प्रदेश नम्बर १ र ४ को बैठक आज: पहिलो बैठकमा सबै प्रदेशले बैठक सञ्चालनका लागी सभामुखको निर्वाचन गर्ने मिति तोके

रमेश लम्साल/रासस
नेपालको संबिधानमा ब्यवस्था गरिए बमोजिम नेपालका ७ वटा प्रदेश मभ्य प्रदेश नम्बर १ पूर्वी नेपालको बिराटनगरमा र प्रदेश नम्बर ४ कास्कीको पोखरामा आज सोमबार देखी प्रदेश सभा आरम्भ हुने भएको छ ।

प्रदेश नम्बर ३ को बैठक यसअघि नै माघ १८ गते हेटौंडामा सुरु भइसकेको छ भने प्रदेश नम्बर २,५,६ र ७ को आईतबारबाट सुरु भएको छ ।संघीयता कार्यान्वयनको महत्वपूर्ण आधारका रुपमा रहेको प्रदेशसभाका सबै बैठकले पहिलो चरणमा सभामुख चयनलाई नै पहिलो कार्यसूची बनाएका छन् ।

प्रदेशसभाका बैठक व्यवस्थापिका–संसद्को बैठक झैँ संसदीय विधि र प्रक्रियाअनुसार नै चलाइएको छ । नेपालको केन्द्रीकृत शासन प्रणालीलाई विकेन्द्रित बनाउने र अधिकार सम्पन्न प्रदेशसभा गठन गर्ने लक्ष्यका साथ गत मंसिर १० र २१ गते सम्पन्न निर्वाचनले राजनीतिक दलका आकार र प्रकार समेत स्पष्ट पारिसकेको छ ।

नेपालको राजनीतिक इतिहासमा प्रदेश सभा सुरु भउकोको दिन महत्वपूर्ण रह्यो । बैठक सुरु भएका प्रदेशसभा सचिवालयका अनुसार प्रदेशसभाको पहिलो बैठकले सभामुख चयनको कार्यसूची तय गरेका छ ।

  • यही माघ १८ गतेको बैठकले प्रदेश ३ को सभामुख चयनका लागि माघ २७ गतेको मिति तय गरिएको छ ।
  • आइतवार बसेको प्रदेशसभाको बैठकले प्रदेश १ मा माघ २९ गते,
  • प्रदेश २ आगामी फागुन २,
  • प्रदेश ४ मा आगामी फागुन ३ दलिय सहमती,
  • प्रदेश ५ आगामी फागुन २ गते,
  • प्रदेश ६ मा माघ २९ र
  • प्रदेश ७ माघ २९ गते सभामुख चयन गर्ने कार्यसूची तय गरिएको छ ।

प्रदेशसभाका बैठकले सभामुखको चयनको मुख्य कार्यसूची तय गरेपछि प्रमुख राजनीतिक दलकाबीचमा समेत छलफल प्रारम्भ भएको छ । नेकपा ९एमाले० र नेकपा ९माओवादी केन्द्र०का बीचमा भएको सहमतिअनुसार प्रदेश नं १, ३, ६ र ७ को सभामुखमा एमालेले उम्मेदवारी दिनेछ भने प्रदेश नं ४ र ५ मा भने माओवादी केन्द्रले सभामुखमा उम्मेदवारी दिने सहमति भएको छ ।

प्रदेश नं १ को सभामुखमा एमाले र उपसभामुख माओवादी केन्द्रका तर्फबाट चयन हुने सहमति यसअघि नै भएको छ । एमाले सचिव भीम आचार्य मुख्यमन्त्रीको आकांक्षी छन् । सोही पार्टीका अर्का नेता शेरधन राईसमेत मुख्यमन्त्रीको आकांक्षी भएकाले सभामुखको उम्मेदवार टुंगो लागिसकेको छैन । दुई दलीय कार्यदलले सभामुख चयनमा यसअघि नै सहमति जुटाएको हो ।

प्रदेश नं २ मा भने राष्ट्रिय जनता पार्टीले सभामुखमा उम्मेदवारी दिने तयारी गरेको छ । सभामुख चयनका सम्बन्धमा छलफल जारी रहेको र केही दिनभित्रै उम्मेदवार चयन गरिने राजपाका महासचिव मनिष सुमनले जानकारी दिए । सुमन स्वयं पनि सभामुखको दाबेदार छन् । सो प्रदेशमा मुख्यमन्त्रीमा संघीय समाजवादी फोरम नेपालले दाबी गरेको छ ।

प्रदेश नं ३ को सभामुखमा हालका ज्येष्ठ सदस्य डोरमणि पौडेलको सम्भावना नै बढी रहेको एमाले नेताहरुको भनाइ छ । सबैभन्दा बढी प्रदेशसभा सदस्य रहेको सो प्रदेशमा यही माघ २७ गते सभामुख चयन गर्ने कार्यसूची रहेको छ ।

यस्तै प्रदेश नं ४ मा माओवादी केन्द्रका तर्फबाट पूर्वमहिला बालबालिका तथा समाज कल्याणमन्त्री आशा कोइराला मुख्य प्रतिस्पर्धी हुनुहुन्छ । यस्तै गोरखाबाट प्रदेशसभा सदस्यमा निर्वाचित लेखबहादुर थापाले पनि सभामुखका लागि आकांक्षा व्यक्त गरे ।

यस्तै प्रदेश नं ५ मा मुख्यमन्त्री एमालेले र प्रदेश सभामुख माओवादीले पाउने सहमति वाम गठबन्धनबीच भइसकेको सन्दर्भमा गुल्मीबाट निर्वाचित सुदर्शन बराल, पूर्व रुकुमबाट निर्वाचित पूर्ण घर्तीले इच्छा व्यक्त गर्नुभएको छ । त्यस्तै, रूपन्देहीका दधिराम न्यौपानेले पनि सभामुखका लागि इच्छा व्यक्त गरेको भएपनि पार्टीले गर्ने निर्णयलाई पूर्णरुपमा कार्यान्वयन गर्ने उनीहरुको भनाइ छ ।

प्रदेश नं ६ को मुख्य मन्त्री माओवादी केन्द्रले पाउने सहमति भएकाले सभामुखमा एमाले हालसम्म आधिकारिक उम्मेदवार टुंगो लगाएको छैन । सो प्रदेशमा मुख्यमन्त्रीका लागि माओवादी केन्द्रका तर्फबाट महेन्द्रबहादुर शाही र नरेश भण्डारी चर्चामा छन् । पार्टीले गर्ने निर्णयलाई स्वीकार गर्ने शाहीको भनाइ छ ।

यस्तै प्रदेश नं ७ मा पनि मुख्यमन्त्री माओवादी केन्द्रको भागमा परेकाले सभामुखमा एमालेको तर्फबाट नै उम्मेदवारी दिने तयारी छ । एमालेको तर्फबाट कञ्चनपुरबाट निर्वाचित तारालाल तामाङ, बझाङबाट निर्वाचित अर्जुन थापाको चर्चा रहेको छ । तर आधिकारिक निर्णय भने हुन बाँकी रहेको छ ।
मुख्यमन्त्रीमा भने माओवादी केन्द्रले डोटीबाट निर्वाचित त्रिलोचन भट्टलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।