१८ मंसिर, काठमाडौं/ काठमाडौंको चपली हाइटमा बम विस्फोट हुँदा कांग्रेस नेता तथा क्षेत्र नम्बर ४ का उम्मेदवार गगन थापा सहित १० जना घाइते भएका छन् ।
घाइतेहरुलाई महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको छ । घाइते मध्ये दुई जनाको अवस्था अत्यन्त गम्भीर, दुईजनाको गम्भिर र सातजनाको अवस्था सामान्य रहेको चिकित्सकले जनाएका छन् ।

चुनावी घरदैलाको क्रममा बुढानिलकण्ठ नगरपालिकाको नारायणस्थानस्थित चपली हाइटमा पुगेका बेला बम विस्फोट भएको हो । विस्फोटबाट नेता थापाको पिठ्युमा चोट लागेको छ ।
शिक्षण अस्पतालका आकस्मिक विभाग प्रमुख प्रा. डा. प्रतापनारायण प्रसादका अनुसार गगन थापालगायत अन्य १० जना घाइतेलाई इमर्जेन्सीमा भर्ना गरिएको छ । थापाको पिठ्युमा सामान्य चोट लागेको देखिएको छ । एक्सरे लगायतका थप परीक्षण भइरहेको छ ।
‘घाइते मध्ये चार जनालाई गम्भीर र छ जनालाई सामान्य चोट लागेको छ,’ डा. प्रसादले भने, ‘उहाँहरु सबैलाई ब्लाष्ट इञ्जुरी हो ।’
थापाका सहयोगी प्रताप पौडेलका अनुसार गम्भीर घाइतेहरुमा श्यामकृष्ण श्रेष्ठ, जयराज लामिछाने, राजकाजी श्रेष्ठ, रेणु भरुवाल रहेका छन् । यस्तै सामान्य घाइतेमा ध्रुव खड्का, पूर्णबहादुर श्रेष्ठ, सुमन खड्का, रविन्द्र कार्की, काशिलाला श्रेष्ठ, पर्शुराम थापा रहेका छन्।
प्रधानमन्त्री देउवा बसेको होटल नजिकै बम, सेनाले पार्यो निष्कृय
कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै फेला परेको प्रेसर कुकर बम सेनाको टोलीले निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका ५ तारानगरमा पुल नजिकै बम फेला परेको हो ।
घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । सो बमलाई तेघरी स्थित सेनाको टोलीले निष्कृय पारेको छ ।
विगत ३ दिनदेखि प्रधानमन्त्री शेरबहादुर देउवा धनगढीमा बसिरहेको र प्रधानमन्त्री देउवा दिनभरी चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिमका विभिन्न जिल्ला पुग्ने र बास बस्न धनगढी नै आउने गरेका छन् ।
शिक्षामन्त्री श्रेष्ठलाई लक्षित गरी स्याङ्जामा बम प्रहार
उप-प्रधान एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई लक्षित गरी बम प्रहार गरिएको छ । स्याङ्जाकोभीरकोट नगरपालिका–९ स्थित ढापुकमा चुनावीसभा सम्पन्न गरी फर्किने क्रममा आइतबार साँझ बम प्रहार गरिएको प्रहरीले जनाएको छ ।
अज्ञात समुहद्वारा मन्त्रीलाई तर्साउन पड्काइएको बस्तु के हो भन्नेबारे थप छानबिन भइरहेको प्रमुख जिल्ला अधिकारी महेश आचार्यले बताए ।
हाम्रो संरचना । १८ मंसिर २०७४, सोमबार १४:००