२७ कात्तिक,काठमाडौं/ नेपालले सन् २०२० सम्ममा गाडी दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या आधाले घटाउन गरेको प्रतिवद्धता पूरा नहुने देखिएको छ ।
सन् २०१५ मा ब्राजिलको ब्रासिलियामा भएको विश्व स्वास्थ्य संगठनको विश्व सम्मेलनमा नेपालले सन् २०२० सम्ममा गाडी दुर्घटनाबाट हुने मृत्युको संख्या आधा घटाउने प्रतिवद्धता गरेको थियो ।
विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर दैनिक १ सय भन्दा धेरैको सडक दुर्घटनामा परि ज्यान जाने गरेको छ । त्यसमध्ये नेपालमा दैनिक ५ जनाले ज्यान गुमाउने गरेकामा अहिले बढेको छ ।
नेपालमा अहिले दैनिक ६ जनाको ज्यान जानुका साथै ३४ जना घाइते हुने गरेका यातायात व्यवस्था विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले जानकारी दिनुभयो ।
उहाँका अनुसार गाडी दुर्घटना चालक, सडक र गाडीको कारण हुने गरेको छ । गएको आर्थिक वर्ष २०७२/०७३ मा १७ सय ४४ जनाले ज्यान गुमाएकामा
आर्थिक वर्ष २०७३/०७४ मा २१ सय ४४ जनाले ज्यान गुमाएका विभागको तथ्याङक छ । यो यसअघिको भन्दा ४ सयले बढेको हो । दुर्घटना कम गर्नको लागि सरकारले रणनीतिक कार्ययोजना बनाए पनि दुर्घटना कम हुनुको सट्टा बढ्दै गएको छ । सरकारले लामो दुरीमा चल्ने गाडीमा दुई जना चालक हुनुपर्ने र एक जनाले २ सय ५० किलोमिटर भन्दा धेरै गुडाउन नमिल्ने नियम बनाएको छ ।
तर व्यवसायीले चालकको अभाव देखाउँदै एक जना मात्र चालक गाडीमा राख्ने गरेका छन् । एक जना चालकले लामो दुरीमा गाडी चलाउँदा थकाई र निन्द्राका कारण धेरै दुर्घटना हुने गरेका विभिन्न अध्ययनले देखाएको छ ।
दुर्घटना कम गर्नको लागि चालकलाई जिम्मेवार, पूर्वाधार विकास, गाडी जाँचपासमा कडाई गर्ने र अनुगमन गर्ने काम भैरहेको विभागका प्रवक्ता डाक्टर टोकराज पाण्डेले दाबी गर्नुभयो । दुर्घटना घट्नुको सट्टा बढ्दै गएको अवस्थामा अबको तीन वर्षमा दुर्घटनाका कारण ज्यान गुमाउनेको संख्या आधाले घटाउने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा नहुने देखिएको हो । अहिले देशभरी २७ लाख ७३ हजार ४ सय २७ वटा गाडी संचालनमा रहेको विभागले जनाएको छ ।
हाम्रो संरचना । २७ कार्तिक २०७४, सोमबार १०:५०