२७ माघ,भक्तपुर/ आफूले चाहेको बेलामा शारीरिक सम्पर्क गर्न नमानेको भन्दै मरणासन्न हुने गरी श्रीमतीलाई कुटपिट गर्ने श्रीमान् पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
आफ्नी श्रीमती जयन्तीलाई गत पुस २६ गते आफ्नै घरमा स्टिलको पाइपले टाउकामा पटक पटक हानेर घाइते बनाउने सूर्यविनायक नगरपालिका–२ बालकोट बस्ने ३८ वर्षीय सुमन श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राखिएको भक्तपुर जिल्ला अदालतले जानकारी दिएको छ।
भक्तपुर जिल्ला अदालतका मुख्य न्यायाधीश भोजराज शर्माको एकल इजलासले मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को २ को व्यवस्थानुसार कानूनबमोजिम सिधा पाउने गरी अभियुक्तलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गरी अदालती व्यवस्था १२४ बमोजिम आदेश दिइएको अदालतका स्रेष्तेदार कृत बहादुर बोहराले जानकारी दिनुभएको छ।
आफूले श्रीमतीमाथि पर(पुरुषसँग लागेको शंका भई पटक पटक झगडा पर्दै आएको अभियुक्त सुमनले प्रहरी र अदालतमा दिइएको बयानमा उल्लेख गरेका छन्।
श्रीमती जयन्तीले भने विसं २०६२ मा विवाह भई एक छोरी र एक छोरा जन्म भइसकेपछि पनि श्रीमान्ले माइत जाँदा वा अरु कोहीसँग बोल्दा पनि शंका गर्ने र बेला बेलामा कुटपिट गर्ने गरेको बयानमा उल्लेख गरेकी छन्।
पुस २६ गते पनि आवेगमा आएर श्रीमानले स्टिलको पाइपले टाउकामा हानेर बेहोश र मरणासन्न अवस्थामा पुर्याई कोठामै छाडेर हिँडेपछि परिवारका अन्य सदस्यले जयन्तीलाई मध्यपुर अस्पताल पु(याएको प्रहरीको भनाइ छ । घाइते जयन्तीको चार ठाउँमा टाउको फुटेको र २० भन्दा टाँका लगाइएको छ।
बहिनीको अवस्था गम्भीर भएपछि जयन्तीका दाजु मनोज श्रेष्ठले ज्यान मार्ने उद्योगअन्तर्गत सुमन विरुद्ध जाहेरी दिनुभएको छ। दोषी ठहर भए सुमनलाई ५ देखि १० वर्षसम्म कारागार सजाय हुन सक्ने कानूनी व्यवस्था रहेको स्रेष्तेदार बोहराले जानकारी दिनुभएको छ । रासस
हाम्रो संरचना । २७ माघ २०७४, शनिबार ०८:५२