भारततर्फ लैजान लागेका जुम्ला पातारासीका २० जना बाल-बालिकाहरु अभिभावकको जिम्मा लगाइयो

 

२७ पुस,जुम्ला/भारततिर लैजाँदैै गरेका जुम्ला पातारासी गाउँपालिकाका २० जना बालकलाई जुम्ला प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।

जुम्लाबाट नेपालगञ्जजतर्फ जाँदै गरेको ना.५ ख ४५२९ नम्बरको यात्रुवाहक बसमा ८ देखि १५ बर्ष उमेर समूहका २० जना बालकलाई भारततर्फ लैजान लागेको अवस्थामा राठी गाउँपालिका–३ छुमचौर बस्ने ३२ बर्षीय कर्म तामाङ र २९ बर्षीय छिरिङ तामाङलाई मंगलबार प्रहरीले पक्राउ गरेको थियो । 

प्रहरी चौकी कुडारी जुम्लाकोको प्रहरीले उक्त बसमा जाँच गर्ने क्रममा ती बालकहरुलाई भारततर्फ लैजान लागेको अवस्थामा फेला पारी  नियन्त्रणमा लिएर अभिभावकलाई जिम्मा लगाएको । यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

भारतमा लामा पढाउन स्थानीयकै समन्वयमा आफूहरुले पठाउन लागेको अभिभावकहरुले बताएका छन् । उद्धार गरिएका बालक पातारासी गाउँपालिका २ का रामचन्द्र कामीका बुवा सिंह कामीले छोरालाई राम्रो होला भनी पठाउन लागेको बताउनुभयो । 

गरिवीका कारण पढाउन नसकेकाले पढाइदिन्छौ भनेर लिन लागेको बताउनु भयो । यसैगरी त्यसै गाउँका ११ वर्षीय हरिराम विकका बुवा भिमबहादुर विकले पहिले पनि बालकहरु गइरहेको हुँदा राम्रै होला भनी पठाएको जानकारी दिनुभयो । यता बालकहरुलाई लिने पातारासीका दुई जनालाई अनुसन्धानका लागि मुद्धा चलाइने प्रहरी निरीक्षक चुडामणि पुनले जानकारी दिनुभयो ।

यता गाउँपालिकाले आफूलाई कुनै थाहा नभएको बताएको छ । उप-प्रमुख पन्नकली महताराले गाउँपालिकालाई कुनै जानकारी नभएको बताउनुभयो ।

बालबालिकाको अवस्थाको बारेमा राष्ट्रिय मानव अधिकार आयोगले अवस्था अवलोकन गरेको छ । आयोगका मानव अधिकार अधिकृत धनराज शाही नेतृत्वको टोलीले बालबालिकाको अवस्था अवलोकन गरेको हो ।

बालबालिकाहरु यसरी गैर–कानूनी रुपमा अर्कै देश लैजान खोज्ने नियत मानव बेचबिखन हुन सक्ने टोलीले बताएको छ ।यता बालकहरुलाई बुधबार नै सम्झाइ बुझाइ अभिभावकको जिम्मा लगाइएको छ भने बालकहरु लिएर जाने कर्मा र छिरिङ नामका दुई जना विरुद्ध मुद्धा अगाडि बढाइने जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

नेपालका पडाडी तथा हिमाली जिल्लाका गरिब  परिवारका बच्चाहरु भारतको बिभिन्न ठाउंमा लगेर गुम्बाहरुमा लामा बनाउने प्रबृति  निकै पहिल्य देखी चल्दै आएको स्थानियहरुले बताएका पनि छन ।