाईहरुसँग मोटरसाईकलमा रारा घुम्न आएका कञ्चनपुरका राजेन्द्र पन्तले रारामा सोचेको भन्दा राम्रो व्यवस्थापन रहेको बताए । उनले मोटरसाईकलमा आउँदा केहि प्राविधक समस्याहरु आएपनि रारा पुगेपछि सबै विर्सेको बताए ।
रारा घुम्न चितवन वा कञ्चनपुरबाट मात्रै होईन पोखरा, काठमाडौं, नेपालगंज लगायत शहरबाट पनि थुप्रै पर्यटकहरु पुगेका छन् ।
कसरी पुग्ने रारा ?
हवाई मार्गबाट जाँदा नेपालगञ्ज बिमानस्थलबाट मुगुको ताल्चा बिमानस्थल पुग्न सकिन्छ । त्यहाँबाट २ घण्टा हिँडेपछि रारा पुग्न सकिन्छ । हिड्न नसक्नेहरुका लागि घोडाको पनि व्यवस्था छ । घोडाका लागि एक जनाको १५ सय शुल्क तिर्नुपर्छ ।
आफ्नै अथवा भाडामा गाडी लिएर जाने हो भने कोहलपुरबाट सुर्खेत हँुदै कालिकोट र त्यहाँबाट रारा पुग्न दुईदिन समय लाग्छ
हाम्रो संरचना । १३ कार्तिक २०७४, सोमबार १६:२८