कर्णालीको जुम्लामा ३ सय शय्याको शिक्षण अस्पताल: H.A. र नर्स पढाई जारी, MBBS  पढाईको सञ्चालन तयारी अन्तीम चरणमा

२४ माघ, जुम्ला/प्रदेश नम्बर ६ को जुम्लामा सुविधा सम्पन्न अस्पताल निर्माण सम्पन्न भएको छ । ७६ करोड रुपैयाँको लागतमा ३ सय शय्याको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको भवन निर्माण पूरा भएको प्रतिष्ठानले जनाएको छ ।

अस्पताल निर्माणले कर्णालीवासीमा खुसी ल्याएको र कर्णाली बासीका लागि ऐतिहासिक अस्पताल निर्माण भएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताउनु भएकको छ ।
‘अब कर्णालीका अस्पतालमा उपचारको अभाव हुंदैन र सुविधा सम्पन्न ठाउँका बिरामी समेत उपचार गर्न आउने थलोको रुपमा अस्पताल सुबिधा सम्पन्न हुने जानकारी दिनु भएको छ ।

निर्माण सम्पन्न् गरिएको अस्पताल निर्माण कम्निी बाट माघ महिनाभित्र अस्पताल हस्तान्तरण हुने र सेवा आरम्भ गर्ने प्रतिष्ठानले जनाएको छ ।
अत्याधुनिक सुविधासम्पन्न सेवा प्रवाहमा प्रतिष्ठान लागिपरेको शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा।पूजन रोकायाले बताउनु भयो । बिरामी भुइमा बस्नु पर्दैन र ‘उपचार अभावमा जिल्लाबाहिर जानुपर्ने अवस्था आउने छैन ।’

अस्पतालमा १७ जना विशेषज्ञ डाक्टरसहित १ सय ५० जना स्वास्थ्य कर्मीले सेवाप्रवाह गर्दै आएका छन् । अस्पतालको मेडिकल रेकर्ड अनुसार गत वर्ष २९ हजार ९ सय ३४ जना बिरामीले अस्पतालबाट सेवा लिएका छन् ।
त्यसमध्ये २ हजार ४ सय ९१ जनाको जटिल शल्यक्रिया भएको थियो । अस्पताल ६ नम्बर प्रदेशको स्वास्थ्य केन्द्र बन्नेमा कुनै शंका नभएको प्रतिष्ठानका अस्पतालका निर्देशक धर्मराज गोसाईले बताउनु भयो ।
‘यो शिक्षण अस्पताल प्रदेश नम्बर ६ कै आधुनिक, पहिलो र ठूलो अस्पताल भएको छ,’ उहांले भन्नु भयो‘हाल प्रतिष्ठानले सय शय्याको शिक्षण अस्पताल संचालन गरिरहेको छ ।’

कर्णालीवासीको औसत आयु ३६ वर्ष मात्रै छ । शिक्षण अस्पतालले विपन्न वर्ग र द्वन्द्वपीडित बिरामीहरूलाई निस्शुल्क उपचार सेवा दिइरहेको छ । यसअघि द्वन्द्वकालका घाइते र पीडितहरूले उपचार नपाउँदा निकै सास्ती बेहोरिरहेका थिए । प्रतिष्ठानले कर्णालीमा विशेषज्ञ सेवा विस्तार गरिरहेको छ ।

एमबीबीएस डाक्टरीको तयारी

३ सय शय्याको अस्पताल निर्माण सम्पन्न भएपछि प्रतिष्ठानले आफ्नो शैक्षिक कार्यक्रमलाई पनि अगाडि बढाएको प्रतिष्ठानका रजिस्ट्रार काफ्लेले बताउनु भयो । प्रतिष्ठान जुम्लाले एमबीबीएस पठन-पाठनको तयारी थालिरहेको छ ।
प्रतिष्ठानले नर्सिङ कलेज सञ्चालनमा ल्याएर स्टार्फ नर्सको पढाइ भैरहेको जनाएको छ भने हेल्थ असिस्टेन्टको तेस्रो ब्याजको पढाइ सञ्चालन गरिरहेको छ । स्नातक तहका कार्यक्रमहरू समेत सञ्चालनको अन्तिम तयारीमा रहेको प्रतिष्ठानका शिक्षाध्यक्ष डा.धर्मराज श्रेष्ठले बताउनु भयो । ३ सय शय्याको अस्पताल निर्माण सम्पन्न भएपछि मेडिकल कलेज र एलाइड कलेज सञ्चालनमा ल्याउने तयारी प्रतिष्ठानले गरिरहेको छ ।

शिक्षण अस्पतालका मेडिकल डाइरेक्टर डा.पूजन रोकायाले जुम्लाको मौसमका दृष्टिकोणले १२ महिना शल्यक्रिया गर्न उपयुक्त रहेको बताए । शल्यक्रिया गरेका घाउहरू चिसोमा चाँडै निको हुने भएकाले पनि भविष्यमा बिरामीहरू शल्यक्रिया गर्न जुम्ला आउने उनको भनाइ छ । अहिले जुम्लामा हड्डी सम्बन्धीका सबै जटिल शल्यक्रिया ल्याप्रोटोमी, पेट चिर्ने, एपेन्डिसाइटिस, सिजेरोयनमार्फत बच्चा निकाल्ने शल्यक्रियाको सुविधा छ । जुम्लामा बच्चा, सालनाल अड्किएर आमाको मृत्यु हुने समस्याको हल भएको छ ।

विद्युत् नहुँदा उपचारमा समस्या

२०६८ सालमा स्थापना भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आवश्यक उपकरण सञ्चालनका लागि पर्याप्त विद्युत् नहुँदा उपचारमा चुनौती छ । प्रतिष्ठानमा सीटीस्क्यान, आईसीयु, एमआरआई मेसिन लगायतका मेसिन भए पनि सञ्चालनका लागि विद्युत् छैन । जुम्लामा दैनिक १४ घण्टा विद्युत् लोडसेडिङ हुने गरेको छ ।

पछिल्लो समय बिरामीको चाप दिन प्रतिदिन बढ्दै गएको छ । उपकरण र विशेषज्ञ चिकित्सक हुँदाहुँदै पनि अस्पतालले उपचार सेवा दिन सकिरहेको छैन । नौमुले जलविद्युत् देपागाउँबाट ११ किलोवाटको विद्युत् प्रतिष्ठानमा ल्याउनका लाइन विस्तार भैरहेको थियो । तर चन्दननाथ २ खोलिकोटका स्थानीयको विरोधले विद्युत् लाइन विस्तार हुन सकेको छैन ।

खलंगामा चालु रहेको विद्युत् योजना जीर्ण छ । साना जलविद्युत् उपभोक्ता समितिले सञ्चालन गरेको विद्युत् दिनमा १२ घण्टा मात्रै सुचारु हुने गरेको छ । आईसीयुलगायतका सेवाहरू सञ्चालनका लागि २४ सै घण्टा विद्युत् आवश्यक पर्ने अस्पतालका प्रशासकीय अधिकृत द्वन्द्वबहादुर शाहीले बताए ।

‘अस्पतालको आग्रहमा गुठीचौर गाउँपालिकामा रहेको नौमुले जलविद्युत् उपभोक्ता समिति अस्पताललाई विद्युत् दिन सहमत भई लाइन विस्तारको काम अघि बढिरहेको थियो,’ उनले भने, ‘तर स्थानीय खोलिकोटवासीलेआफ्नो जग्गाको माथिबाट लाइन विस्तार गरिन लागेको भन्दै विरोध गरेपछि ७ महिनादेखि लाइन विस्तारको काम अलपत्र भयो ।’