समानुपातीकको मत गणना अन्तीम चरणमा : प्रतिनिधि सभा र प्रदेश सभामा समानुपातिकतर्फ कुन पार्टीले कति सिट पाउने ?

१ पुस, नेपालगञ्ज/ प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिक तर्फको मतगणना  सकिएको छ । प्रतिनिधिसभामा समानुपातिकतर्फबाट सिट पाउन चाहिने कुल सदर मतको ३ प्रतिशत मत पाँचवटा दलले मात्र ल्याएका छन । 

प्रदेशसभामा पनि यीनैपाँचवटा दल हाबी भएका छन् । प्रदेशसभामा सिट कायम गर्न १ दशमलव ५ प्रतिशत मत ल्याउनुपर्ने व्यवस्था छ ।
अब प्रतिनिधिसभा र प्रदेशसभामा समानुपातिक तर्फबाट दलहरुले जित्ने सिटको हिसाब-किताव यस्तो छ :-

मंसिर १० र २१ गते भएको चुनावमा १ करोड ५ लाख भोट खसेको थियो । प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीले मात्र ३ प्रतिशत कटाएकाले प्रतिनिधिसभामा समानुपातिकबाट यीनै पाँचदलका मात्र सांसद हुनेछन् ।

प्रतिनिधिसभातर्फ प्रत्यक्ष ८० सिट जित्दै पहिलो दल बनेको एमाले समानुपातिकमा पनि पहिलो नै भएको छ । एमालेले खसेको कुल सदर मतको ३५ प्रतिशत मत ल्याएको छ ।

त्यस्तै प्रत्यक्षमा २३ सिट मात्र जितेर तेश्रो स्थानमा धकेलिएको कांग्रेस समानुपातिकतर्फ भने दोस्रो भएको छ । उसले ३४ प्रतिशत मत पाएको छ । समानुपातिक समेतको परिणामले कांग्रेस दोश्रो दल  भएको छ ।

त्यस्तै प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादीले केन्द्रले समानुपातिकमा १४ प्रतिशत मत ल्याएको छ । संघीय समाजवादी फोरम र राजपाले ५ प्रतिशत हाराहारीमा मत पाएका छन् ।

३ प्रतिशत मत नकटाएका विवेकशील साझा, राप्रपा, राप्रपा प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनमोर्चा लगायतका दलले समानुपातिकमा पाएको मतबाट एकजना पनि सांसद पठाउन पाउँदैनन् । यी दलले पाएको मतको हिसाब नहुने भएकाले ३ प्रतिशत मत कटाएका दलहरुले थप सिट पाउनेछन् ।

प्रतिनिधिसभामा १ सय १० समानुपातिक सांसदमध्ये एमालेले ४१, कांग्रेसले ४०, माओवादीले १७ तथा संघीय समाजवादी फोरम र राजपा नेपालले ६र६ सिट पाउनेछन् । प्रत्यक्षबाट थोरै मात्र महिला सांसदले जितेको संघीय संसदमा दलले पाएका यी सिटमा सबैजसो महिलालाई चयन गर्नुपर्ने अवस्था छ ।

प्रदेशसभा

प्रदेशसभामा समानुपातिकतर्फ सिट कायम गर्न कुल सदर मतको १ दशमलव ५ प्रतिशत मत कटाउनुपर्छ ।

प्रदेश नम्बर १

एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेश सभामा प्रत्यक्षबाट ५६ र बाँकी ३७ जना सांसद समानुपातिकबाट छानिदै छन् । दलहरुले प्राप्त गरेको मतअनुसार ३७ सिट मध्ये एक नम्बर प्रदेशमा एमालेले १५, कांग्रेसले १३ माओवादीले ६, संघीय समाजबादी फोरमले २ र राप्रपाले १ सिट पाउने भएका छन् ।

प्रदेश नम्बर २

प्रदेश नम्बर २ मा १ सय ७ सदस्यीय प्रदेशसभा बन्दैछ । जसमा प्रत्यक्षबाट ६४ र बाँकी ४३ प्रतिशत समानुपातिकबाट छानिदैछन् । समानुपातिकतर्फको ४३ सिटमा दुई नम्बर प्रदेशमा पहिलो दल कांग्रेस, दोस्रो राजपा र तेश्रो संघीय समाजवादी भएका छन् ।

यो प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै ११, राजपा र फोरमले ९–९ सिट पाउने छन् । अरु प्रदेशमा अघि देखिएको एमाले यो प्रदेशमा चौथो स्थानमा खुम्चिएको छ । उसले ८ र माओवादीले ५ जना सांसद पाउनेछन् । यस्तै नेपाल संघीय समाजवादी पार्टीले पनि प्रदेश नम्बर २ मा एक सिट पाउनेछ ।

प्रदेश नम्बर ३

प्रदेश नम्बर तीनमा एक सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ । जसमध्ये ६६ जना प्रत्यक्षबाट निर्वाचित भइसकेका छन् भने ४४ जना समानुपातिकबाट चुनिनेछन् । प्रत्यक्षतर्फ एक्लै झण्डै बहुमत ल्याएको एमाले यो प्रदेशसभामा समानुपातिकमा पनि सबैभन्दा धेरै सांसद पाउनेछ ।
यस्तै, वैकल्पिक राजनीतिक शक्तिका रुपमा आएको विवेकशिल साझा पार्टीले पनि यो प्रदेशमा सिट कायम गरेको छ । प्रदेश नम्बर ३ मा एमालेले १७, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ र राप्रपा र नेपाल मजदुर किसान पार्टीले १/१ सिट पाउने भएका छन् ।

प्रदेश नम्बर ४

प्रदेश नम्बर चारको समानुपातिकतर्फ पनि एमाले नै पहिलो दल बनेको छ । प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित यो प्रदेशमा ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ । चार नम्बर प्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १/१ सिट पाउने छन् ।

प्रदेश नम्बर ५

५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा बन्दैछ । जहाँ ५२ जना प्रत्यक्षबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट ३५ सांसद आउनेछन् । यो प्रदेशमा एमाले र कांग्रेसले झण्डै बराबर जस्तै मत पाएका छन् ।

त्यसकारण एमालेले १३, नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ६, संघीय समाजबादी फोरमले २ र राष्ट्रिय जनता पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाले १–१ जना सांसद पाउने भएका छन् ।

प्रदेश नम्बर ६

६ नम्बर प्रदेशमा सबैभन्दा सानो अर्थात ४० सदस्यीय प्रदेशसभा बन्नेछ । यो प्रदेशमा प्रत्यक्षबाट २४ सांसद चुनिइसकेकाले समानुपातिकबाट १६ जना सांसद चुनिनेछन् । यो प्रदेशमा पनि समानुपातिकतर्फ एमाले पहिलो र कांग्रेसले दोस्रो धेरै मत पाएका छन् ।

निर्वाचन आयोगको आँकडा अनुसार एमाले र कांग्रेसले समान ६–६ तथा माओवादीले ४ सिट पाउनेछन् । राप्रपा र नेमकिपाले ६ नम्बर प्रदेशमा १ दशमलव ५ प्रतिशत थ्रेसहोल्ड कटाएपनि सिट थोरै भएका कारण कुनै सिट पाउदैनन् ।

प्रदेश नम्बर ७

सात नम्बर प्रदेशमा समानुपातिकतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ । यो प्रदेशमा समानुपातिकबाट कांग्रेसले ८, एमालेले ७, माओवादीले ४ र राजपा र राप्रपाले एक एक सिट पाउनेछन् । प्रत्यक्षतर्फ ३२ समानुपातिकबाट २१ गरी सात नम्बर प्रदेशमा ५३ सदस्यीय प्रदेशसभा बन्नेछ ।
केन्द्रिय संसदमा जस्तै प्रदेशसभामा पनि महिलाको उपस्थिति ३३ प्रतिशत अनिवार्य गरिएको छ । प्रदेशसभामा पनि प्रत्यक्षतर्फ महिला कम मात्र चुनिएकाले समानुपातिकबाट धेरै महिलाको नाम सांसदका रुपमा जाने निश्चित छ ।