कैलाली बस दुर्घटनामा ३ जनाको मृत्यु, ३४ जना घाइते (अपडेट)..

२६ कार्तिक, अत्तरीया/ धनगढी-डडेल्धुरा भीमदत्त पन्त राजमार्ग अन्तर्गत कैलालीको चुरे गाउँपालिका-३ धपेनी भन्ने स्थानमा आइतबार बिहान बस दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने हाल सम्म ३४ जना घाइते फेला परेका छन। 

मृत्यु हुनेमा एक बालक र दुई महिला सहित ३ जना रहेको ईलाका प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृतकहरु सबै जना बैतडी मेलौलीका रहेपनि सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
शनिबार बेलुकी बैतडीको मेलौलीबाट छुटेको कञ्चनपुरको पवनदूत यातायातको ना ७ ख २७२३ नंम्वरको वस आइतबार विहान ४ बजेतिर सडकवाट भीरमा खस्दा दुर्घटना भएको हो ।

बस छुट्ने बेला ४२ जना यात्रु सवार रहेको समितिका पदाधीकारीले बताएका छन् ।

दुर्घटना स्थलबाट सार्वजनिक यातायात, ट्रक र एम्बुलेन्सबाट घाइतेहरुलाई कैलालीको अत्तरियामा रहेको पद्मा अस्पताल ल्याउने क्रम जारी रहेको छ ।
अत्तरियामा चिकित्सकहरुको टोली उपचारमा खटिएको छ । घटनास्थलमा उद्धारको कार्य जारी रहेको छ भने घाइतेहरुलाई उपचारका लागि कैलाली पठाइदैछ । दुर्घटनापछि सशस्त्र र प्रहरीको टोली घटनास्थल पुगेर घाइतेको उद्दारमा खटिएको छ ।