१४ मंसिर,दाङ/ दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले विस्फोटमा परी मृत्यु भएका म्यादी प्रहरी विनोद चौधरीका परिवारलाई रु २५ लाख राज्यले राहतस्वरुप उपलब्ध गराउने बताउनुभएको छ ।
तुलसीपुर उपमहनगरपालिका–१२ क्वाङ्गीस्थित चौधरीको निवासमा श्रद्धाञ्जलि दिन पुग्नुभएका प्रजिअ श्रेष्ठले त्यस्तो जानकारी दिनुभएको हो ।
त्यस्तै संघीय प्रहरी इकाइका कार्यालयका प्रमुख एसएसपी दिलीपबहादुर चौधरीले कर्तव्य पालनका सिलसिलामा मृत्युवरण गरेका विनोदलाई राज्यको नियमअनुसार पाउने सबै सुविधा प्रदान गर्न भूमिका खेल्ने बताउनुभयो ।
चौधरी परिवारलाई ५ नं प्रदेश प्रहरी प्रमुख अतिरिक्त महानिरीक्षक मधुप्रसाद पुडासैनीले किरिया खर्चका लागि व्यक्तिगतरुपमा प्रदान गरेको रु २५ हजार नगद र जिल्ला प्रहरी कार्यालय दाङको तर्फबाट एसपी दुर्गा सिंहले नगद रु २५ हजार गरी रु ५० हजार प्रदान गरिएको थियो ।
त्यसैगरी श्रद्धाञ्जलि दिन पुगेका तुलसीपुर उमपहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले उपमहानगरपालिकाको तर्फबाट किरिया खर्चबापत रु २५ हजार र चौधरीकी डेढ वर्षीया छोरी प्रमिसा चौधरीको कक्षा १२ सम्मको सम्पूर्ण पढाई खर्च व्यहोर्ने घोषणा गर्नुभयो ।
बम विष्फोटमा परी मृत्युवरण गरेका विनोद चौधरीको आज अन्त्यष्टि गरिएको छ । उनको बबई नदीमा अन्तिम दाहसंस्कार गरिएको हो । – रासस
हाम्रो संरचना । १४ मंसिर २०७४, बिहीबार १८:५०