नेपालगञ्जमा सबै मत ५ दिनमा गणना सक्ने गरी तयारी

१९ मंसिर,नेपालगञ्ज /  मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले ५ दिनभित्र प्रत्यक्ष र समानुपातिकको मत गणना गरी सक्ने तयारी गरेको  जनाएको छ । 

बाँकेका मुख्य निर्वाचन अधिकृत बिष्णु सुवेदीले प्रत्यक्ष र समानुपातिकको मतगणना ५ दिनभित्र सक्ने गरी योजना बनाइएको जानकारी दिनुभयो ।

मुख्य निर्वाचन अधिकृत सुवेदीका अनुसार, जिल्लाका सबै मतदानस्थलमा कर्मचारी पुगेर व्यवस्थापनको काममा लागेका छन् । यसपटक मतपत्रमा उम्मेदवारको चुनाव चिन्ह कम भएका कारण गणनामा पनि सहज हुने अपेक्षा गरिएको छ ।

मतदान केन्द्रहरुमा मतदाता परिचयपत्र वितरणको कार्य भइरहेको मुख्य निर्वाचन अधिकृत सुवेदीले बताउनुभयो ।

कर्मचारी र सुरक्षाकर्मी सहितको टोली मतपत्र, मतपेटिका, मतदाता परिचयपत्र लगाएतका ६४ किसिमका चुनावी सामग्री सहित मतदान केन्द्रमा खटिएका छन् ।

२ लाख ७६ हजार ६ सय १८ मतदाता रहेको बाँकेमा १ सय ३६ मतदान केन्द्र र ३ सय २७ मतदान स्थल रहेका छन् ।

चुनाव सम्पन्न गराउनका लागि करिब २ हजार ६ सय १६ जना कर्मचारीसहित ठुलो संख्यामा सुरक्षाकर्मीलाई परिचालन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सकेसम्म मतदान सम्पन्न भएकै दिन मंसिर २१ गते राति नै प्रक्रिया पु-याएर मत गणनाको सुरुवात गर्ने तयारी गरेको छ ।

राति १०/११ बजेसम्म मतपेटिका गणना स्थलमा पुर्‍याउन सकेमा तत्कालै मतगणना सुरु गर्ने आयोगको तयारी रहेको छ ।

ढिलो गरी मतपेटिका मतगणनास्थलमा पुगेमा भने मंसिर २२ गते बिहान ८ बजेदेखि मतगणना कार्य सुरु गर्ने तयारी गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत सुवेदी नेतृत्वको टोलीले मंगलबार बाँकेका केही मतदानस्थलको स्थलगत निरीक्षण गरी मतदानका लागि भइरहेको प्रक्रियाको बारेमा जानकारी लिएका छन् ।