इरान–इराकमा यो वर्षकै घातक भूकम्प : मृत्यु हुनेको संख्या ४ सय २२ जना, ७ हजार बढी घाइते,राहत तथा बचाव कार्य जारी

२८ कात्तिक/  इराज र इराकको उत्तरी सीमा क्षेत्रमा ७ दशमलव ३ रेक्टर स्केलको भूकम्प जाँदा ज्यान गुमाउनेको संख्या ४ सय २२ जना पुगेको छ । यो संख्या अझै बढन सक्ने बताइएको छ ।

राहत तथा उद्धार कार्य जारी रहेको छ । सात हजार भन्दा बढी घाइते भएका छन् । यो भूकम्प विश्वमा सन् २०१७ मा गएको  अहिलेसम्मकै सबैभन्दा  विनाशाकारी बनेको छ ।

भूकम्पका कारण ज्यान गुमाउनेमा अधिकांश इरानको पश्चिमी क्षेत्रका छन् । इरानमा मात्रै कम्तिमा ४ सय १३ जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । इराकमा कम्तिमा ९ जनाको ज्यान गएको बिबिसीले उल्लेख गरेको छ ।

 

इरानमा भूकम्पका कारण ७० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् । अहिले उद्धार तथा भत्किएका भवनमा पुरिएका मानिसको जीवितै उद्धारका लागि प्रयास भइरहेको छ । भूकम्पको धक्का टर्की र इजरायलमा पनि महशुस गरिएको थियो । आइतबार बेलुका इराकी शहर हलब्जा केन्द्रीत भएर भूकम्प गएको अमेरिकी भू वैज्ञानिक सर्वेक्षण यूएसजीएसले जनाएको छ ।  यसअघि सन् २००३ मा इरानमा गएको ६.६ रेक्टरको भूकम्पका कारण २६ हजार मानिसको ज्यान गएको थियो ।  तस्बीर : समाचार एजेन्सी रोयर्टर्स