वाम गठबन्धनका २९ गते गोर्खा,मंसिर २ गते दमक,३ गते काँकडभिट्टा र मोरङको विराटचोक, ५ गते बुटवल र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने

२३ कात्तिक, काठमाडौं /  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आगामी चुनावी सभालाई संयुक्तरुपमा सम्वोधन गर्ने भएका छन् ।   

 

चुनावलाई लक्षित गर्दै एमाले र माओवादीले चुनावी कार्यक्रम अन्तर्गत ताप्लेजुङ(दार्चुला अभियान शुरु गरिएकोमा  वाम गठबन्धनका उम्मेदवारलाई जिताउन आह्वान गर्ने र पार्टी एकताको सन्देश दिने गरी संयुक्त चुनावी सभा र प्रशिक्षण शुरू गरिएको एमाले केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिनुभएको छ । । अभियानको क्रममा शीर्ष नेताहरु पुग्न नभ्याएको स्थानमा दुबै पार्टीका नेताहरुले अनुकुल मिलाएर सम्वोधन गर्ने योजना बनाइएको छ ।

गोर्खाबाट ओली र प्रचण्डको संयुक्त सम्वोधन शुरू हुने

ओली र प्रचण्डको संयुक्त चुनावी सभा भने आगामी २९ गते गोर्खाबाट शुरु हुनेछ । गोर्खाका चार स्थानमा सभा आयोजना हुने वाम गठबन्धनका नेताहरुले बताएका छन् ।

वाम गठबन्धनबाट नारायणकाजी श्रेष्ठ र लोकतान्त्रिक प्यानलबाट डा. बाबुराम भट्टराई उम्मेदवार बनेकाले गोर्खाको विशेष चर्चा हुने गरेको छ । गोर्खापछि कात्तिक ३० गते स्याङ्जा र बाग्लुङमा संयुक्त चुनावी सभा हुनेछ । मंसिर २ गते झापाको दमकमा र ३ गते काँकडभिट्टामा सभा आयोजना गरिने छ ।

झापा क्षेत्र नम्बर ५ मा एमाले अध्यक्ष ओली स्वयं उम्मेदवार छन् । झापाको क्षेत्र नम्बर १ मा माओवादी नेता राम कार्कीलाई सघाएको एमालेले अरु सबै क्षेत्र आफूले लिएको छ ।

यसैगरी ३ गते नै मोरङको विराटचोकमा, ५ गते रुपन्देहीको बुटवलमा र दाङमा, ७ गते सुर्खेत र दैलेखमा, ८ गते कैलाली र कञ्चनपुरमा तथा ९ गते पोखरामा चुनावी सभा गर्ने कार्यक्रम तय भएको छ ।

माओवादी सभामा माधव नेपाल प्रमुख अतिथि

यसैबीच एमाले र माओवादीले काठमाडौंबाट पार्टी एकताको अभ्यासको थालनी पनि गरेका छन् । यसैक्रममा काठमाडौं क्षेत्र नम्बर २ ले बुधबार आयोजना गरेको चुनावी कार्यक्रममा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल प्रमुख अतिथिका रुपमा सहभागी भएका छन् ।

दुबै दलका शीर्ष नेताहरु सम्मिलित पार्टी एकता संयोजन समितिले आ-आफ्ना पार्टी कमिटीमा गरेको सर्कुलरमा पनि एमालेको कार्यक्रमलाई माओवादीले र माओवादीको कार्यक्रमलाई एमालेका नेताहरुले सम्वोधन गर्ने उल्लेख छ ।

चुनावका हरेक कार्यक्रम संयुक्त व्यानरमा गर्न र संयुक्त चुनाव प्रचार समिति गठन गर्न पनि निर्देशन दिइएको छ । सोही निर्देशन अनुसार पत्रकार भेटघाट, भेला, प्रशिक्षण लगायतका कार्यक्रम एउटै ब्यानरमा एमाले र माओवादीको चुनाव चिह्न राखेर हुँदै आएको छ ।