पेट्रोलिय पदार्थको मूल्य वृद्धि फिर्ता, १० बजेदेखि पुरानै मूल्य

कात्तिक १६, काठमाडौं/ बुधबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढाउने नेपाल आयल निगमको निर्णय फिर्ता भएको छ।  

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि बिहीबार बिहान बसेको आयल निगम सञ्चालक सिमितिको बैठकले फिर्ता गर्ने निर्णय गरेको हो।   ‘रातीदेखि बढेको मूल्य फिर्ता गरिएको छ, आज बिहान बसेको सञ्चालक समितिको बैठकले दश बजेदेखि लागू हुनेगरी बढेको मूल्य फिर्ता लिई पुरानै मूल्यमा कारोबार गर्ने निर्णय गरेको हो’ निगमका प्रवक्ता वीरेन्द्र गोइतले भने।

गोइतका अनुसार निर्वाचनको मुखमा पेट्रोलियम पदार्थमा बढाएको मूल्य फिर्ता लिन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएपछि निगम सञ्चालक समितिको बैठक बोलाएर अहिले बढेको मुल्य कार्यन्वयन नगर्ने निर्णय गरिएको हो।

भारतीय आयल कर्पोरेशनबाट प्राप्त नयाँ मूल्यअनुसार मूल्य समायोजन गर्दै आएको निगमले पेट्रोलमा २, डिजेल र मट्टितेलमा १ रुपैयाँ ५० पैसा र खाना पकाउने ग्यासको सिलिन्डरमा २५ रुपैयाँले मूल्य बढाएको थियो। अब पुरानै मूल्य अनुसार  खाना पकाउने ग्यासको मूल्य एक सिलिन्डरको १३ सय २५, पेट्रोल लिटरको ९८, डिजेल र मट्टितेलको मूल्य ७४ रुपैयाँमा कायम हुनेछ।