जुम्लाको गुठीचौर, मणिसाँघुमा ट्र्याक्टर दुर्घटना : २ जनाको मुत्यू

 २९ कात्तिक,जुम्ला/  जुम्लाको गुठीचौर गाउँपालिका–१ मणिसाँघुमा सोमबार राति भएको भे १ त ७३८६ नंको ट्र्याक्टर दुर्घटनामा दुई सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–८ तलिउम जुम्लाका १७ वर्षीय ललित धराला र जाजरकोट कुसे गाउँपालिका–७ निवासी अन्दाजी १८ वर्षीय भीमबहादुर विक रहेको जिल्ला प्रहरी कार्यालयका जुम्लाले जानकारी दिएको छ। 

प्रहरीका अनुसार डोल्पाको चौंरीकोटबाट जुम्ला आउँदै गरेको सो ट्र्याक्टरले अर्को ट्र्याक्टरलाई बाटो दिने क्रममा दुर्घटना भएको हो।  दुर्घटनामा चालक रमेश दमाईं हाम्फालेर बाँचेका छन्। दुवै सह-चालक सडकदेखि ६० मिटर तल खोलामा च्यापिएको अवस्थामा भेटिएको जनाइएको छ।

दुवैको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य प्रतिष्ठान विज्ञान प्रतिष्ठान जुम्लाको शवगृहमा र चालक दमाईंलाई हिरासतमा राखिएको प्रहरीले जनाएको छ। दुर्घटनास्थल सदरमुकाम जुम्ला खलंगादेखि झण्डै २० किमी टाढा रहेको र बेलैमा फोन सम्पर्क हुन नसकेकाले मंगलबार बेलुका मात्र शव प्रतिष्ठान जुम्लामा पुर्‍याइएको हबल्दार सुनारले बताए। जाजरकोटबाट विकका आफन्त आएपछि दुवैको शव परीक्षण गरी आफन्तलाई बुझाइने जनाइएको छ।