१२ मंसिर,दाङ/ दाङको तुलसीपुर उपमहानगरपालिकाको वडा नम्बर ५ को घ लाइनमा बम बिस्फोट हुँदा एक जना म्यादी प्रहरी सहित ८ जना घाइते भएका छन् ।
मोटरसाइकलमा आएका नचिनेका व्यक्तिले फालेको ग्रिनेट बिस्फोट हुँदा एकजना म्यादी प्रहरी र तीनजना महिला सहित ८ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा म्यादी प्रहरी तुलसीपुर उप-महानगरपालिका १८ का विनोद चौधरी, सल्यान बागचौर नगरपालिका २ का देवाकुमारी विसी, सल्यान धोरचौर गाउँपालिकाका नरपति बुढाथोकी, दाङको बबई गाउँपालिकाका नेवबहादुर खत्री, दाङ शान्तिनगर २ का हिमलाल रामजाली, तुलसीपुर वडा नम्बर ७ की जेनी बिसी, तुलसीपुरकी सुनिता चौधरी र बिनोद चौधरी छन् ।
घाइते ४ जनालाई उपचारका लागि नेपालगंज लगिएको छ भने अरुको राप्ती अंचल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ । कांग्रेसको चुनावी सभा भन्दा ५ सय मिटर टाढा बम बिस्फोट भएको हो ।
घाइते मध्ये नाकमा चोट लागेका म्यादी प्रहरी चौधरी र ढाडमा चोट लागेको देबी डीसीको अवस्था गम्भीर छ । उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत् बाँकेको नेपालगञ्ज पठाइएको छ । अन्य घाइतेहरुको अञ्चल अस्पताल तुलसीपुरमै उपचार भैरहेको छ ।
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य बालकृष्ण खाँडलगायतका नेताहरु चुनावी सभामा पुग्दै गर्दा करिब २ सय मिटर टाढा बम बिष्फोट भएको थियो । प्रत्यक्षदर्शीका अनुसार एकजना अज्ञात व्यक्ति बम फ्यालेर गए लगत्तै विष्फोट भएको थियो ।
राजधानीमै आमसभा स्थल नजिकै बम विष्फोट
लगनखेलको बटुक भैरव मन्दिर र नमुना मछिन्द्र मावि नजिकै विष्फोट भएको छ । वाम गठबन्धनको आमसभामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहँदा आमसभा नजिकै विष्फोट भएको हो ।
विष्फोटबाट नमुना मच्छिन्द्र विद्यालयका झ्यालहरु फुटेका छन् । विष्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन् । घटनास्थलमा प्रहरी पुगिसकेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको महानगरिय प्रहरी वृत ललितपुरले जनाएको छ । घटनाकाे बारेमा प्रहरीले अनुसन्धान गरिरहेकाे छ । वाम गठबन्धनको अामसभास्थल नजिकै बम विष्फोट गराएर सर्वसाधरणलाई तर्साएर अामसभा बिथोल्न खोजेको हुन सक्ने प्रहरीले बताएको छ ।
उदयपुरमा बम विष्फोट
नेपाली कांग्रेसका प्रतिनिधीसभा सदस्य उमेदवार डा. नारायण खड्कालाई लक्षित गरि उदयपुरमा बम विष्फोट भएको छ । उदयपुर क्षेत्र नम्बर १ बाट प्रत्यक्ष तर्फका उमेदवार रहनुभएका खड्का चढेको गाडिलाई लक्षित गरि बावरि भन्ने स्थानमा माइन बम विष्फोट गराईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका –१० स्थित बेलदोभानमा भएको चुनावीसभालाई सम्बोधन गर्न जाने क्रममा खड्कामाथी अज्ञात समुहले बम विष्फोट गराएको प्रहरीले जानकारी दिएको छ । विष्फोटबाट कुनै मानविय क्षति भएको छैन् । घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
हाम्रो संरचना । १२ मंसिर २०७४, मंगलवार १९:४१