पहिलो चरण चुनाव : ३२ जिल्लाका प्रतिनिधि ३७ र प्रदेशसभा सदस्य ७४ निर्वाचन क्षेत्रमा मतदान जारी

१० मंसिर,नेपालगञ्ज/ प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरण निर्वाचनअन्तर्गत हिमाली तथा उच्च पहाडी ३२ जिल्लामा मतदान सुरु भएको छ । पूर्वनिर्धारित कार्यतालिका अनुसार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।

पहिलो चरणअन्तर्गत प्रतिनिधिसभातर्फ ३७ र प्रदेशसभातर्फ ७४ निर्वाचन क्षेत्रमा चुनाव हुँदैछ । मतदान गर्न बिहानैदेखि मतदाताहरु लामवद्ध भएका छन् । मतदाताले तोकिएको मतदान केन्द्रमा पुगेर साँझ ५ बजेसम्म मतदान गर्न पाउने छन् । 

संविधान जारी भएपछि पहिलोपटक संघीय संरचनाअनुसार प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन हुन लागेको हो ।

पहिलो चरणमा ७०२ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । आयोगका अनुसार ३१ लाख ९१ हजार ९ सय ४५ मतदाताले मताधिकार प्रयोग गर्नेछन्, जसका लागि दुई हजार ९१९ मतदान स्थलमा चार हजार ४ सय ६५ मतदान केन्द्र राखिएको छ ।

पहिलो चरण चुनावः कुन नेता कहाँबाट मतदान गर्दै ?

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले गोरखाबाट आज मतदान गर्दैछन् । गोरखा–२ को प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका भट्टराईको मतदान केन्द्र पालुङटार नगरपालिकाको अन्नपूर्ण मा.वि. खोप्लाङमा छ ।

भट्टराईसँग चुनावी प्रतिष्पर्धामा रहेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पनि पहिलो चरणकै चुनावमा मतदान गर्ने नेतामा पर्छन् । उनले गोरखाको सिरानचोक गाउँपालिका–८ जौबारी मतदान केन्द्रबाट मतदान गर्दैछन् ।

एमाले सचिव योगेश भट्टराई पनि पहिलो चरणका मतदाता हुन् । ताप्लेजुङको प्रतिनिधिसभा सदस्यतर्फको चुनावी मैदानमा उत्रिएका भट्टराईको नाम मैवाखोला गाउँपालिका–३ नारायणी उ.मा.वि. केन्द्रमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणाा सिन्धुपाल्चोकका मतदाता हुन् । मतदाता सूचीमा उनको नाम सुनकोसी गाउँपालिका २ को महेन्द्रोदय उ.मा.वि. केन्द्रमा छ । उनले अाफ्नाे मत यही केन्द्रकाे मतपेटिकामा खसाल्ने छन् ।

पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका–५ का मतदाता हुन् । उनको मतदान केन्द्र यमुनानन्द नमूना उ.मा.वि. हो । उनले यहीबाट मतदान गर्नेछन् ।

कहां–कहां हुदैछ निर्वाचन !

कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान गर्दैछन् । ४ नम्बर प्रदेशका मुख्यमन्त्रीका दाबेदारका रुपमा हेरिएका गुरुङ लमजुङबाट प्रदेशसभा सदस्य उम्मेदवार छन् । उनले पनि आज मतदान गर्दैछन् । उनको मतदाता नामावली क्व्होलासोथार गाउँपालिका–९ मा छ । उनको मतदान केन्द्र बुद्धोदय मा.वि. परेको छ । गोरखा १ का उम्मेदवार चीनकाजी श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उ.मा.वि. मतदान केन्द्रबाट मत दिँदैछन् ।