२८ मंसिर, नेपालगञ्ज / प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको मतगणना शुक्रबार सकिने भएको छ ।
निर्वाचन आयोगले समानुपातिकतर्फको गणना अन्तिम चरणमा पुगेको जानकारी दिँदै भोलिसम्म सबै स्थानको गणना पूरा हुने जनाएको छ ।
आयोगका प्रवक्ता नवराज ढकालले बिहीबार बिहान ७ बजेसम्म ७४ लाख मतगणना सकिएको र भोलि साँझसम्ममा सबै स्थानको गणना सकिने बताए ।
प्रवक्ता ढकालका अनुसार मतगणना द्रुत गतिमा भइरहेको छ,समानुपातिकतर्फको ७४ लाख मतगणना भइसकेको छ, बाँकी गणना भोलि साँझसम्ममा सकिन्छ’
एमालेकै अग्रता,
समानुपातिकमा एमालेको सुरुदेखिको अग्रता यथावत छ । निर्वाचन आयोगका अनुसार एमालेले बिहीबार बिहान ८ बजेसम्मको परिणाममा २५ लाख ९५ हजार ४ सय ९९ मत हासिल गरेको छ ।
कांग्रेस दोस्रो स्थानमा छ भने माओवादी केन्द्र तेस्रो स्थानमा छ । कांग्रेसले २५ लाख ८ हजार ७ सय ४८ मत बटुलेको छ भने माओवादी केन्द्र १० लाख २६ हजार ३ सय ७१ मतका साथ कांग्रेसलाई पछ्याइरहेको छ ।
संघीय समाजवादी फोरमले माओवादी पछिको धेरै मत पाएको छ भने राजपाको प्रतिस्पर्धा फोरमसँग भइरहेको छ । फोरम र राजपाको मत क्रमशः ३ लाख ४७ हजार ७ सय ५९ र २ लाख ९३ हजार १ सय २९ छ ।
राप्रपाको मत १ लाख ७४ हजार ६५२ छ । विवेकशील साझा पार्टीले राप्रपा प्रजातान्त्रिकलाई उछिनेको छ । विवेकशीलले १ लाख ७१ हजार ४५ मत पाएको छ । राप्रपा प्रजातान्त्रिकले ६३ हजार ५१७ मत पाएको छ ।
हाम्रो संरचना । २८ मंसिर २०७४, बिहीबार १०:४६