विस्फोटक पदार्थ र हतियार सहित माओवादी (विप्लव)का नेता तथा कार्यकर्ता पक्राउ

२१ मंसिर,काठमाडौं/  विस्फोटक पदार्थ, हातहतियार तथा विभिन्न दस्तावेज सहित नेकपा माओवादी (विप्लव) का ६ जना नेता तथा कार्यकर्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । 

प्रतिनिधिसभा तथा प्रदेससभा सदस्य निर्वाचन बिथोल्न काठमाडौं उपत्यकाको विभिन्न मतदान केन्द्र, महत्वपूर्ण स्थानहरु र उम्मेदवारलाई लक्षित गरी बम विस्फोटन गराउने योजना तथा कार्यमा संलग्न उनीहरुलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरुबाट पेस्तोल १ थान, सो को गोली ८ राउण्ड, विभिन्न विस्फोटक पदार्थ र उक्त पार्टीको विभिन्न दस्तावेज सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा काठमाडौं लाजिम्पाट बस्ने सर्लाहीको ईश्वरपुर–१२ बाँके लामी दमारका २४ वर्षीय रवि गोले, काठमाडौं बौद्ध टुसाल बस्ने सिन्धुलीको क्यानेश्वर–९ मोक्तनडाँडाका ३४ वर्षीय सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, ललितपुर बाडेगाउँ बस्ने मकवानपुरको हेटौंडा–१७ का ३० वर्षीय आरोह नेपाली भन्ने महेश नेपाली, काठमाडौं पुरानो बानेश्वर बस्ने काभ्रेको मादनकुँडारी गाउँपालिका–७ चौरीदेउरालीका ४८ वर्षीय बिगेश लामा, ललितपुर बाडेगाउँ बस्ने नुवाकोटको लिखु नगरपालिका थानापतीका ३२ वर्षीय राजिव तामाङ र ललितपुर बाडेगाउँ बस्ने दोलखाको तामाकोशी गाउँपालिका–५ का ३० वर्षीय रोशन बिष्ट रहेका छन् ।

पक्राउ अभियुक्तहरुमध्ये काठमाडौं जिल्लाको डिसिएम, युवा दस्ता (राष्ट्रिय युवा जनस्वयमसेवक) जिल्ला संयोजक तथा काठमाडौं १ नम्बर कमाण्डको युवा दस्ता इन्चार्ज रवि हातहतियार तथा विस्फोटक पदार्थ संकलन, भण्डारण तथा विभिन्न स्थानहरुमा विस्फोटन गराउने तथा विस्फोटनको योजना बनाउने कार्यमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ ।

यसैगरी काठमाडौं जिल्लाको डिसिएम विचारमान हातहतियार तथा विस्फोटक पदार्थ संकलन भण्डारण तथा विभिन्न स्थानहरुमा विस्फोटन गराउने तथा विस्फोटनको योजना बनाउने कार्यमा संलग्न, ललितपुर जिल्लाको एसिएम तथा अखिल नेपाल जनसांस्कृतिक महासंघको कोषाध्यक्ष महेश विस्फोटन गराउने कार्यमा संलग्न, काठमाडौं जिल्लाको डिसिएम, न्याय विभाग प्रमुख बिगेश विस्फोटक पदार्थ भण्डार तथा निर्वाचन बिथोल्न युवा दस्ता परिचालन गर्ने र विस्फोटन गराउने कार्यमा संलग्न, नुवाकोट जिल्लाको डिसिएम राजिव विस्फोटक पदार्थ बनाउने प्रशिक्षण प्राप्त गरी उपत्यकामा विस्फोटन गराउने कार्यमा संलग्न र साधारण सदस्य रोशन विस्फोट गराउने कार्यमा संलग्न भएको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।