सुरक्षाका लागी उच्च सतर्कता अपनाउनुस : निर्वाचन आयोग

२७ कात्तिक, काठमाडौं/ प्रदेशसभा र प्रतिनिधिसभा चुनावमा उठेका उम्मेदवारमाथि आक्रमण हुन थालेपछि निर्वाचन आयोगले सुरक्षा निकायलाई गम्भीर ध्यानाकर्षण गराएको छ। आयोगमा बैठक गरेर प्रमुख निर्वाचन आयु क्त डा. अयोधी प्रसाद यादवले तीनवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षा मजबुत पार्न निर्देशन दिनु भएको हो ।

रक्षासचिव विनोद केसी, गृहसचिव मोहनकृष्ण सापकोटा, प्रहरी प्रमुख प्रकाश अर्याल, सशस्त्र प्रहरी प्रमुख सिंहबहादुर श्रेष्ठ र राष्ट्रिय अनुसन्धान विभाग प्रमुख दिलीप रेग्मीलाई आयोगमा डाकेर यादवले चुनाव नजिकिँदै जाँदा चुनाव भाँड्ने तत्वहरू झन् सक्रिय हुने भएकाले सुरक्षा चुस्त पार्न निर्देशन दिएका हुन्।

यादवले चुनावविरोधी तत्वहरू धर्ना र जुलुस भन्दा पनि बमबारी र गोली हान्नेसम्मको आपराधिक ‘मुड’ मा जान खोजेको भन्दै सुरक्षा निकायलाई तम्तयारी अवस्थामा बस्न निर्देशन दिए। ‘मतदाता, उम्मेदवार र चुनावमा खटिने सबै कर्मचारीको सुरक्षा गर्ने दायित्व सुरक्षा निकायको हो।

उच्च सतर्कतासाथ सुरक्षाकर्मी परिचालनमा जोड दिनुस्,’ यादवको निर्देशन उद्धृत गर्दै आयोग प्रवक्ता नवराज ढकालले  भने, ‘घटना हुँदै नहुने होइन। आकलन गरिएभन्दा धेरै हुने सम्भावना छ। चारवटै सुरक्षा निकायले सुझबुझसँग सुरक्षा दिनुहोस्।’

रक्षा सचिव केसीले सेनाको गस्ती खटिइसकेको जानकारी दिँदै आपराधिक क्रियाकलाप गर्ने तत्वमाथि प्रहरीको दायित्व बढ्नेतर्फ संकेत गरेका थिए। बैठकमा प्रहरी महानिरीक्षक प्रकाश अर्यालले निर्वाचन हुने जिल्लाका प्रहरी प्रमुखलाई अन्य सुरक्षा निकायको समन्वयमा चुनाव भाँड्ने तत्वको निगरानी र धरपकडका लागि क्रियाशील रहन निर्देशन दिएको जानकारी यादवलाई गराएका थिए। गृहसचिव सापकोटाले तीनवटै सुरक्षा निकायका प्रमुखलाई सुरक्षामा कुनै सम्झौता नगर्न सुझाएको जानकारी गराएका थिए।

खासगरी एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल लगायत उम्मेदवारका अंगरक्षक र अन्य सुरक्षाकर्मीलाई चनाखो रहन सुझाउने विषयमा समेत छलफल भएको थियो। तीन-तीनवटा भौतिक आक्रमण प्रयासका घटना हुँदा त्यसमा संलग्न अभियुक्त पक्राउ नगर्दा सर्वसाधारणमा त्रास बढ्नेतर्फ समेत बैठक केन्द्रित बनेको थियो।