वीरगञ्ज स्थित सुपर ग्यास उद्योग र शसस्त्रको मुख्यालय हलचौकमा भीषण आगलागी, हलचौक आगलागी शंकास्पद !

५ पुस, वीरगञ्ज/  पर्साको वीरगञ्ज महानगरपालिका–२२ सुखसैना स्थित पटेल नगरमा रहेको सुपर ग्यास उद्योगमा बिहान सवा ६ बजेतिर भीषण आगलागी भएको छ ।  आगलागीमा परी कम्तीमा २ जनाको मृत्यु भएको र  २ जना घाइते छन् । उद्योगभित्र कति मानिस थिए भन्ने  खुल्न सकेकाे छैन । 

आगो नियन्त्रणका लागि गएको वीरगञ्ज महानगरपालिकाको एउटा दमकल समेत जलेको छ ।

उद्योगभित्र रहेका अमिका प्रसाद पटेल र वारुण यन्त्रका कर्मचारी भाेजपुरका सन्दिप नेपाल घाइते भएका छन् ।

स्थानीय बासिन्दाको सहयोगमा दमकल र प्रहरीले आगो निभाउने प्रयास गरिरहेका छन् । आगो फैलिँदै गएकाले उद्योग आसापासआवत-जावत रोकेको प्रहरीले जनाएको छ ।

ग्यास सिलिण्डर पड्किरहेकाले अग्नी नियन्त्रणहरु समेत नजिक जान सकेका छैनन् । उनीहरू अागाे लागेकाे स्थानभन्दा २-३ सय मिटर परै छन् । ग्यास सिलिण्डर पड्किँदा २ वटा शव उछिट्टिएर बाहिर अाएकाे प्रत्यक्षदर्शीले बताएका छन् । घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरीको टोली पुगेकाे छ ।

पर्साका एसपी गणेश रेग्मीका अनुसार बुलेटबाट ग्यास लिक भएर आगलागी भएको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । आगलागी नियन्त्रण गर्नका लागि वीरगन्जमा रहेको भारतीय महावाणीज्य दूतावासको कार्यालयको समन्वयमा भारतको रक्सौलस्थित भारतीय आयल कर्पोरेसन (आइओसी)को डिपोबाट पेट्रोलियम पदार्थमा लागेको आगो निभाउने उपकरण तथा केमिकलहरु ल्याइँदै छ । यस्तै बाराको सिमरामा रहेको विमानस्थलबाट पनि वरुणयन्त्र मगाइएको छ ।

जनधनको क्षति हुन नदिनका लागि प्रहरीले माइकिङ गरेर वरिपरीको बस्तीलाई खाली गराइरहेको छ । प्रत्यक्षदर्शीहरुका अनुसार त्यहाँ नजिकै जान सक्ने अवस्था छैन र समय समयमा विष्फोट पनि भइरहेको छ ।

त्यहाँ परिचालित सुरक्षाकर्मीका अनुसार अागलागीको समयमा त्यहाँ कति जना कामदार र कर्मचारी थिए भन्ने यकिन भएको छैन ।  त्यहाँ राखिएकाे सिलिन्डर विष्फोट भइरहेकोले नजिक गएर उद्दार गर्न सकिने अवस्था पनि छैन।

शसस्त्रको मुख्यालय हलचौकमा भीषण आगलागी

त्यसैगरी सशस्त्र प्रहरीको हलचोकस्थित मुख्यालय भवनमा सोमबार राति करिब १ बजेतिर आगलागी भएको छ । कागजात,पुराना कम्प्युटर र लेखा शाखाका केही सामग्री रहेको कोठामा आगलागी शंकास्पद भन्दै प्रशासन विभागका एआईजी प्रेम शाहीको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरेको छ ।

लेखा शाखासँग सम्बन्धित कागजात नष्ट पार्ने उद्देश्यले नियोजित रूपमा आगलागी गराइएको कि भन्ने आशंकामा अनुसन्धान समिति गठन गरिएकोस्रतोतले बताएको छ ।
सशस्त्रका प्रवक्ता बाबुराम पाण्डेका अनुसार आगलागीबाट २० लाख रुपैयाँभन्दा बढीको क्षति पुगेको छ । आगलागीबाट टेबल, कुर्सी, फ्रिज, केही पुस्तक र कागजात जलेका छन् ।

प्रारम्भिक अध्ययनमा स्टोरभित्र रहेको फ्रिज खुला अवस्थामा रहेको र त्यसैबाट बिजुली सट भएर आगो लागेको आशंका गरिएको छ । लेखासम्बन्धी केही महत्त्वपूर्ण कागजात पनि जलेको आशंका सशस्त्रकै एक उच्च अधिकारीले गरे । आगलागीपछि मंगलबार नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको टोली घटनास्थल पुगेर मुचुल्का तयार पारेको थियो । टोलीले आगलागी भएको कोठाबाट बिजुलीको तार र पावर सकेट परीक्षणका लागि भन्दै ल्याएको छ ।