कालिकोटमा पनि भाइरल महामारी : ५जनाको मृत्य,८१४ बिरामी, औषधि र स्वास्थ्यकर्मीको अभाव,केन्द्रबाट सहयोग गर्न आग्रह


७ माघ, कालीकोट /  बिगत दुई साता देखि कालीकोटको सदरमुकाम मान्मा-खाडाचक्रमा नै रहेको खाडाचक्र नगरपालिकाको वडा नम्बर २ र ४ वडाका बासिन्दामा भाइरल ज्वरोले महामारीको रूप लिएको छ ।

करीब ३ साता अघि जाजरकोट जुनिचांदे गाउंपालीकाका बिभिन्न् वडाका बासिन्दामा देखा परेको भाइरल महामारी मध्यपश्चिमको कै अर्को पहाडी जिल्ला कालीकोटको खाडाचक्र नगरपालिकाको वडा नम्बर २ र ४  वडामा मात्रै शनिबार सम्म ८ सय १४ बिरामी उपचारको सम्पर्कमा आएका छन ।

जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. कौशल अलीले कालिकोटको खाडाचक्र नगरपालीका वडा नम्बर वडा २ मा २ सय ७० र वडा ४ मा ५ सय ४४ भाइरल ज्वरोका बिरामी भेटिएको जानकारी दिनु भएको छ ।
अलीले दुवै वडामा भाइरलले महामारीको रूप लिइसकेको जनाउँदै बिरामी पर्नेमा अधिकांश बालबालिका रहेको जानकारी दिनु भएको छ ।
डा. कौशल अलीले गाउँमा ज्वरोले थलिएका महिला र बालबालिकाको अवस्था जटिल छ, ‘केन्द्रबाट ( काडमाण्डौं ) थप औषधि र स्वास्थ्यकर्मी माग गर्नुपर्ने स्थिति आएको छ ।’

भाइरलबाट ५ सय ११ बालबालिका र ६० वर्षभन्दा बढी उमेरका २३ जना बिरामी छन् ।  उपचार गर्दागर्दै दुई बालबालिकाको भाइरल बाट मृत्यु भइसकेको छ । बिरामीमा ज्वरो आउने, टाउको तथा मांसपेशी दुख्ने, खोकी लाग्ने लक्षण देखिएको छ ।

खाडाचक्र नगरपालिकाको वडा ४ का अध्यक्ष धनसिंह कामीले गाउँभरि सिकिस्त बिरामीहरू भएका छन । वडा अध्यक्ष कामीको घरमा मात्र ४ जना बिरामी छन् । ‘बच्चादेखि वृद्धसम्म सबै बिरामी छन । औषधिको कमीले सबैको उपचार हुन सकेको छैन ।’
खाडाचक्र नगरपालिकाका दुई वडामा ३ बालबालिका सहित ५ जनाको मृत्यु भएपछि स्वास्थ्यकर्मी खटाइएको जिल्ला प्रशासन कार्यालय कालीकोटले जनाएको छ ।
शनिबार वडा २ मेग्रमा डा. नहकुल शाहीको नेतृत्वमा ८ जना र वडानम्बर ४ को ताडी दलित टोलमा जिल्ला स्वास्थ्य प्रमुख डा. अलीको नेतृत्वमा ८ स्वास्थ्यकर्मीले बिरामी पहिचान गरेको निमित्त प्रमुख जिल्ला अधिकारी राजकुमार दुलालले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी का अनुसार भाइरलको महामारी भएकाले केन्द्रबाट थप स्वास्थ्यकर्मी र औषधि माग गर्ने निर्णय जिल्लामा भएको छ ।