बांके र बर्दियाका जिल्ला प्रशासन कार्यालयलाई बाढी पीडितका हकमा के कस्ता काम भए ! उच्च अदालतको इजलासमा पेश गर्न आदेश

५ पुस नेपालगञ्ज / बाँके र बर्दियाका बाढी पीडितहरुको हकमा के कस्ता काम भए आफनो इजलास समक्ष पेश गर्न उच्च अदालत नेपालगञ्ज इजलासबाट बिपक्षीको नाममा आदेश जारी गरेको छ । 

नेपालगञ्ज स्थित उच्च अदालत तुल्सीपुरको नेपालगञ्ज इजलासले पुस ५ गते मंगलबार न्यायाधीश द्वय प्रेमराज कार्की र खुसीप्रसाद थारुको संयुक्त इजलासले बाँके बर्दियाका बाढी पीडित हकमा के कस्ता काम भए पेश गर्न आदेश दिएकोे हो ।

अधिवक्ता विश्वजीत तिवारी, इन्सेकका बाँके जिल्ला प्रतिनिधि विनोद पाण्डे, बर्दिया सूचना र मानव अधिकार अनुसन्धान केन्द्रका सोमबहादुर गुरूङले गत भदौ २० गते सरोकारवाला निकाय जिल्ला प्रशासन कार्यालय बाँके र बर्दिया एवम जिल्ला दैवी प्रकोप उद्धार समिति विरूद्ध अन्तरिम आदेश सहितको परमादेश जारी गराई पाउँ भन्दै रिट निवेदन दर्ता गराउनुभएको थियो ।

गत साउन महिनामा बाँके र बर्दिया जिल्लामा आएको बाढी, डुबान र सो बाट भएको ठूलो जनधनको क्षतिका साथै नागरिकलाई परेको असर, पीडितको उद्धार, स्वास्थ उपचार, राहत र पुनर्स्थापनाको विषय तथा दैवी प्रकोपबाट नागरिकको स्वास्थ्य र वातावरणसम्बन्धी अधिकारमा पर्न सक्ने असरको विषय सार्वजानिक हित र सरोकारको विषय भएकोले विपक्षीहरूका उपर परमादेशको आदेश लगायत उपयुक्त आदेश जारी गरिदिन रिट दायर गरिएको थियो ।