भोजपुरमा पूर्व सूचना तथा सञ्चारमन्त्री शेरधन राई चढेको गाडीमा बम आक्रमण,प्रहरीद्वारा २१ राउन्ड गोली प्रहार

शेरधन राई चढेको गाडीमा बम आक्रमणबाट क्षतीग्रष्त  ल्यान्ड रोभर गाडी
आक्रमणबाट घाइते राईका अंगरक्षक

२८ कात्तिक, भोजपुर/ नेकपा एमालेका नेता एवम भोजपुर प्रदेशसभाका उम्मेद्वार  शेरधन राईलाई लक्षित गरी बम आक्रमण भएको छ । आक्रमणबाट राईका अंगरक्षक घाइते भएका छन् ।

भोजपुरको गोगनेको आमसभालाई सम्बोधन गर्न जाँदै गर्दा कोट र भोजपुरको सिमानामा रहेको पिखुवा खोला नजिकै  ट्याम्केमैयु गाउँपालिका वडा ७ को गुम्बा मास्तिर १४-१५ जनाको समहूले भोजपुर प्रदेश सभा सदस्य ख निर्वाचन क्षेत्रबाट बाम गठबन्धनका एमाले उम्मेदवार शेरधन राईसहित नेता कार्यकर्ता चढेको गाडी माथि बम हानेको प्रत्यक्षदर्शीले बताएका छन्।

सडकको घुम्तिमा पारेर हानिएको बम विस्फोट हुँदा राईका अंगरक्षक प्रहरी सहायक निरीक्षक (असई) डिल्ली देवकोटाको हातमा चोट लागेको र ल्यान्ड रोभर गाडी पूर्णरुपमा ध्वस्त भएको छ। उम्मेदवार राई भने सकुशल छन्। अहिले सो क्षेत्रमा प्रहरी परिचालन गरिएको छ। सुरक्षामा खटिएका असईले उनीहरुमाथि २१ राउन्ड गोली प्रहार गरेका छन्।  उम्मेद्वारसहित अन्य सकुशल रहेको सँगै रहेका युवा नेता मकर खड्काले जानकरी दिएका छन  ।

पूर्वसूचना तथा सञ्चारमन्त्री समेत रहेका राईलाई बम कसले हान्यो भन्ने खुलेको छैन । जिल्ला प्रहरी कार्यालयले बम प्रहारको पुष्टि गरेको छ । थप अनुसन्धान गर्न र आक्रमणकारीको खोजी गर्न टोली पठाइएको प्रहरीले बताएको छ ।

यसअघि रोल्पामा माओवादी नेता वर्षमान पुन र रुकुममा जनार्दन शर्मालाई पनि लक्षित गरी बम आक्रमण भएको थियो । यो आक्रमणमा विप्लव निकट नेकपाका कार्यकर्ताको संलग्नता रहेको अनुमान प्रहरीले गरेको छ ।

सम्बन्धित शीर्षक