प्रहरी समाचार बुलेटिन : कैलाली,कपिलवस्तु र सर्लाहीमा दुर्घटनामा ३ जनाको मृत्यु

१८ पुस,नेपालगञ्ज/   

कैलाली :

लम्कीचुहा नगरपालिका–१ लम्की चोकमा ना.६ ख १०४४ नम्बरको बसले मंगलबार ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही नगरपालिका–१ भुरुवा बस्ने साईकलयात्री ५० वर्षीया मनसरा न्यौपानेको स्थानिय लालरत्न अस्पतालमा उपचार हुन नसकी नेपालगञ्ज रिफर गरेकोमा उपचारको क्रममा मृत्यु भएको छ । उक्त बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कपिलवस्तु :

महाराजगंज नगरपालिका–५ ईटरोल बस्ने दिपराज अहिरको छोरा १५ महिनाको नवराज अहिरको उनकै घर अगाडि बाटोमा खेलिरहेको अबस्थामा लु.३ त ६१२४ नम्बरको ट्याक्टरले किच्दा मंगलबार घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर दुर्घटनास्थलमै छोडेर फरार भएका चालकको खोजी कार्य भइरहेको छ ।

सर्लाही :

बाग्मती नगरपालिका–६ चाँदनीघाटमा ना.४ त ७८६८ नम्बरको ट्याक्टर मंगलबार दुर्घटना हुँदा चालक बरहथवा नगरपालिका–६ बस्ने २४ वर्षीय राजिनन्द महतको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टरमा सवार बाग्मती नगरपालिका–७ बस्ने २७ वर्षीय सुनिलकुमार साह घाइते भएकोले उपचारको लागि बीरगंजतर्फ लगिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

स्कुटर चोरी गर्ने पक्राउ

काठमाडौँ महानगरपालिका–२६ ज्याठा स्थित होटल ज्यूडिङ अगाडी पार्किङ गरी राखेको बा.९०प १५४० नम्बरको स्कुटर चोरी गर्दै गरेको अवस्थामा धादिङको गजुरी गाउँपालिका–८ घर भई काठमाडौँ सितापाईला रामकोट बस्ने २१ बर्षीय ज्ञानबहादुर तामाङलाई प्रहरीले गएराति पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

दक्षिण अफ्रिका पुर्‍याई मानव बेचबिखन गर्ने पक्राउ

 बिभिन्न प्रलोभनमा पारी दक्षिण अफ्रिकामा पुर्याई मानव बेचबिखन गर्ने मोरङको सुन्दरहरैंचा नगरपालिका–८ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका–१ बस्ने ३५ वर्षीय चित्रप्रसाद ढुङ्गेललाई प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजको टोलीले चन्द्रागिरीबाट शनिबार पक्राउ गरेको छ ।
ढुङ्गेलले दक्षिण अफ्रिकाको जोहान्सबर्गमा राम्रो रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारी बिभिन्न व्यक्तिहरुसँग प्रतिव्यक्ति ७ लाख रुपैयाँ वा सो भन्दा बढीका दरले रकम उठाई दक्षिण अफ्रिका पु¥याई पीडितहरुलाई बिना पारिश्रमिक काम लगाई मानसिक तथा शारीरिक यातना दिने जस्ता अभद्र ब्यवहार गरी अलपत्र पारेपछि पीडितहरु भागेर नेपाल आएको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको छ ।