सूचना तथा सञ्चार मन्त्रालयद्धारा एनालग प्रविधिका केबल टेलिभिजनको प्रशारण लाइन बन्द गर्न सुरु

३०कात्तिक, काठमाडौं /  नेपाल सरकारको सूचना तथा सञ्चार मन्त्रालयले देशभरका महानगरपालिका,उपमहानगरपालिका र नगरपालिकाहरुमा डिजिटल सिस्टमको टेलिभिजन सेवा सुरु गर्ने समय सीमा नाघे पछि काठमाडौंबाट एनालग प्रविधिका केबल टेलिभिजनको प्रशारण बन्द गर्न सुरु गरेको छ । 

पहिलो दिन नै ८ वटा एनालगमै चलिरहेका केबल टेलिभिजनको हेड-इन (कन्ट्रोल रुम) को ज्याक सिल गरेको सूचना तथा सञ्चार मन्त्रालयकी सह-प्रवक्ता संगीता ओझाले जानकारी दिइन् । योसँगै राजधानीका ८ वटा केेबल टेलिभिजन बन्द भएका छन् ।

बन्द हुनेमा सुबिसुको एनालग केबल टेलिभिजन सेवा पनि छ । सोनिङ, जाउलाखेल, काठमाडौं, स्काई, स्पेशटाइम, सिईसी र टिपीलिंक केबलको एनालग सेवा बन्द गरिएको ओझाले बताइन् ।

‘अब केही दिनमै राजधानीमा एनालग टेलिभिजन सबै बन्द हुन्छन्,’ ओझाले भनिन्,’अब अनुगमन निरन्तर हुन्छ । सेवा डिजिटल नभई तिनलाई सेवा सुचारु दिँदैनौं ।’

नगरपालिकाहरु पनि अब एनालग टेलिभिजन बन्द गर्ने क्रम तीव्र पार्ने मन्त्रालयले जनाएको छ । ०७५ को वैशाख १५ गतेपछि ग्रामीण क्षेत्रसहित देशभर एनालग टेलिभिजन बन्द हुनेछ । एनागल टेलिभिजनको सेवा गुणस्तरीय र समय सापेक्ष नभएकाले अन्तर्राष्ट्रिय नियमअनुसार नै यसलाई विस्थापन गर्न लागिएको हो ।

कसरी गर्ने डिजिटलाइज ?

एनागल टेलिभिनलाई डिजिटलमा लैजान उपभोक्ताका दृष्टिकोणबाट धेरै कसरत गर्नुपर्दैन । यो व्यवस्थाअनुसार अब हरेक टेलिभिजनका लागि १५ सयदेखि ३ हजार मूल्यका छुट्टै सेट-टप बक्स लगाउनुपर्छ ।

तर, अब सेट-टप बक्सको सेवा शुल्क भने फरक-फरक लाग्छ । यो सेट-टप बक्स टीभीमा केबल जोड्नु अघिको प्वाइन्टमा जोडिनेछ ।

केबल टीभी अपरेटरले भने आफ्नो हेड-इनमा पनि सबै उपकरण डिजिटलाइज्ड गर्नुपर्छ । त्यसका लागि केबल अपरेटरसँग अब दुईवटा विकल्प छन् ।

पहिलो विकल्प डिजिटलाइज्ड सेवा प्रदायक मल्टी सर्भिस अपरेटरसँग सहकार्य गरेर उसैसँग आधारित भएर सेवा दिने विकल्प हो । अर्को भने आफैं हेड इनलाई डिजिटलाइज्ड गरेर सेवा थाल्ने हो ।

डिजिटल प्रविधिमा रुपान्तरणका लागि सबै टेलिभिजनमा सेट-टप बक्स जोडिनेछ । अब ग्राहकले घरमा जतिवटा टीभी छन्, त्यति नै वटा सेट-टप बक्स जोड्नुपर्नेछ । अब हरेक टेलिभिजनमा सेट-टप बक्स राखेर सेवा लिएबापत अपरेटरलाई छुट्टै शुल्क तिनुपर्नेछ ।

यसबाट अपरेटरहरुको बिजनेश पनि राम्रो हुनेछ । ग्राहकले भने गुणस्तरीय टेलिभिजन सेवाबापत थोरै बढी आर्थिक भार उठाउनुपर्नेछ ।

अब गुणस्तरीय टेलिभिजन 

यही डिजिटल प्रविधिको पूर्ण प्रयोग भएपछि लटर-पटर तरिकाले केबल टेलिभिजन चलाउनेहरुको राज रहने छैन । किनभने डिजिटल टेलिभिजन सेवा दिन बजारमा तीव्र प्रतिस्पर्धा हुनेछ ।

केबल टेलिभिजनमा डिजिटलाइजेशन अनिवार्य गरिएकाले बजारमा सबै अब्बल रुपमा आउने अवस्था बन्नेछ ।

त्यसैले अहिले केबल अपरेटरहरुले मल्टी सर्भिस अपरेटरसँग मिलेर सेट-टप बक्स वितरण गरिरहेका छन् । कसैले सःशुल्क वितरण गरिरहेका छन् भने कसैले निःशुल्क पनि बाँडिरहेका छन् । तर, धेरैले यस्तो काम थालेकै छैनन् ।

अब नेपाल भित्रिने सबै सेट-टप बक्सको रेकर्ड सरकारसँग हुने भएकाले देशमा कति टीभीमा सेट-टप बक्स लागे भन्ने सीधै थाहा हुनेछ ।

अहिलेको केबल टेलिभिजनमा सेट-टप बक्स लगाउनासाथ टीभीको श्रब्य दृश्य गुणस्तर उच्च हुनेछ । यसले टीभी हेर्दा आनन्दको महसुस मात्रै हुने छैन, अनेकन झञ्झटबाट उपभोक्ता मुक्त हनेछन् ।

एनालग टेलिभिजन पुरानो प्रविधि भएकाले नै विकसित देशले यसलाई हटाइसकेका छन् । नेपालले यसका लागि बल्ल काम थालेको छ ।

डिजिटल टीभीले अडियो र भिडियोलाई डिजिटल क्वालिटीमा सम्प्रेषण गर्छ । यसले मल्टिप्लेक्स सिग्नल दिने भएकाले नै यो स्तरीय मानिन्छ । टिभी हेर्दा सफा दृष्य नआउने र कमजोर ध्वनी आउने लगायतका विभिन्न समस्यालाई यसले हटाइदिन्छ ।

टेलिभिजन सिग्नल डिजिटल भएपछि आफूलाई मन परेको प्याकेज लिएर हेर्न पाइने भएकाले ग्राहकलाई धेरै फाइदा हुने डीसहोमका महाप्रवन्धक कल्याण अधिकारीले बताए ।

‘अहिले केबल टेलिभिजनले जुन प्याकेज दिए त्यसैमा एड्जष्ट हुनुपर्ने अवस्था डिजिटलमा हुने छैन । तर, अब भने ग्राहकले आफूलाई चाहिएको च्यानल मात्रै रोजेर हेर्न सक्ने अवस्था बन्नेछ,’ उनले भने ।

अहिले नेपालमा मल्टी सर्भिस अपरेटरको लाइसेन्स लिएका विभिन्न १० सेवा प्रदायकले डिजिटलको टीभी सेवा दिइरहेका छन् । डीटीएच प्रविधिको डिसहोमले पनि आˆनो गुणस्तरीय डिजिटल सेवालाई ग्रामीण दूरदराजको भेगसम्म पुर्‍याइरहेको छ ।

सिम्पल मिडिया नेटवर्कको ‘सीम टीभी’, सुविसु केवल नेटवर्कको ‘क्लियर टीभी’, डिभाइन नेटवर्कको ‘मेरो टीभी’ लगायतका कम्पनीले डिजिटल प्रविधिको टीभी प्रसारण गरिरहेका छन् ।

अब केबल अपरेटरले यिनै कम्पनीहरुसँग डिजिटल सिग्नल लिएर पनि ग्राहकसम्म डिजिटल टीभी सेवा दिन सक्नेछन् । ग्राहकले डीटीएच प्रविधि पनि अब रोज्न सक्नेछन् ।

तर, केबल टेलिभिजनलाई अब डिजिटल नगरी सेवा प्रदायक र ग्राहकलाई सुख भने हुने छैन । किनभने सरकारले अब डिजिटलमा नजाने केबल अपरेटरको सेवा नै बन्द गर्न सुरु गरेको छ ।