नेपालमा ८० प्रतिशत डाक्टरले बिरामीसँग कसरी कुरा गर्ने भन्ने समेत जान्दैनन् : कार्यदल,स्वास्थ्य मन्त्रालय

१८ कात्तिक,काठमाडौं/  नेपालमा उपचारका क्रममा हुने लापरबाही मध्ये ३३.३३ प्रतिशत चिकित्सकका कारण हुने गरेको पाइएको छ। स्वास्थ्य मन्त्रालयद्वारा गठित प्रा.डा. हरिहर वस्तीको संयोजकत्वको कार्यदलले तयार पारेको प्रतिवेदनमा एकतिहाइ लापरबाही चिरफार गर्दा अर्थात् सर्जिकल ट्रिटमेन्टको अवस्थामा हुने उल्लेख छ।   

अस्पतालमा हुलदंगा बढ्न थालेपछि सरकारले चरम लापरबाहीका कारण बिरामीको मृत्यु वा अंगभंग भएमा घटनाको स्वतन्त्र अनुसन्धान, छानबिन र क्षतिपूर्तिलगायत आवश्यक विषयलाई व्यवस्थित गर्ने कानुन बनाउन १ असोजमा स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको थियो।

निर्देशनलगत्तै देशभरका चिकित्सकहरू आन्दोलनमा आएपछि निर्णयको एक सातापछि ८ असोज २०७४ को मन्त्रीस्तरीय निर्णयअनुसार नेपाल चिकित्सक संघको आन्दोलन सम्बन्धी मन्त्रिपरिषद्बाट प्राप्त निर्देशनलाई कार्यान्वयन गर्ने विषयमा राय सुझावसहित प्रतिवेदन पेस गर्नु भन्ने निर्णयअनुसार प्रा.डा.वस्तीको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो।

प्रतिवेदनले विगत १० वर्षअघिदेखिका रिपोर्ट, मुद्दा र घटनाका आधारमा एकतिहाइ घटना लापरबाहीका कारण भएको देखाएको छ। प्रतिवेदनले देखाएको लापरबाहीका घटना  दक्ष चिकित्सकले उपचार नगरेका कारण झण्डै १५ प्रतिशत लापरबाही हुने गरेको र आकस्मिक उपचार नदिएका कारण १४ प्रतिशत लापरबाही हुने गरेको समितिले बुझाएको प्रतिवेदनमा उल्लेख छ। 

बिरामीसँग डाक्टरले उचित राय, परामर्श र छलफल नगरेका कारण झण्डै १५ प्रतिशत लापरबाहीका घटना हुने गरेका छन्। प्रतिवेदनका अनुसार नेपालमा ८० प्रतिशत डाक्टरले बिरामीसँग कसरी कुरा गर्ने भन्ने समेत जान्दैनन्। थाह खबरबाट