नेपाली सेनाको हेलिकप्टर डोटीको मुडभाराको आकस्मिक अवतरण

Nepal Army helicopter..

९ माघ,डोटी/ नेपाली सेनाको हेलिकोप्टरमा सोमबार डोटीको शिखर नगरपालिका–४ मुडभाराको आकासमा उडान भइरहेकै अवस्थामा प्राबिधिक समस्या देखिएपछि पाइलटले आकस्मिक अवतरण गराएर सम्भावित जोखिमबाट बचाएका छन् ।

घाइते प्रहरी जवान बोकेर डडेल्धुराबाट नेपालगञ्जका लागि उडेको ०४५ इक्विरेल हेलिकप्टर डोटीको शिखर नगरपालिका–४ मुडभाराको मरकट्टे स्थित गहुँखेतमा अवतरण गराइएको हो ।

उड्ना साथ हेलिकप्टरमा समस्या देखिएपछि चालक प्रमुख सेनानी कुशलकुमार गुरुङ र कोपाइलट क्याप्टेन राकेश खड्काले आकस्मिक र अवतरण गराएका हुन् ।

आइतबार साँझ दार्चुलामा भीरबाट लडेर घाइते भएका प्रहरी जवान शेरबहादुर महतारालाई उपक्षेत्रीय अस्पताल डडेल्धुराले थप उपचारका लागि काठमाडौँ सिफारिश गरेको थियो । त्यसपछि प्रहरीले सेनासँग समन्वय गरेर नेपालगञ्ज सम्मका लागि सो हेलिकोप्टरको व्यवस्था मिलाएको थियो ।

समस्या समाधानका लागि इन्जिनीयरबाट जाँचबुझ भई आवश्यक मर्मत गरेर मात्रै उडान भर्ने जनाइएको छ । उता घाइते प्रहरी जवान महताराको अवस्था भने गम्भीर छ । उनलाई मुडभाराबाट तत्कालै सडक मार्गबाट काठमाडौँ लैजाने प्रयास भइरहेको प्रहरीले जनाएको छ । रासस