नेपालमा महिला हिंसा : एक वर्षमा ११ हजार ६ सय २९ महिला हिंसामा

दाङ कोठेकुलकी ३५ वर्षीय तारा चौधरी श्रीमानले गरेको दुव्र्यवहार सहन नसकेपछि दुई महिनाअघि आफ्नै श्रीमानलाई कार्वाहीको माग गर्दै जिल्ला अदालतमा निवेदन दिन बाध्य भइन् ।

एक छोरा, एक छोरीकी आमा चौधरीको यो दोस्रो विहे हो । १४ वर्षको उमेरमा पहिलो विहे गरेकी चौधरीले श्रीमानले शारीरिक र मानसिक यातना दिएसगैँ दोस्रो विहे गर्न बाध्य भएकी थिइन् । तर दोस्रो श्रीमानलेपनि गालि बेइज्जत र कुटपिट गर्न थालेपछि जिल्ला अदालतमा निवेदन दिएकी हुन् ।

one caucasian couple man and woman expressing domestic violence in studio silhouette isolated on white background

‘श्रीमानकै मानसिक यातनाका कारण ३ पटकसम्म आत्म हत्या गर्ने प्रयास गरे तर सकिन’ महिला खबरसँगको कुराकानीमा उनले भनिन्, ‘ श्रीमानको यातना सहन नसकेर कार्वाहीको माग गर्दै निवदेन दिएकी हुँ ।’

‘अति नै मानसिक र शारीरिक यातना खेपेपछि जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए । त्यहाँ कुरा नमिलेपछि जिल्ला अदालत पुगेकी हुँ । अदालतले पुसको ९ गते बोलाएको छ’ उनले भनिन् ।

‘आफ्नै श्रीमानलाई मुद्धा हाल्न त मन थिएन तर के गर्नु बाध्य छु । मैले ऊसँग खान, लगाउन मागेको छैन् म आफैँ काम गर्छु । काम गरेर खान पाउने अवस्था सृजनाका लागि यो कदम चालेकी हुँ’ उनले श्रीमान बिरुद्ध कदम चाल्नु आफ्नो बाध्यता भएको प्रष्ट्याउँदै भनिन् ।

‘रक्सि खाएर जे मन लाग्यो त्यै बोल्ने, कुटपिट गर्ने र शंका गर्छन । कति समय त घर छोडेरै हिँडे’ उनले दुःखेको पोखिन् ।

सिराहाको कल्याणपुर नगरपालिका– ६ भोक्राहाकी ३० वर्षीया समिला खातुनले घरायसी विवादकै कारण अकालमा ज्यान गुमाउनुपर्यो ।

झण्डै डेढ महिनाअघि वैदेशिक रोजगारीबाट फर्केर घर आएका ३५ वर्षीय मोहमद अली राइनले श्रीमती खातुनको यहि मंसिर ५ गते खुकुरी प्रहार गरी हत्या गरे । 

खुकुरी प्रहारबाट गम्भीर घाइते खातुनको उपचारको लागि कर्जनहा लैजाँदै गर्दा बाटोमै ज्यान गएको थियो । वैदेशिक रोजगारीबाट फर्केदेखि नै उनीहरूबिच विवाद हुँदै आएको थियो । श्रीमतीको घाँटी रेटेर हत्या गरी फरार रहेका श्रीमानलाई विहिबार मात्रै सिराहा प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय मिर्चैया र इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट खटिएको विशेष अनुसन्धान टोलीले धनुषाको गोपालपुरबाट राइनलाई पक्राउ गरेको हो ।

यस्तै खोटाङमा धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा रुपाकोट मझुवागढी नगरपालिका–७ बस्ने ४६ बर्षीय राजकुमार राईलाई गत आइतबार प्रहरीले पक्राउ गरेको छ ।

उनले घरायसी झगडामा आफ्नै श्रीमती ४२ बर्षीया राजकुमारी राईलाई धारिलो हतियार प्रहार गरेको थिए । राजुकमारीको घटनास्थालमै मृत्यु भएको थियो ।

गत कार्तिक २५ गते काभ्रेमा आफ्नै दाजुबाट बहिनी बलात्कृत भइन् । १२ बर्षीया बहिनीलाई जवरजस्ती करणी गरेको अभियोगमा २२ बर्षीय दाजुलाई प्रहरीले पक्राउ गर्यो ।

काभ्रे प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रप्रसाद मरासिनीले आवश्यक अनुसन्धान भइरहेको बताए । महिला खबरसँग कुरा गर्दै डिएसपी मरासिनीले भने, ‘केश प्रक्रियाको क्रममा छ । डाक्टरको रिपोर्टको आधारमा आवश्यक कारवाही अगाडी बढाउँछौं ।’

महिलाले आफ्नै श्रीमानबाट ज्यान गुमाउनु पर्ने, आफन्तबाटै बलात्कृत हुनुपर्ने र शारीरिक तथा मानसिक हिंसाको मार खेप्नुपर्ने यी त उदाहरणीय घटना मात्रै हुन् । नेपालमा पछिल्लो समय महिला हिंसाका घटना बढ्दो छ । महिलाहरू दिन प्रतिदिन घरपरिवार र समाजबाटै हिंसा सहन बाध्य छन् ।

हिंसाको डर लाग्दो तथ्यांक

नेपाल प्रहरीको त्री–वर्षीय तथ्यांङकले समेत पछिल्लो समय महिला हिंसाका घटना बढ्दै गएको देखाउँछ ।

नेपाल प्रहरीको त्री वर्षीय तथ्याङ्क अनुसार नेपालमा पछिल्लो एक वर्ष (०७३-७४)को अवधिमा ११ हजार ६ सय २९ वटा घरेलु हिंसाका घटना घटेका छन् । जुन ०७२-७३ ले भन्दा २ हजार २ सय ३१ ले बढी हो । ०७२-७३ मा ९ हजार ३ सय ९८ वटा घरेलु हिंसाका घटना घटेका थिए । यस्तै आ.व ०७१-०७२ मा ८ हजार २ सय ६८ वटा घरेलु हिंसाका घटना घटेको थिए ।

प्रहरीको तथ्याङक अनुसार आ.व ०७३-७४ मा १ हजार १ सय ३१ वटा बलात्कारका घटना घटेका छन् । आ.व ०७२-७३ मा १ हजार ८९ वटा, र ०७१-०७२ मा ९ सय ८१ वटा घटना घटेका थिए । यस्तै जवरजस्ती करणी उद्योगमा आ.व ०७३-७४ मा ५ सय ३६, आ.व ०७२-७३ मा ४ सय ५२ र ०७१-०७२ मा ५ सय ६२ वटा घटना घटेका छन् ।

आ.व ०७३-७४ मा मानव बेचविखनमा २२७, आ.व ०७२-७३ मा २१२ र ०७१-०७२ मा १८१ वटा उजुरी परेको नेपाल प्रहरीले जनाएको छ ।

यस्तै आ.व ०७३-७४, ०७२-७३ र ०७१-०७२ मा क्रमश २४, २८ र ४३ वटा बोक्सीको आरोपका घटनाहरू दर्ता भएका छन् ।

यस्तै आ.व ०७३-७४ मा बहुविवाहमा ४ सय ६४, आ.व ०७२-७३ मा ४६३ र ०७१-०७२ मा ५ सय १८ वटा उजुरी परेको छ ।

यस्तै आ.व ०७३-७४ मा २६ वटा बालविवाहका घटना घटेका दर्ता भएको छ भने ०७२-७३ र ०७१-०७२ मा क्रमश २० र २३ वटा घटना दर्ता भएको छन् । यस्तै ०७३-७४, ०७२-७३ र ०७१-०७२ मा क्रमश २१, २२ र १७ वटा गर्भपतनका घटनाहरू दर्ता भएको नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले जानकारी दिए ।

समाजमा कयौँ महिलाहरू आफू हिंसामा परे पनि हिंसा लुकाउन बाध्य छन् । भने कतिले हिंसाका घटनालाई बाहिर ल्याएपनि न्याय भने पाउन सकेका छैनन् ।

महानगरिय प्रहरी प्रभाग बलम्बु थानकोटकी इन्चार्ज शर्मिला गुरुङले हिंसाकै कारण महिलाहरू अग्रसर हुन नसक्ने बताइन् । ‘प्रहरीको तथ्याङकले महिला हिंसाका घटना बढेको देखाए पनि केहि महिलाले मात्रै हिंसाको प्रतिकार गर्ने गरेका छन् । धेरै घटना बाहिर आउँदैनन्’ उनले भनिन् ।

अधिकारकर्मी डा.रेणु अधिकारी महिलालाई हेर्ने संकुचित दृष्टिकोण र चिन्तन नै परिवर्तनको बाधक भएको बताउँछिन् ।

‘बाहिर देखिने मात्रै महिला हिंसा होइन्, नदेखिने पनि धेरै हिंसा छन् । अहिले पनि महिलाले आफू पनि यो देशको नागरिक हो भन्ने वातावरण छैन । यसमा परिवर्तनको खाँचो छ’ उनले भनिन् । 

के हो महिला हिंसा ?

महिला भएकै कारण महिलामाथि हुने हिंसा नै महिला हिंसा हो । समाजमा महिलामाथि शारीरिक, मानसिक र संवेगात्मक रुपमा क्षति पुर्‍याउने कुनै पनि कार्य हिंसा हो ।
सन् १९९४ मा संयुक्त राष्ट्रसंघले महिलामाथि हुने हिंसाका बारेमा परिभाषित गर्दै महिलालाई लैंगिक, शारीरिक र मनोवैज्ञानिक रुपमा गरिने शोषण नै महिला हिंसा हो भनेको छ ।

संविधानमा के छ ?

नेपालको संविधानको धारा ३८ को उपधारा ३ मा महिला विरुद्व धार्मिक, सामाजिक, सांस्कृतिक परम्परा, प्रचलन वा अन्य कुनै आधारमा शारीरिक, मानसिक, यौनजन्य, मनोवैज्ञानिक वा अन्य कुनै किसिमको हिंसाजन्य कार्य वा शोषण गरिने छैन । त्यस्तो कार्य कानून बमोजिम दण्डनीय हुनेछ र पीडितलाई कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुनेछ भनिएको छ ।

के छ कानुनी उपचार

अधिवक्ता विष्णु पोखरेलले कुनै पनि महिला हिंसामा परेमा घटनाको प्रकृति अनुसार सजाय हुने बताए । उनले महिलामाथि घरेलु हिंसा भएमा घरेलु हिंसा (कसुर र सजाय) ऐन, २०६६ को दफा १७ अनुसार ३ हजार रुपैँयादेखि २५ हजार रुपैँयासम्म जरिवानाको व्यवस्था रहेको बताए ।
ऐनमा ६ महिनासम्म कैद र दुवै सजाय हुन सक्ने समेत बताएको पोखरलले बताए । त्यस्तै पटक पिच्छे घरेलु हिंसा गरेमा दोव्वर सजाय हुने व्यवस्था छ । कुनै सावर्जक पद धारणा गरेको छ भने १० प्रतिशत वढि सजाय हुनेछ भनिएको छ । कुटपिट अन्र्तगत भने कुटपिट महल अनुसार कारबाही हुने व्यवस्था छ ।