होटलमा छापा, ६ महिला र ११ पुरुष पक्राउ

रञ्जन भण्डारी /१७ पुस,महोत्तरी

जिल्ला प्रहरी कार्यालय महोत्तरीले सदरमुकाम जलेश्वरस्थित एक होटेलमा मध्यरात छापा मारी संचालकसहित ६ जना महिला र ११ पुरुषलाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूको बयान लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

सदरमुकाम जलेश्वरस्थित होटल स्माइल एन्ड रेष्टुरेन्टमा गोप्य सुचनाको आधारमा प्रहरीले सोमबार राति साढे १० बजे छापा मारेको हो ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका निमित प्रमुख तथा प्रहरी नायव उपरिक्षक बालकृष्ण पोखरेलले होटेलमा आपत्तिजनक कार्य हुँदै गरेको गोप्य सुचनाको आधारमा रेड हानिएको र उनीहरूलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनले पक्राउ परेका अधिकांश पुरुष भारतीय नागरिक भएको बताए ।भारतीय नागरिकहरू नयाँ वर्ष मनाउन नेपाल भित्रिएको र तीमध्ये केही अनैतिक क्रियाकलापमा संलग्न भएको सूचना पाएपछि छापा हानिएको प्रहरीको भनाइ छ ।

छापा हान्न प्रहरी पुग्दा होटलको मुख्यगेट बन्द थियो । प्रहरीले खोल्न आग्रह गरे पनि लामो समयसम्म खोलिएको थिएन । प्रहरीले धेरैबेरको अथक प्रयासपछि गेट खोलेको थियो ।

होटलको कोठामा छापा मार्दा त्यहाँको अवस्था आपत्तिजनक पाइएपछि तत्काल समातेर आवश्यक जाचबुझ तथा अनुसन्धान थालिएको प्रहरीले जानकारी दिएको छ । नयापत्रिकामा समाचार छ ।