२१ माघ ,नेपालगञ्ज/ नेपालको नयां संरचना अनुसार बनाइएका ७ वटा प्रदेश मध्य ४ वटा प्रदेशको आज आइतबार एतिहासिक रुपमा प्रदेशसभाको पहिलो बैठक बस्दै छ ।
प्रदेश नम्बर २ को जनकपुर, प्रदेश नम्बर ५ को बुटवल, प्रदेश नम्बर ६ को बीरेन्द्रनगर,सुर्खेत र प्रदेश नम्बर ७ को कैलालीको धनगढीमा बैठक बस्ने गरि तयारी पूरा भएको छ । अन्य प्रदेश नम्बर ३ को पहिलो बैठक माघ १८ गते देखी सुरु भइसकेको छ भने प्रदेश नम्बर १ को भोली माघ २२ सोमबार आब्हान गरिएको छ ।
प्रदेश नम्बर ५ को प्रदेश सभाको पहिलो बैठक
प्रदेश ५ को बैठक स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रदेश नम्बर ५ को पहिलो संसद् बैठक बुटवल उद्योग वाणिज्य संघको सुन्दरनगर स्थित सभाहलमा दिउँसो १ बजे पहिलो ऐतिहासिक बैठक बस्न लागेको छ।
बैठकको अध्यक्षता प्रदेश सभा ज्येष्ठ सदस्य बलराम शर्मा पौडेलले पहिलो गर्न’ह’ने छ । बैठकले मसख्य मन्त्री लगायत सभामुखको निर्वाचन, लगायत बैठक सञ्चालन कार्यबिधि विषय पारित गर्नेछ । ५ नम्बर प्रदेशमा मुख्यमन्त्रीका लागि एमाले नेता शंकर पोखरेललाई एमालेले प्रदेशको संसदीय दलको नेता चयन गरिसकेको छ । पोखरेललाई माओवादी सांसदको पनि समर्थन छ ।
प्रदेश ५ मा ८७ सांसदले प्रतिनिधित्व गर्छन् । जसमा ५२ प्रत्यक्ष र ३५ समानुपातिक प्रणालीबाट निर्वाचित छन् । एमालेका ४१, माओवादीका २०, कांग्रेसका १९, संघीय समाजवादी फोरमका ५ राष्ट्रिय जनमोर्चा र राष्ट्रिय जनता पार्टीका १र१ सांसद छन् ।
पहिलो बैठकमा पहिलो बैठकमा पाँचवटा कार्यसूची प्रस्तुत छन । ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट अधिवेशनआह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको शुभकामना मन्तव्य, ज्येष्ठ सदस्यले प्रदेशसभा अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची छ ।
प्रदेश ६ को प्रदेश सभाको पहिलो बैठक
प्रदेश ६ को प्रदेश सभाको पहिलो ज्येष्ठ सदस्य हिम बहादुर शाहीले बैठकको अध्यक्षता गर्नुहुनेछ । पहिलो बैठकमा ज्येष्ठ सदस्यले प्रदेश प्रमुखबाट अधिवेशनआह्वान सम्बन्धी पत्र पढेर सुनाउने, सभामा प्रतिनिधित्व गर्ने सबै दलका प्रतिनिधिको शुभकामना मन्तव्य, ज्येष्ठ सदस्यले प्रदेशसभा अन्तरिम कार्यविधि २०७४ पारित गरियोस् भन्ने प्रस्ताव गर्ने र सभामुखको निर्वाचन मिति तोक्ने कार्यसूची छ । माघ २९ गतेका लागि सभामुख निर्वाचन तोक्ने पहिलो बैठकको कार्यसूची छ ।
प्रदेश ६ को प्रदेशसभामा ४० सांसद छन् । प्रदेशको ठूलो दल एमालेका २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६ र राप्रपाका १ सांसद छन् । यो प्रदेशमा मुख्यमन्त्री माओवादीबाट हुने गरि एमाले माओबादीले राजनितिक सहमती गरेको यस अघि नै सार्वजनिक भइसकेको छ ।
प्रदेश ७ को प्रदेश सभाको पहिलो बैठक
प्रदेश नम्बर ७ को पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य दिव्येश्वरी शाहले गर्दैछिन् ।बैठकले सभामुख, उपसभामुखको निर्वाचन मिति तोक्ने छ भने कार्यविधि पनि पारित गर्ने तय भएको छ । डोटी २ का माओवादी सांसद त्रिलोचन भट्ट मुख्यमन्त्री हुने सम्भावना छ । उनलाई एमालेले समर्थन गरेको छ ।
प्रदेश ७ मा ५३ सदस्यीय प्रदेशसभामा थोरैले एमाले बहुमत पाउनबाट वञ्चित भएको छ । उसले २५ सिट जितेको छ । माओवादीले १२, कांग्रेसले १४ र राजपाले २ सिट जितेका छन् ।
प्रदेश २ को प्रदेश सभाको पहिलो बैठक
प्रदेश २ को प्रदेश सभाको पहिलो बैठक आइतबार बिहान ११ बजे बस्दै छ । बैठकको सम्पूर्ण तयारी पूरा भएको प्रदेश सभा सचिवालयले जनाएको छ । शैक्षिक तालिम केन्द्रको सभाहलमा बस्ने छ । पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य लगनलाल चौधरीले गर्नेछन् ।
प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले बैठक आह्वान गरेको पत्र ज्येष्ठ सदस्य चौधरीले पढेर सुनाउने कार्यक्रम छ । त्यसपछि हरेक दललाई प्रदेश सभामा शुभकामना आदानप्रदानका लागि समय विभाजन गरिएको छ ।
१८ माघमा भएको सर्वदलीय बैठकमा प्रदेश सभाको पहिलो बैठकको कार्यसूचीमा नियमावली मस्यौदा समिति,प्रदेश सभा कार्यव्यवस्था परामर्श समिति गठन गर्ने सहमति भएको थियो ।
सभामुखको निर्वाचन २ फागुनमा र उपसभामुखको निर्वाचन ५ फागुनमा हुने भएको छ ।
ज्येष्ठ सदस्य चौधरीका अनुसार प्रदेश सभामा बोल्न सबैभन्दा ठूलो दल संघीय समाजवादी फोरमलाई १५ मिनेट, राजपालाई १२ मिनेट, एमालेलाई १० मिनेट, कांग्रेसलाई नौ मिनेट र माओवादी केन्द्रलाई ५ मिनेट समय विभाजन गरिएको छ ।
प्रदेश २ मा कुनै पनि दलको स्पष्ट बहुमत छैन । १०७ सदस्यीय प्रदेशसभामा सरकार बनाउन ५४ सिट आवश्यक पर्छ । फोरमको २९ र राजपाको २५ सिट, एमाले २१, कांग्रेसले १९, माओवादीले ११, नेपाल संघीय समाजवादी पार्टी र स्वतन्त्रले १र१ सिट जितेका छन् ।
हाम्रो संरचना । २१ माघ २०७४, आईतवार ०९:११