सल्यानको भान्टा खोलामा यात्रु बाहक बस दुर्घटना, ३ जनाको मृत्यू ३८ जना घाइते

सल्यानको भान्टा खोलामा यात्रु बाहक बस दुर्घटना स्थल

८ माघ,नेपालगञ्ज/ रुकुमको सदरमुकाम खलंगााबाट दाङको घोराही तर्फ जाँदै गरेको ना ५ ख ५३१ नम्बरको यात्रु बाहक बस सोमबार दिउसो सल्यानको त्रिबेणी गाउँपालिकाको भान्टा खोलामा दुर्घटना हुँदा ३ यात्रुको मृत्यु भएको छ भने दुर्घटनामा ३८ घाइते छन् ।

मृत्यु हुनेमा बाग्चौर नगरपालिका १० पिपलनेटाकी ७० वर्षीया छन्तरी बिक, रुकुम मुसिकोट नगरपालिकाकी पुष्पा खडका र रुकुम पेउघाका १७ वर्षीय खिम बहादुर खडका छन । 

जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक भरत विकले घाइते यात्रुहरुको बयानका आधारमा बस तीब्र गतिमा कुदिरहेको अवस्थामा कमानी पट्टा भाँचिएर अनियन्त्रित भई बस दुर्घटनामा भएको बताउनु भएको छ । बस सडक बाट करीब १ सय ५० मिटर तल खसेको छ ।

उक्त दुर्घटनामा घाइते हुनेहरुमा रुकुम मुसिकोटका १८ वर्षीय विवेक हमाल, केदार केसी, ७ वर्षे अंकित केसी, बिमला रावत, रुकुम त्रिबेणीकी बिन्दु ओली, ६ वर्षका गौरव रावल, मदनकुमार ओली, आयुसी केसी, दाङ घोराहीकी धनसरा खडका, ढोडचौर गाउँपालिकाका डिल्लीराज लामीछाने, सीता कसेरा, उनकी छोरी अस्मिता, दार्मा गाउँपालिका १ का भद्रबहादुर केसी, त्रिबेणी गाउँपालिका ७ की दिपशिखा ओली गरी १४ जनालाई उपचारका लागि कोहलपुर मेडिकल कलेजमा रिफर गरिएको प्रहरीले बताएको छ ।
सामान्य घाइतेको सल्यानकै श्रीनगर स्थित कान्तिपुर सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।