७ पुस,नेपालगञ्ज/ निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिक तर्फको २ सय २० सिट बाँडफाड गरेको छ । आयोगले शुक्रबार सार्वजनिक गरेको सिट बाँडफाडमा प्रदेशसभामा १३ दलले मात्र समानुपातिकको सिट पाएका छन् ।
- एमालेले – ७५ सिट
- नेपाली कांग्रेसले – ७२ सिट
- माओवादी केन्द्रले- ३५ सिट
- संघीय समाजवादी फोरमले- १३ सिट
- राजपाले – १२ सिट सिट
१ नम्बर प्रदेशमा ९३ सदस्यीय प्रदेशसभा बन्ने छ ।
एक नम्बर प्रदेशमा बन्ने ९३ सदस्यीय प्रदेशसभामा ३७ जना सांसद समानुपातिकबाट छानिएका छन् । निर्वाचन आयोगका अनुसार एक नम्बर प्रदेशमा एमालेले १५, कांग्रेसले १३ माओवादीले ५, संघीय समाजवादी फोरमले २ र राप्रपा र संघीय लोकतान्त्रिक मञ्चले १/१ सिट पाएका छन् । समानुपातिकतर्फको नतिजा सार्वजनीक भएसँगै एक नम्बरको प्रदेश सरकार बनाउन एमाले एक्लैको बहुमत पुग्ने भएको छ ।
२ नम्बर प्रदेशमा १ सय ७ सदस्यीय प्रदेशसभा बन्ने छ ।
जसमा प्रत्यक्षबाट ६४ र बाँकी ४३ जना समानुपातिकबाट छानिएका छन् । यो प्रदेशमा कांग्रेसले सबैभन्दा धेरै ११, राजपाले १०, फोरमले ९, एमालेले ७, माओवादीले ५ र नेपाल संघीय समाजवादी पार्टीले एक सिट पाएका छन् । २ नम्बर प्रदेशमा कुनै दलको बहुमत नआएकाले कुनै एउटा दलले मात्र सरकार बनाउन सक्नेछैनन् ।
३ नम्बर प्रदेशमा १ सय १० सदस्यीय प्रदेशसभा गठन हुनेछ ।
जसमध्ये ६६ जना प्रत्यक्षबाट र ४४ जना समानुपातिकबाट छानिएका छन् । समानुपातिकतर्फ ३ नम्बर प्रदेशमा एमालेले १६, कांग्रेसले १४, माओवादीले ८, विवेकशील साझा पार्टीले ३ र राप्रपा र नेपाल मजदुर किसान पार्टीले १/१ सिट पाएका छन् । ३ नम्बर प्रदेशमा एमालेको बहुमत भएकाले एमाले एक्लैले सरकार बनाउन सक्ने छ ।
४ नम्बर प्रदेशमा प्रत्यक्षबाट ३६ र समानुपातिकबाट २४ सहित ६० सदस्यीय प्रदेशसभा गठन हुँदैछ ।
निर्वाचन अयोगका अनुसार यो प्र्रदेशमा एमालेले १०, कांग्रेसले ९, माओवादीले ३ तथा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १–१ सिट पाएका छन् । चार नम्बर प्रदेशमा एमाले र माओवादीको गठबन्धनको सरकार बन्ने छ ।
५ नम्बर प्रदेशमा ८७ सदस्यीय प्रदेशसभा बन्दैछ ।
प्रदेश ५ मा ५२ जना सांसद प्रत्यक्षबाट निर्वाचित भएका छन् भने समानुपातिकबाट ३५ सांसद छानिदैछन् । यो प्रदेशमा एमालेले १३, नेपाली कांग्रेसले १२, माओवादी केन्द्रले ६, संघीय समाजवादी फोरमले २, राजपा र जनमोर्चाले १–१ जना सांसद पाएका छन् । ५ नम्बर प्रदेशमा पनि एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउन सक्ने छन् ।
६ नम्बर प्रदेशमा ४० सदस्यीय प्रदेशसभामध्ये प्रत्यक्षबाट २४ सांसद चुनिइसकेकाले समानुपातिकबाट १६ जना सांसद छानिदैछन् ।
आयोगका अनुसार ६ नम्बर प्रदेशमा एमालेले ६, कांग्रेसले ५ तथा माओवादीले ४ सिट र राप्रपाले एक सिट पाएका छन् । ६ नम्बर प्रदेशमा पनि एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउन सक्ने छ ।
७ नम्बर प्रदेशमा प्रत्यक्षतर्फ ३२ समानुपातिकबाट २१ गरी ५३ सदस्यीय प्रदेशसभा बन्दैछ ।
प्रदेश ७ मा समानुपातिकतर्फ एमाले र कांग्रेसले समान ८/८ सिट पाएका छन् । माओवादीले ४ र राजपाले एक सिट जितेका छन् । ७ नम्बर प्रदेशमा पनि एमाले र माओवादीको वाम गठबन्धनले सरकार बनाउन सक्ने छ । केन्द्रीय संसदमा जस्तै प्रदेशसभामा पनि महिलाको उपस्थिति ३३ प्रतिशत अनिवार्य गरिएको छ ।
प्रदेशसभामा पनि प्रत्यक्षतर्फ महिला कम मात्र चुनिएकाले समानुपातिकबाट धेरै महिलाको नाम सांसदका रुपमा जाने निश्चित छ । अब दलहरुले आफूले पाएको सिटमा बन्द सूचिमा रहेको क्रमसंख्या अनुसार समावेशी रुपमा सांसद बन्नेहरुको नाम पठाउनु पर्ने छ ।
हाम्रो संरचना । ८ पुष २०७४, शनिबार ०८:५९