प्रदेश सभाः कहिले बस्छ पहिलो बैठक, कसरी बन्छ सरकार ?

काठमाडौँः प्रदेश सभाका सांसदहरुले आइतवार आ–आफ्नो अस्थायी मुकामका प्रदेश प्रमुखबाट सपथ लिएका छन् । प्रदेश सभाका नवनिर्वाचित सांसदहरुले सरकारले हालै नियुक्त गरेका प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको सपथ लिएपछि देशको दोस्रो तहको सरकारले आकार लिन थालेको छ ।

प्रदेश सभाका सांसदहरु कोही हेलिकोप्टरबाट त कोही जहाज चढेर सपथ लिन सम्बन्धित मुकाम पुगेका हुन् । ६ नम्बर प्रदेशका सांसदहरु नेपाली सेनाको हेलिकोप्टर चढेर सपथ लिन सुर्खेत पुगे ।

प्रदेश नम्बर ४ मा २ जना सांसद सपथ कार्यक्रममा अनुपस्थित भए । तनहुँ १ (क) बाट निर्वाचित एमाले सांसद रामबहादुर गुरुङ र मनाङ २ बाट निर्वाचित स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) सपथमा अनुपस्थित भएका हुन् ।

कहिले बस्छ प्रदेश बैठक
प्रदेश सभाको पहिलो बैठक निर्वाचन परिणाम आएको २० दिनभित्र बोलाउनुपर्ने संवैधानिक प्रावधान छ । प्रदेश सभाको बैठक प्रदेश प्रमुखले डाक्नेछन् । नेपालको संविधानको धारा १८२ मा प्रदेश सभाको सभामुख र उपसभामुखसम्बन्धी व्यवस्था छ ।

प्रदेश सभाको सभामुख र उपसभामुख आइतवार सपथ लिएका सांसदबाटै निर्वाचित गरिन्छ । प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन भित्र प्रदेश सभाका सदस्यले आफू मध्येबाट प्रदेश सभामुख र उपसभामुखको निर्वाचन गर्ने संवैधानिक व्यवस्था छ ।

संविधानको धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्यमन्त्री नियुक्त गर्न सक्ने प्रावधान छ । प्रदेश सभामा कुनै दलको बहुमत नआए दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत ल्याउने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्नेछन् ।

प्रदेश १ मा एमालेको एकल बहुमत

चुनावी परिणाम अनुसार प्रदेश नम्बर १ र ३ मा एमालेको एकल बहुमत छ । प्रत्यक्षतर्फ प्रदेश १ मा एमालेले ३६ सिट पाएको थियो । उसले प्रदेशसभा समानुपातिकतर्फ १५ सिट पाएको छ । त्यस्तै प्रत्यक्षतर्फ ८ सिट पाएको कांग्रेसले समानुपातिकमा १३ सिट पाएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको माओवादी केन्द्रले ५ सिट पाएको छ ।

प्रदेश २ मा मधेसी दलको बहुमत

प्रदेश नम्बर २ मा संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालको पक्षमा सरकार बनाउने गरी बहुमत रहेको छ । प्रदेश २ मा प्रत्यक्षतर्फ १४ सिट जितेको एमालेले समानुपातिकतर्फ आधा अर्थात् ७ सिट ल्याएको छ। प्रत्यक्षतर्फ ८ सिट जितेको कांग्रेसले समानुपातिकमा ११ सिट पाएको छ । प्रत्यक्षतर्फ ६ सिट जितेको माओवादीले समानुपातिकमा ५ सिट पाएको छ ।

समानुपातिकतर्फ राजपाले १० र संघीय समाजवादी फोरमले ९ सिट पाएका छन् । उनीहरूले प्रत्यक्षतर्फ क्रमशः १५ र २० सिट जितेका थिए । यहाँ प्रदेश नम्बर २ मा मधेसवादी दलको बहुमत छ। यहाँ ५२ सिटले बहुमत हुन्छ । प्रदेश २ मा फोरम र राजपाको कुल सिट ५४ सिट छ । प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ सिट गरी कुल १०३ सिट रहेको प्रदेश २ मा फोरम र राजपाको सरकार बन्दैछ ।

प्रदेश ३ को अवस्था

प्रदेश नम्बर ३ मा प्रत्यक्षतर्फ ६६ र समानुपातिकतर्फ कुल ११० सिट छन् । जसमा एमालेले प्रत्यक्ष तर्फ ४२ सिट जितेको छ भने समानुपातिकमा १६ सिट ल्याएको छ । यो प्रदेशमा एमालेले ५८ सिट प्राप्त गरी एकल बहुमत ल्याएको छ ।

प्रदेश ३ मा प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसले समानुपातिकमा त्यसको दोब्बर १४ सिट जितेको छ । प्रत्यक्षमा १५ सिट जितेको माओवादी केन्द्रले समानुपातिकमा ८ सिट जितेको छ ।

यो प्रदेशमा समानुपातिकतर्फ विवेकशील साझा पार्टीले ३, राप्रपा (प्रजातान्त्रिक), नेपाल मजदुर किसान पार्टी, राप्रपाले १र १ सिट जितेका छन् । प्रदेश ३ मा प्रत्यक्षमा नयाँ शक्ति र नेमकिपाले १-१ सिट जितेको छ ।

प्रदेश ४ मा पनि वामको बहुमत

प्रत्यक्षतर्फ एमालेले १७ सिट जित्दा कांग्रेसले ७ सिट जितेको छ । यहाँको समानुपातिकतर्फ एमालेले १० सिट जितेको छ भने कांग्रेसले ९ सिट जितेको छ । प्रत्यक्षमा ३६ र समानुपातिकमा २४ गरी ६० सिट रहेको प्रदेश ४ मा एमालेको २७ सिट हुँदा कांग्रेसको १६ सिट छ । माओवादीले प्रत्यक्षमा ९ र समानुपातिकमा ३ सिट गरी १२ सिट जितेको छ । एमाले र माओवादी गरी प्रदेश ४ मा दुईतिहाइ हुन्छ । समानुपातिकमा प्रदेश ४ मा नयाँ शक्ति र राष्ट्रिय जनमोर्चाले १ र १ सिट प्राप्त गरेको छ । प्रत्यक्षमा जनमोर्चाले २, नयाँ शक्तिले १ र स्वतन्त्र १ सिट जितेको छ ।

प्रदेश ५ वामकै सरकार

प्रदेश ५ मा वाम गठबनन्धनकै सरकार बन्दैछ । प्रदेश ५ मा वाम गठबन्धनको स्पष्ट बहुमत छ । कुल ५२ सिट रहेको प्रत्यक्षतर्फ एमालेले २८, कांग्रेसले ७, माओवादीले १४, फोरमले ३ सिट जितेको छ । यो प्रदेशमा एमालेले कुल सिट ४१ जितेको छ, कांग्रेसले १९, माओवादीले २०, फोरमले ५, राजपा र जनमोर्चाको १ र १ सिट जितेका छन् । समानुपातिकतर्फ प्रदेशको कुल ३५ सिटमा एमालेले १३, कांग्रेसले १२ सिट जितेको छ । माओवादी केन्द्रले ६, फोरमले २, राजपा र जनमोर्चाले १ र १ सिट जितेको छ ।

प्रदेश ६ मा एमाले निर्णायक

प्रदेश ६ मा एमाले निर्णायक छ । जम्मा ४० सिट रहेको प्रदेश ६ मा एमाले एक्लैले २० सिट जितेको छ । एमालेको बहुमत नपुगे पनि ऊबिनाको सरकार बन्ने अवस्था प्रदेश ६ मा छैन । प्रत्यक्षको २४ सिटमा एमालेले १४, माओवादीले ८ र कांग्रेसले १ जितेका छन् ।

प्रत्यक्षमा ७ सिट जितेको कांग्रेसले समानुपातिकमा १२ सिट पाएको छ । प्रत्यक्षमा १४ सिट जितेको माओवादी केन्द्र समानुपातिकमा ६ सिटमा झरेको छ । प्रदेश ६ मा १४ सिट जितेको एमाले समानुपातिकतर्फ ६ सिटमा सीमित भएको छ । प्रत्यक्षमा १ सिट जितेको कांग्रेसले समानुपातिकतर्फ ५ सिट पाएको छ ।

प्रत्यक्षतर्फ ९ सिट पाएको माओवादी केन्द्र समानुपातिकतर्फ ४ सिटमा सीमित छ । प्रदेश ७ मा प्रत्यक्षतर्फ १७ सिट जितेको एमालेले समानुपातिकतर्फ ८ सिटमा चित्त बुझाउनुपरेको छ । प्रत्यक्षतर्फ ४ सिट जितेको कांग्रेसले समानुपातिकमा ८ सिट पाएको छ । प्रत्यक्षतर्फ १० सिट जितेको माओवादी समानुपातिकमा भने ४ सिटमा समेटिएको छ ।

सातमा पनि वामकै सरकार

प्रदेश नम्बर ७ मा पनि वाम गठबन्धनको बहुमत छ । यहाँ जम्मा ५३ सिट रहेको छ । प्रत्यक्षतर्फको ३२ सिटमा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिट जितेका छन् । प्रदेश ७ मा पनि वाम गठबन्धनकै सरकार बन्ने भएको छ ।

प्रदेश ७ मा समानुपातिकतर्फ कांग्रेसले सबैभन्दा धेरै मत ल्याएको छ तर उसले एमालेकै बराबरी सिट प्राप्त गरेको छ । समानुपातिकमा कांग्रेसले १२ र एमालेले १३ सिट जितेका छन् । माओवादीले ४ र राजपाले १ सिट जितेका छन् । यो पटक सातै प्रदेशमा कांग्रेस सत्ता बाहिर हुने भएको छ ।